काठमाडौं । आज शुक्रवार नेपाली सिनेमाहलमा दुई बहुप्रतिक्षित भारतीय फिल्महरु प्रदर्शनमा आएका छन्। सन्नी देवल र अमिशा पटेल अभिनित फिल्म ‘गदर २’ र अक्षयकुमारको ‘ओ माई गड २’ रिलिज भएका हुन्।
अनिल शर्माको निर्देशन रहेको ‘गदर २’ सन् २००१ मा रिलिज भएको ‘गदर: एक प्रेम कथा’को सिक्वेल हो। १८ करोड भारतीय रुपैयाँमा निर्माण भएको गदरले त्यसबेला १३३ करोड भारतीय रुपैयाँ व्यापार गरेको थियो। सिक्वेलमा सन्नी र अमिशा पटेलसँगै नयाँ पुस्ताको प्रेम कथालाई समेटिएको छ।
त्यसैगरि, ‘ओएमजी २’ पनि सन् २०१२ मा रिलिज भएको ‘ओ माई गड’ को सिक्वेल हो। धर्ममा आधारित कमेडी जनरामा बनेको ‘ओ माई गड’ बक्सअफिसमा हिट भएको थियो।
सिक्वेल भने भारतमा यौन शिक्षाको पृष्ठभूमिमा आधारित हुने बताइएको छ। अमित राय निर्देशित यस फिल्ममा अक्षय कुमारका साथै पंकज त्रिपाठी र यामी गौतमको मुख्य भूमिका छ।
दुबै हिट फिल्मका सिक्वेल भएकाले बक्सअफिसमा कडा भिडन्त हुने देखिन्छ। नेपाली सिनेमाहलहरु पनि गदर २ र ओएमजी २ को लगभग बराबरी शो पाएका छन्।
त्यसैगरि, हिजोबाट दक्षिण भारतीय सुपर स्टार रजनीकान्तको फिल्म ‘जेलर’ पनि प्रदर्शनरत छ।