काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले तीन दलका शीर्ष नेता बसेर सुन प्रकरणबारे ‘बार्गेनिङ’ गरेको आरोप लगाएका छन्। संसद संचालन प्रक्रियामा असन्तुष्टी जनाउँदै उनले सदनमा आज विरोध जनाएका हुन्।
मंगलबार प्रतिनिधि सभा बैठकमा उनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेता मात्रै बसेर ‘बार्गेनिङ’ गरेको र संसद चल्न नचल्ने तय गरेको भन्दै आक्रोश व्यक्त गरे।
‘यो बार्गेनिङ सदन चल्ने बेलामा मात्रै किन गरिन्छ? केही नेता बसेर यो सदनलाई बन्धक बनाइनु हुदैँन। घण्टी बजाउनु अघि जे कुरा मिलाउने हो मिलाए हुन्छ,’ उनले भने।
प्रमुख प्रतिपक्षी दल एमालेले गरिरहेको संसद अवरोध गलत भएको लामिछानेको तर्क छ।
‘संसद चल्न समय भनेको अमुक दलका नेताका कुरा मिल्दा र नमिल्दा होइन। असन्तुष्टी र आफ्ना कुरा राख्ने ठाउँ यही हो,’ उनले भने।
पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेले अर्बको सुन प्रकरणबारे सरकारले जवाफ दिनुपर्नेसमेत बताए। गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएपछि सुन प्रकरणको छानबिनका लागि छानबिन समिति बनाउने नबनाउनेबारे विचार गर्नुपर्ने उनले बताए।
सुन प्रकरणबारे सरकारलाई आफ्नो पार्टीले हौसला दिइरहेको भए पनि शंका गर्नुपर्ने ठाउँ भएको लामिछानेको टिप्पणी थियो।