BIZMANDU
www.bizmandu.com

पहिरोका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध, यात्रु बीचबाटोमै अलपत्र

२०८० साउन २३

पहिरोका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध, यात्रु बीचबाटोमै अलपत्र
पहिरोका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध, यात्रु बीचबाटोमै अलपत्र

ढोरपाटन। अविरल वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध भएको छ।

Tata
GBIME
NLIC

अविरल वर्षाका कारण लोकमार्गको बागलुङ-बुर्तिबाङ सडकखण्डअन्तर्गत काठेखोला गाउँपालिका-६ इनारपानी र करिडोरको बागलुङ नगरपालिका-गलुवामा पहिरो झर्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए।

मध्यपहाडी लोकमार्गमा एकतर्फी सडक सञ्‍चालन गर्ने तयारी गरिएको उनको भनाइ छ। गलुवाको पहिरो हटाएर करिडोर सञ्‍चालन गर्न जेसीबी पठाए पनि त्यसले सडक खुलाउन नसकेको प्रहरी नायब उपरीक्षक केसीले बताए।

उक्त सडक खुलाउन ठूलो डोजर नै पठाउनुपर्ने भएकाले पालिकाले केही समय लाग्‍ने जानकारी दिएको उनको भनाइ छ।

‘वर्षा ठूलो भयो, राति पहिरो गएपछि दुईवटै सडक अवरुद्ध छन्, सडक खुलाउने प्रयास भएको छ, मध्यपहाडी लोकमार्ग केहीबेरमा सञ्‍चालनमा आउने देखिएको छ भने करिडोर खुलाउन केही समय लाग्छ, निकै ठूलो पहिरो गएको हुँदा पन्छाउन ठूलो मेसिन चाहिन्छ’, उनले भने, ‘अहिले वर्षा कम भएको छ, मेसिनले काम सुरु गर्‍यो भने करिडोर दिउँसोसम्म खुल्ला।’

करिडोर अवरुद्ध हुँदा जिल्ला सदरमुकामबाट दक्षिण बागलुङको जैमिनी, बलेवा, बरेङलगायतका क्षेत्रमा सीधा यातायात सञ्‍चालन हुनसकेको छैन भने लोकमार्ग अवरुद्ध हुँदा बुर्तिबाङ, गलकोटबाट काठमाडौं, पोखारा, चितवन, बागलुङलगायतका ठाउँमा जाने गाडी सडकमै रोकिएका छन्। बागलुङ बजारबाट पश्‍चिमतर्फ सञ्‍चालन हुने गाडी पनि सडकमै ठप्प भएका छन् भने यात्रु बीचबाटोमा अलपत्र परेका छन्।

यसैबीच, घोराही-लमही सडकखण्ड अवरुद्ध भएको छ। घोराही-लमही सडक खण्डअन्तर्गत लमही नगरपालिका-६ कुलमोहरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो।

वर्षात्का कारण गए राति खसेको पहिरोका कारण सडक अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिए।

उनका अनुसार सोमबार पहिरो खसेको ठाउँमा पुनः आज पनि पहिरो खस्दा सडक अवरुद्ध हुनपुगेको हो।

सडक सञ्‍चालनका लागि पहिरो हटाउने काम भइइरहेको छ। सडक अवरुद्ध हुँदा घोराही-लमही सडकखण्ड भएर चल्ने छोटो तथा लामो दूरीका सवारीसाधन चल्न सकेका छैनन्।