BIZMANDU
www.bizmandu.com

मछिन्द्र र पारोको खेल हेर्न दुईदेखि पाँच सयको टिकट, भुटानी च्याम्पियनविरुद्ध के छ रणनीति?

२०८० साउन २२

मछिन्द्र र पारोको खेल हेर्न दुईदेखि पाँच सयको टिकट, भुटानी च्याम्पियनविरुद्ध के छ रणनीति?
मछिन्द्र र पारोको खेल हेर्न दुईदेखि पाँच सयको टिकट, भुटानी च्याम्पियनविरुद्ध के छ रणनीति?


काठमाडौं। एएफसी कपको प्रारम्भिक छनोटमा मंगलबार नेपालको मछिन्द्र र भुटानको पारो एफसी भिड्दैछन्। भुटानको लिग च्याम्पियन पारो र सहिद स्मारक ‘ए’ डिभिजन लिग उपविजेता मछिन्द्र क्लब त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे आमने-सामने हुनेछन्।

Tata
GBIME
NLIC

पारो र मछिन्द्र दुवै तयार

भुटानी टोलीले नेपाली प्रतिस्पर्धी मछिन्द्रलाई कम आँकेको छैन। लिगको उपविजेता भए पनि उसले मछिन्द्रलाई बलियो प्रतिस्पर्धीका रुपमा लिएको छ। पारोका प्रशिक्षक पुष्पलाल शर्माले बलियो टोलीको चुनौती सामना गर्न आफूहरु तयार रहेको बताएका छन्।

यी दुई क्लबबीचको विजेताले अर्को चरणमा भारतीय क्लब मोहन बगानसँग प्रतिस्पर्धा गर्ने अवसर पाउनेछ।

‘लिग उपविजेता भए पनि मछिन्द्र बलियो टोली छ। हामी सकारात्मक नतिजाका लागि खेल्नेछौं’, उनले भने। पारोको टोलीमा यसअघि रंगशालामा भएको थ्री नेसन्स कप खेलेका राष्ट्रिय टोलीकै खेलाडी छन्। त्यसैले कप्तान किन्ले वाङचुक यहाँको माहोलबारे आफ्ना खेलाडी जानकार छन् भन्छन्। उनले हाललाई एएफसी कपको दोस्रो चरणबारे नसोचेको बताए। ‘हाम्रो ध्यान मछिन्द्रसँगको खेलमा छ’, उनले भने।

पारोसँग भिड्न मछिन्द्र पनि तयार छ। अघिल्लो पत्रकार सम्मेलनमा मछिन्द्रको नेतृत्वले मैदान अभावका कारण प्रशिक्षणमा कठिनाइ भएको बताएको थियो। ‘केही दिन पानीले डिस्टर्भ गर्‍यो। तर तयारी भइसक्यो हाम्रो’, मछिन्द्रका कप्तान विशाल श्रेष्ठले भने।

टिम राम्रोसँग सेटअप भएको गोलकिपर श्रेष्ठको भनाइ छ। मछिन्द्रमा राष्ट्रिय टोलीबाट खेलिरहेका खेलाडी छन्। तैपनि श्रेष्ठले भुटानी टोलीलाई कमजोर आँकेका छैनन्। उनले भने, ‘कुनै पनि टिम कमजोर हुँदैन। हाम्रा लागि पारो राम्रो अपोनेन्ट हो।’

मछिन्द्रको रणनीति

मछिन्द्र क्लबले एएफसी कपका लागि भनेर यो सिजन अन्य क्लबबाट खेलेका ८ खेलाडी अनुबन्ध गरेको छ। लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडका आशीष चौधरी र एरिक विष्टसहित अन्य क्लबबाट खेलेका आयुष घलान, लाकेन लिम्बु, सनीश श्रेष्ठ, रेजिन सुब्बा, रोहित सुब्बा र विदेशी खेलाडी मेसुके ओलोमोउलाई आबद्ध गरेको हो।

ए डिभिजन लिगमा राम्रो छाप छाडेका मेसुकेले भने खेल्ने नखेल्ने टुंगो लागेको छैन। ‘कागजी प्रकृया बाँकी रहेकाले मेसुकेले खेल्ने/नखेल्ने टुंगो लागेको छैन’, प्रशिक्षक किशोर कुमार केसीले भने, ‘भुटानको खेल हेरेर त्यही हिसाबको रणनीति बनाएका छौं।’

‘उनीहरु विदेशी खेलाडीमाथि धेरै निर्भर छन्,’ केसीले भने, ‘पारो भुटानको लिगमा उत्कृष्ट टोली भएकाले हामी उसलाई सम्मान गरेर खेल्छौं। उनीहरुको रणनीति हामीले बुझेका छौं।’

पारोका विदेशी खेलाडीलाई रोक्न सके जित सुनिश्चित हुनेमा केसी विश्वस्त छन्। ‘हामी ३-३-४ मा खेल्छौँ। उनीहरु डिफेन्डिङ खेल्दा १-४-१-४ मा हुन्छन्। हामी त्यसलाई ब्रेक गर्छौं,’ उनले भने।

केसीकै प्रशिक्षणमा नेपाली लिग खेलिसकेका फ्लोरेन्ट कोएरा हाल पारोमा छन्। ‘फ्लोरेन्ट राम्रो खेलाडी हो। हाम्रा स्ट्राइकले उसको डिफेन्स चिर्न सक्छन् भन्नेमा विश्वस्त छु’, केसीले भने।

यस्तो छ मछिन्द्रको टोली

एएफसी कप छनोट खेल्न मछिन्द्रले २३ सदस्यीय टोली घोषणा गरेको छ। जसमा अभिषेक गुरुङ, अफिज ओलावाले, आन्द्रेस नियाँ, आशीष चौधरी, आयुष घलान, विजय भुजेल, विमल घर्तीमगर, विशाल श्रेष्ठ, देवेन्द्र तामाङ, दिवाकर चौधरी, एरिक विष्ट, ओमोलाजा करिम, लाकेन लिम्बु, मेसुके ओलोमोउ, सनीश श्रेष्ठ, सौरभ लिम्बु, छिरिङ गुरुङ, उत्सव राई, रेजिन सुब्बा, प्रदीप भण्डारी, दिपेश घले, सुरज विके र रोहित सुब्बा छन्।

च्याम्पियनको लाइसेन्स नहुँदा पाएको अवसर

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा यो सिजनको च्याम्पियन हो, चर्च ब्वाइज युनाइटेड। मछिन्द्र उपविजेता हो। एएफसी कपमा खेल्नुपर्ने हो, लिग च्याम्पियनका नाताले चर्च ब्वाइज युनाइटेडले। तर भाग्यमानी बन्यो मछिन्द्र।

यसको कारण हो, चर्च ब्वाइजसँग एएफसी लाइसेन्स नहुनु। एएफसीको प्रतियोगिता खेल्न क्लबलाई एएफसी लाइसेन्स चाहिन्छ। दुई सिजनअघि मछिन्द्र च्याम्पियन बन्दा उसको साटो त्रिभुवन आर्मीले एएफसी कप खेलेको थियो। त्यतिखेर दोस्रो स्थानको आर्मीसँग लाइसेन्स थियो तर शीर्ष स्थानको मछिन्द्रसँग थिएन।

अहिले दोस्रो स्थानको मछिन्द्रसँग लाइसेन्स छ, शीर्ष स्थानको चर्च ब्वाइजसँग छैन। लाइसेन्स हुने क्लब मछिन्द्र र आर्मीका अलवा एपीएफ हो। तर लिगमा आर्मी र एपीएफ दुवै मछिन्द्रभन्दा पछि परेका थिए। एएफसीले लाइसेन्स भएका क्लबमध्ये शीर्ष टोलीलाई छनोट खेलमा भिड्ने मौका दिन्छ।

अघिल्लो सिजन लिग च्याम्पियन मछिन्द्रले श्रीलंकाको ब्लूस्टारसँग काठमाडौंमा खेलेको थियो। तर पहिलो खेलमै पराजित भएको थियो। त्यसअघिको सिजन घरेलु मैदानमा भएको खेलमा श्रीलंका पुलिसलाई हराएको त्रिभुवन आर्मी भारतमा बेङ्ग्लुरु एएफसीसँग पराजित भएको थियो।

टिकट २ सय र ५ सय

साँझ साढे ५ बजे सुरु हुने खेलका लागि प्रवेश शुल्क साधारणतर्फ २०० र भीआईपीतर्फ ५०० रुपैयाँ तोकिएको छ।प्रतियोगिताको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनले गर्ने छ। त्यस्तै टिकट बिक्रीको जिम्मा माउण्ट एभरेस्ट स्पोर्ट्स एण्ड इभेन्ट प्रालिलाई दिइएको छ। तर उसँग गरिएको सम्झौता रकम भने खुलाइएको छैन।

यसपाली ए डिभिजन लिग दर्शक नभएका कारण निकै खल्लो बन्न पुगेको थियो। मछिन्द्रका कप्तान श्रेष्ठले साँझको समयमा खेल हुने भएकाले दर्शकले साथ दिनेमा विश्वस्त छन्।