BIZMANDU
www.bizmandu.com

प्राइम बैंकमा एकपछि अर्को बदमासी, जोखिम भार राख्दैन, प्रोभिजनिङ पनि गर्दैन

२०८० साउन २२

प्राइम बैंकमा एकपछि अर्को बदमासी, जोखिम भार राख्दैन, प्रोभिजनिङ पनि गर्दैन
प्राइम बैंकमा एकपछि अर्को बदमासी, जोखिम भार राख्दैन, प्रोभिजनिङ पनि गर्दैन

काठमाडौं। प्राइम कमर्सियल बैंकमा नियामकीय प्रावधान अनुपालन नगरेर संस्थागत सुशासन कायम नगरेको पाइएको छ।

Tata
GBIME
Zonsen

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको सुपरिवेक्षकीय कारवाही विवरण सार्वजनिक गर्दै प्राइमले तीन वटा नियामकीय प्रावधान मिचेको जनाएको छ।

प्राइम बैंकले कर्जा नोक्सानी व्यवस्था कायम गरेको छैन। यसबाहेक जोखिम भारित सम्पत्ति गणनामा पनि गडबडी गरेको छ।

प्राइम बैंकले जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको राष्ट्र बैंकले जनाएको छ।

साथै प्राइम बैंकले नियमविपरीत प्रिमियम दर बढाएको पनि पाइएको छ। आधार दरमा प्रिमियम दर जोडेपछि ऋणको ब्याज कायम हुन्छ। आधार दर तल-माथि भए पनि प्रिमियम यथावत रहन्छ। तर प्राइम बैंकले प्रिमियम पनि बढाइदिएको छ।

गत वर्ष प्रिमियम बढाएका बैंकहरुलाई राष्ट्र बैंकले कारवाही गर्दै त्यो रकम फिर्ता गराएको थियो। प्राइमलाई भने तीन वटा नियम मिच्दा पनि राष्ट्र बैंकले प्रमुख कार्यकारीलाई सचेत गराउने मात्र निर्णय गरेको छ।

केही समयअघिसम्म प्राइम बैंकको प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धर थिए। अहिले उनी अवकाश भइसकेका छन्। अहिले कामु प्रमुख कार्यकारीमा सञ्जीव मानन्धर छन्।

कुमारी र हिमालयन बैंकले भने कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) कायम नगरेको पाइएको छ। मर्जरका बेला कायम नभएको सीडी रेसियोका कारण दुवै बैंकलाई आर्थिक जरिवाना गरिएको छ।

कुमारीले माघमा कायम नगर्दा ५९ लाख ६३ हजार तिराउने निर्णय भएको छ भने हिमालयनले कात्तिकमा कायम नगर्दा एक करोड ३९ लाख ४७ हजार तिराउने निर्णय गरिएको छ।