काठमाडौं। महाकाली सिंचाई आयोजना तेस्रो चरणमा निर्माण गरिने टनकपुर मुल नहर बनाउने कामको लागि २ अर्ब ११ करोडमा ठेक्का लागेको छ। महाकाली सिंचाई आयोजनाले सुचना जारी गर्दै ५ वटा खण्डमा सो नहर निर्माण विस्तारको ठेक्का लगाएको हो।
आयोजनाका इन्जिनियर उमेश गुप्ताका अनुसार राजेन्द्र निर्माण सेवाले पहिलो खण्डको लागि ४६ करोड १५ लाख ८३ हजारमा ठेक्का पाएको छ। यस्तै दोस्रो खण्डको लागि पनि सोही कम्पनीले ४० करोड ३५ लाख ५० हजारमा ठेक्का पाएको उनले बताए।
गुप्ताका अनुसार तेस्रो खण्डमा भने श्री गीता/साकुरा पावर जेभीले ४९ करोड ३९ लाख १७ हजारमा ठेक्का पाएको छ। चौथो खण्ड निर्माणको जिम्मा ३९ करोड २७ लाख ७३ हजारमा आरोग्या/ थेगिम/ सोसाइटी जेभीले पाएको आयोजनाले जनाएको छ।
यसैगरी अन्तिम खण्डको निर्माण गर्न ३६ करोड २२ लाख ३० हजारमा नेपाल आदर्श/ तेज जेभीले ठेक्का पाएको गुप्ताले बताए। यी सबै ५ वटा प्याकेजमा लगभग साढे ३ देखि ४ किलोमिटरसम्मका रहेका छन्। यसको लम्बाई लगभग १९ किलोमिटर रहेको गुप्ताले बताए।
यसको कुल लागत २ अर्ब ११ करोड ४० लाख रुपैयाँ रहेको छ। यस आयोजनामा ठेक्का पाउने निर्माण कम्पनीसँग एक महिनाको अवधिमा सम्झौता गरिने गुप्ता बताउँछन्।
२ वर्षभित्र नहर निर्माणको काम सम्पन्न गर्नुपर्ने
ठेक्का पाएका निर्माण कम्पनीले यसरी सम्झौता गरिएको मितिले २ वर्षभित्र नहर निर्माणको काम सम्पन्न गर्नुपर्ने गुप्ताले बताए।
अहिलेको ठेक्का २८ किलोमिटरदेखि ४८ किलोमिटरसम्मको दुरीमा रहेको छ। जुन खुलेली खोलादेखि अतारिया गोदावरी नदीसम्म पुग्छ। यसमा सबै मुल नहर निर्माणको काम गर्ने योजना छ। यसैको स्टक्चरहरु निर्माण हुनेछन्।
जसमा मुल नहरहरु निर्माण गर्दा साना खोलाहरु आउँदा त्यही खालको स्ट्रक्चरहरु बनाउनु पर्छ। यस्तै ड्रेनेज पास गराउन ड्रेन अन्डरपास गराउन पर्छ। साथै बाटो क्रसिङको लागि साना ओभरपासहरु पनि निर्माण गर्नु पर्छ।
गुप्ताका अनुसार यसको हेडवर्क्स भारतीय साइडमा भएकाले यसको काम गर्नु पर्दैन। यो आयोजना विस्तार हुने क्रम जारी छ। अन्य खण्डहरु अहिले ठेक्का लागेर विस्तार भइरहेका छन्।
अहिलेसम्म २३ किलोमिटर मुल नहरको काम सम्पन्न भइसकेको गुप्ताले बताए। यस्तै २३ कलोमिटरदेखि २८ किलोमिटरसम्मको ५ किलोमिटरको काम भने करिब ८० प्रतिशत सम्पन्न भएको गुप्ताले बताए। यसको काम ६ महिनासम्ममा सबै सकिने उनको भनाइ छ। पहिला विस्तार भइरहेको व्रह्मदेवदेखि खुलेलु खोलासम्म २८ किलोमिटरसम्म छ। अब हुने नयाँ विस्तार भने खुलेलु खोलादेखि गोदावरी खोलासम्म छ।
व्रह्मदेव क्षेत्रबाट १५२ किलोमिटर लामो मुलनहर, १७२ किलोमिटर लामो शाखा नहर र एक हजार २४ किलोमिटरको शाखा नहर बनाउनुपर्ने नहरहको अहिले विभिन्न चरणमा नहर निमार्णको कार्य भइरहेको उनले बताए।
अहिले विस्तार भइरहेको आयोजनाको कुल लम्बाई ४८.३ किलोमिटर रहेको छ।
ब्रह्मदेव क्षेत्रबाट सन् २००१ मा मूल नहर निर्माण गर्ने भनेर अनुसन्धान थालिएको नहरको आर्थिक वर्ष ०६३/०६४ देखि सिंचाइको मुख्य नहर निर्माण अगाडि बढाइएको थियो। यसको विस्तारको काम निरन्तर रुपमा भइरहेको छ।
आयोजनाका अनुसार ब्रह्मदेव क्षेत्रमा १२ वटा शाखा विस्तार गरिनेछन् भने मुसेपानी हात्तीथला क्षेत्रमा १० वटा नहरका शाखा विस्तार गरिनेछन्। मुल नहर निर्माणसँगै मुल नहरको शाखानहर निर्माण गर्ने कार्यलाई पनि अगाडि बढाइएको छ।
महाकाली सिंचाई तेस्रो चरण आयोजनाका अनुसार व्रह्मदेव क्षेत्रमा १२ वटा शाखा विस्तार गरिनेछन् भने मुसेपानी हात्तीथला क्षेत्रमा १० वटा नहरका शाखा बिस्तार गरिनेछन्।
सन्धिअनुसार दोधारा-चाँदनी क्षेत्रमा भारतले १० घनमिटर प्रतिसेकेण्ड (३५० क्यूसेक) पानी उपलब्ध गराउनेछ भनेर उल्लेख गरिएको छ। यस्तै, भारतले भने सन् १९२८ मा नै निर्माण गरेको शारदा ब्यारेजबाट निरन्तर भारतीय भूमिमा पानी आपूर्ति गराउने नहर करिव साढे ११ हजार क्युसेक क्षमताको छ।
सन् १९९६ मा नेपाल र भारतबीच भएको महाकाली एकीकृत सन्धिअनुसार मूल नहर निर्माण कार्य थालनी भएको थियो। नहर थालनी भएको २० वर्षभित्र निर्माण गरी सक्नुपर्ने भएपनि ढिलाइ भएका कारण गति लिन नसकेको नहर आयोजनालाई २६ वर्षपछि भारतले पानी दिएको हो।
सन्धिअनुसार मूल नहरबाट नेपालले गर्मीमा २८.३५ क्युमेक्स पानी पाउनेछ भने हिउँदको समयमा ८.५ क्युमेक्स पानी प्राप्त गर्नेछ।
अब भने आयोजनाले अन्य स्थानहरुको मुल नहर निर्माणको काम अगाडि बढाएको छ। अबको दुई वर्षभित्र आयोजनले यस टनकपुरको मुल नहर निर्माणको काम सम्पन्न गर्ने भएको हो।