काठमाडौं। वीर गणेशमानसिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिता भदौ तेस्रो साता आयोजना हुने भएको छ। गोदावरी नगरपालिकाको मुख्य प्रायोजन र ललितपुर जिल्ला खेलकुद विकास समिति र ललितपुर किक बक्सिङ संघको संयुक्त आयोजनमा प्रतियोगिता आयोजना हुन लागेको हो।
प्रतियोगिता गोदावरी-११ स्थित प्याङगाउँमा भदौको २१, २२ र २३ गते आयोजना हुनेछ। पाँचौं संस्करणको यो प्रतियोगिता नेपालकै ठूलो धनराशिको प्रतियोगिता भएको आयोजकले दाबी गरेका छन्। प्रतियोगितामा ३ सयभन्दा बढी खेलाडीको सहभागिता हुने आकलन रहेको समितिका अध्यक्ष विनोद महर्जनले बताए।
उनका अनुसार प्रतियोगिताका लागि ५२ लाख ८१ हजार बजेट खर्च हुने इस्टिमेट छ।
प्रतियोगितामा पुरुषतर्फ ५० केजी, ५५ केजी,६० केजी, ७० केजी, र खुला तौल समूहमा र महिलातर्फ ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी, ६५ केजी र खुला तौल समूहमा प्रतिस्पर्धा रहने आयोजकले जनाएको छ। टिममा च्याम्पियनले १ लाख, दोस्रोले ५० हजार र तेस्रोले २५ हजार प्राप्त गर्नेछन्।
त्यस्तै पुरुष र महिलातर्फ उत्कृष्ट हुने खेलाडीले समान २५ हजार प्राप्त गर्नेछन्। तौल समूहमा प्रथमले ३० हजार, दोस्रोले १५ हजार र तेस्रो र चौथोले समान ८ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ।