काठमाडौं। आगामी शुक्रवार सिनेमा हलमा दुई बलिउड फिल्महरु ‘ओ माई गड २’ र ‘गदर २’ प्रदर्शन सुरु हुँदैछन्। दुबै हिट फिल्मका सिक्वेल हुन्। पहिलो सिरिजले उल्लेख्य व्यापार गरेकाले दुवैका सिक्वेल बनाइएका हुन्।
पहिलो फिल्म हरेका दर्शकहरु यी दुई सिक्वेलको प्रतीक्षामा छन्। रिलिज मिति नजिकिएसँगै दुवै फिल्मको केही दिनअघि अग्रिम बुकिङ खुला गरिएको थियो। सन्नी देवलको ‘गदर २’ भन्दा अक्षयकुमारको ‘ओ माई गड २’ बुकिङमा पछाडि देखिएको छ।
रिलिजको पाँच दिन बाँकी हुँदा पनि ‘गदर २’ को ३ करोड ३० लाख भारतीय रुपैयाँ बराबरको अग्रिम टिकट बिक्री भइरहेको छ। पहिलो दिन गदरको सिक्वेलले १० करोडको व्यापार गर्ने अनुमान गरिएको छ।
ओएमजीले पनि अग्रिम बुकिङमा गति लिइरहेको देखिन्छ। यस फिल्मले पनि पहिलो दिनको अग्रिम बुकिङमार्फत लगभग ६५ लाख भारतीय रुपैयाँ बराबरको टिकट बिक्री भइसकेको कोइमोइमा उल्लेख छ।
एडल्ड सर्टिफिकेट पाएको ओएमजीले भारतका ठूला मल्टिप्लेक्स चेनहरू पीभीआर, आइनक्स र सिनेपोलिसमा बिहानसम्म करिब ७ हजार ७ सय टिकट बिक्री भइसकेको बलिउड हंगामाले जनाएको छ।
यो फिल्म सन् २०१२ मा रिलिज भएको ‘ओ माई गड’ को सिक्वेल हो। धर्ममा आधारित कमेडी जनरामा बनेको ‘ओ माई गड’ बक्सअफिसमा हिट भएको थियो। सिक्वेल भने भारतमा यौन शिक्षाको पृष्ठभूमिमा आधारित हुने बताइएको छ। अमित राय निर्देशित यस फिल्ममा अक्षय कुमारका साथै पंकज त्रिपाठी र यामी गौतमको मुख्य भूमिका छ।
अनिल शर्माको निर्देशन रहेको ‘गदर २’ पनि सन् २००१ मा रिलिज भएको गदरको सिक्वेल हो। सिक्वेलमा सन्नी र अमिशा पटेलसँगै नयाँ पुस्ताको प्रेम कथालाई समेटिएको छ।