BIZMANDU
www.bizmandu.com

जग्गा अतिक्रमण रोक्न खेतीमा लगानी गर्दै मनहरि, दुई बिघा १० कट्ठामा रोपियो नरिवल

२०८० साउन १९

जग्गा अतिक्रमण रोक्न खेतीमा लगानी गर्दै मनहरि, दुई बिघा १० कट्ठामा रोपियो नरिवल
जग्गा अतिक्रमण रोक्न खेतीमा लगानी गर्दै मनहरि, दुई बिघा १० कट्ठामा रोपियो नरिवल

काठमाडौं। मकवानपुरको मनहरि गाउँपालिकाले नदीउकास क्षेत्रको सार्वजनिक जग्गामा नरिवल खेती सुरु गरेको छ।

Tata
GBIME

प्रधानमन्त्री रोजगार कार्यक्रम तथा गाउँपालिकाको संयुक्त पहलमा मनहरि–४ वनकरिया खेलमैदाननजिकै नरिवलका १ हजार ३ सय ६० बिरुवा रोपिएको हो।

नदीउकास क्षेत्रको सार्वजनिक जग्गा संरक्षण गर्न, वातावरण हरियाली बनाउन तथा स्थानीयलाई आयआर्जनसँग जोड्न नरिवल खेती थालनी गरिएको गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले बताए।

‘नरिवल खेतीलाई निरन्तरता दिने गरी गाउँपालिकाको नीति तथा कार्यक्रममै समेटेर अगाडि बढेका छौं’, उनले भने।

गाउँपालिकाले आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रममा वन, वातावरण तथा विपद् व्यवस्थापन शीर्षकमा सामुदायिक वन तथा डिभिजन वनको सहयोगमा नदी उकासपर्ती जमिनमा आर्यआर्जन गर्ने गरी नरिवलको बिरुवा रोप्ने कार्यक्रम संचालन गर्ने उल्लेख छ।

गाउँपालिका अध्यक्ष कालाखेतीले नरिवल रोपेर नदीउकास जमिनको संरक्षण हुनुका साथै बस्ती जोगाउन र आयआर्जनमा जोड्न सहयोग पुग्ने विश्वास लिएको बताए। मनहरि-४ को तीन लाख रुपैयाँ बजेटमा करिब २ बिघा १० कट्ठा सार्वजनिक जग्गामा नरिवल खेती गरिएको हो।

प्रधानमन्त्री रोजगार कार्यक्रमको ६ लाख ५० हजारमा तारजाली, घेराबार र खेतीको संरक्षण गर्न दुई कर्मचारी नियुक्त गरेर संरक्षणको जिम्मा दिइएको छ। मनहरि–७ मा लिची र अम्बा तथा वडा नं ८ मा एभोकाडोको बिरुवा रोप्ने तयारी रहेको उनले जानकारी दिए ।

नदीउकास जग्गा अतिक्रमणमा पर्ने सम्भावना बढ्दै गएपछि संरक्षणसँगै वडा र गाउँपालिकाको आयआर्जनका लागि स्रोत बढाउने लक्ष्यसहित नरिवल खेती सुरु गरिएको वडा नं ४ का अध्यक्ष प्रकाश थापाले बताए।

‘अहिले परीक्षणका लागि लगाएका छौं। नरिवल खेतीको गोडमेल, संरक्षणलगायत काम वडा कार्यालयबाटै हुन्छ,’ उनले भने। रासस