BIZMANDU
www.bizmandu.com

महोत्तरीमा भन्सार छलेर ल्याइयो ७ करोड बढीको सामान, २२० वटा सवारीसाधन भन्सारमा बुझाइयो

२०८० साउन १९

महोत्तरीमा भन्सार छलेर ल्याइयो ७ करोड बढीको सामान, २२० वटा सवारीसाधन भन्सारमा बुझाइयो
महोत्तरीमा भन्सार छलेर ल्याइयो ७ करोड बढीको सामान, २२० वटा सवारीसाधन भन्सारमा बुझाइयो


काठमाडौं । सशस्त्र प्रहरीले महोत्तरीमा भारतीय बजारबाट भन्सार छलेर नेपाल ल्याइएको सात करोड ५७ हजार रुपैयाँ बराबरको सामान भन्सार कार्यालयलाई बुझाइएको छ।

Tata
GBIME
NLIC

गत आर्थिक वर्ष २०७९-८० मा जिल्लाका विभिन्न नाका हुँदै भन्सार छलेर ल्याइएका सामान बरामद गरी भन्सारलाई बुझाइएको हो।

भन्सार छलेर सामान ल्याउने व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय भिठ्ठामोरलाई बुझाइएको सशस्त्र प्रहरी बल ९ नं गण कार्यालयले जनाएको छ।

सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक लेखनाथ खनालका अनुसार गत आर्थिक वर्ष २०७९-८० मा भारतसँग सीमा जोडिएका जिल्लाको करिब ३९ किलोमिटर क्षेत्रमा विभिन्न नाकाबाट भन्सार छलेर ल्याउन लागिएको सामान नियन्त्रणमा लिई भन्सार कार्यालयलाई बुझाइएको हो।

भन्सार छलीका सामानमा सबैभन्दा बढी सवारीसाधन रहेका छन्। बरामद गरी भन्सारलाई बुझाइएका २२० सवारीसाधन तीन करोड ४३ लाख मूल्यबराबरका रहेका छन्। यसैगरी २३ लाख ८२ हजार रुपैयाँ बराबरको पशुचौपाया तथा तीन करोड २३ लाख मूल्यबराबरका अन्य सामान बरामद गरी भन्सार दाखिला गरिएको एसपी खनालले जानकारी दिए।

बरामद गरिएका अन्य सामानमा एक करोड ९ लाख मूल्यबराबरका किराना र कस्मेटिक सामग्री, ९१ लाख ६० हजार रुपैयाँका कपडा, २८ लाख ३० हजार रुपैयाँका चौँरी गाईका पुच्छर, २५ लाख ६३ हजार रुपैयाँ इलेक्ट्रोनिक्स सामानलगायत छन्। रासस