BIZMANDU
www.bizmandu.com

प्रधानन्यायाधीशमा वरिष्ठतम् न्यायाधीश श्रेष्ठ सिफारिस, संसदीय सुनुवाइपछि नियुक्ति

२०८० साउन १८

प्रधानन्यायाधीशमा वरिष्ठतम् न्यायाधीश श्रेष्ठ सिफारिस, संसदीय सुनुवाइपछि नियुक्ति
प्रधानन्यायाधीशमा वरिष्ठतम् न्यायाधीश श्रेष्ठ सिफारिस, संसदीय सुनुवाइपछि नियुक्ति

काठमाडौं। प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहीबार साँझ बसेको संवैधानिक परिषद्को बैठकले श्रेष्ठलाई नियुक्तिका लागि सिफारिस गरेको हो।

Tata
GBIME
NLIC

परिषद्का सदस्य गणेशप्रसाद तिमिल्सिनाले वरिष्ठताका आधारमा श्रेष्ठको नाम सिफारिस गरेको जानकारी दिए। संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि श्रेष्ठ प्रधानन्यायाधीश नियुक्त हुनेछन्। त्यसका लागि अझै केही समय लाग्नेछ। राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

संसदीय सुनुवाइबाट अनुमोदन भएमा श्रेष्ठको कार्यकाल २०८० असोज २० गतेसम्म हुने छ।

न्याय परिषदले पठाएको सूचीबाट वरिष्ठताका आधारमा श्रेष्ठको नाम सिफारिस भएको हो। परिषदले सर्वोच्चमा तीन वर्षभन्दा बढी काम गरिसकेका सबै न्यायाधीशको नाम संवैधानिक परिषदमा पठाएको थियो।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल साउन २० गते सकिँदै छ। कार्कीको कार्यकाल सकिनु २ दिनअघि मात्र नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस भएको हो। संविधानमा प्रधानन्यायाधीशको पद रिक्त हुनुभन्दा एक महिना अगावै नियुक्तिको सिफारिस गर्नुपर्ने व्यवस्था छ। कार्कीको कार्यकाल सकिएपछि नियुक्त नभएसम्म श्रेष्ठले कार्यवाहक प्रधानन्यायाधीशका रुपमा काम गर्नेछन्।

परिषदको बैठकले महालेखा परीक्षक, निर्वाचन आयोगका आयुक्त, प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य नियुक्तिको सूची बनाउने पनि निर्णय गरेको तिमिल्सिनाले बताए। सार्वजनिक रुपमा आह्वान गरेर प्राप्त नामावलीलाई सूचीमा सामेल गरिने छ। उक्त सूची तयार भएपछि परिषदले संवैधानिक निकायमा रिक्त पदाधिकारी नियुक्तिको प्रक्रिया अघि बढाउने छ।