काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अत्यधिक कर्जा विस्तार भए पनि आर्थिक वृद्धिदरमा सघाउ नपुग्नुमा सबै क्षेत्र दोषी रहेको बताएका छन्।
महासंघको नयाँ नेतृत्वको एक सय दिन पूरा भएको अवसरमा आयोजित कार्यक्रममा उनले सरकारको ध्यानाकर्षण गराउँदै मुलुकमा कर्जा विस्तार भइरहे पनि आर्थिक वृद्धि नहुनुमा अध्ययन हुन आवश्यक रहेको बताए।
‘ के ऋणी मात्र दोषी हुन्? केन्द्रीय बैंकले नसकेको हो र? यसको मार निजी क्षेत्रलाई मात्र पार्न मिल्छ?’ अध्यक्ष ढकालले भने,’सबै क्षेत्रबाट कमी कमजोरी भएको हो। सबै मिलेर समस्या सामाधान गर्न आवश्यक छ।’
हालको अवस्थामा समस्यामा रहेका व्यवसायीलाई सरकारले दोष लगाउन नमिल्ने उनको तर्क थियो। उनले निजी क्षेत्रलाई आफ्नो ऋण व्यवस्थापनका लागि समय दिन आवश्यक रहेको र निजी क्षेत्रलाई अगाडि बढाउन सरकार र नेपाल राष्ट्र बैंकले सहयोग गर्न आवश्यक रहेको पनि बताए।
उनले महासंघमा नयाँ कार्यकारिणी आएसंगै विधान संशोधन प्रकृयालाई अगाडि बढाइएको बताए।
‘महासंघमा परिषद,समिति र फोरम गठन भइसकेको छ,’ उनले भने,’यसले समिति र फोरमको महत्व बढ्ने छ। आवश्यक्ता परेमा परिवर्तन पनि गरिनेछ।’
महासंघले मासिक कार्य योजना अनुसार काम गर्दै जाने उनले जानकारी दिए। साथै, महासंघले पहिलो कार्यकारिणी समितिको पहिलो बैठकबाट वर्तमान आर्थिक संकटबाट बाहिर निस्कने, आन्तरिक र एफडिआइ ल्याउने वातावरण, राज्य र निजी क्षेत्रको साझेदार विकास, रोजगार सिर्जना गरेर वैदेशिक रोजगारमा जानेलाई तालिम दिने र व्यवसायीलाई हेर्ने मर्यादित दृष्टिकोण लगायत पाँचवटा कुरालाई प्राथमिकता साथ अगाडि बढाएको उनले बताए।