काठमाडौं। चलचित्र विकास बोर्डले केही दिनअघि गत आर्थिक वर्ष २०७९/८० को बक्सअफिस कलेक्सन सार्वजनिक गरेको थियो। वर्षकै हिट फिल्म ‘छक्कापञ्जा ४’ देखि फ्लप फिल्म ‘शिवानी’ को पनि टिकटसहित ग्रस व्यापार उल्लेख गरिएको थियो। यसरी टिकटसहित ग्रस कलेक्सन सार्वजनिक गरेपछि नेपाल चलचित्र संघले आपत्ति जनाएको छ।
चलचित्र संघका महासचिव नरेन्द्र महर्जनले बोर्डले सबै फिल्मको ग्रस सार्वजनिक गर्नु गलत रहेको बताए। वितरक र निर्माताबाट गुनासो आएपछि यस विषयमा असन्तुष्टि जनाउँदै बोर्डमा पत्र समेत पठाइसकेको उनले बताए।
‘हामीहरुले पारदर्शी रुपमा दैनिक टिकट र कलेक्सन आन्तरिक राजस्व विभागदेखि बोर्डलाई दिइरहेका छौं। अरु पनि व्यवसायहरु छन् उनीहरुको प्रत्येकको यति कमाइ भयो भनेर कहिले भनिदैँन। बोर्डले प्राइभेसीको पनि ख्याल गर्नुपर्छ,’ महर्जनले भने।
बोर्डले निर्मातालाई प्रोत्साहन गर्नुको साटो हतोत्साहित गरेको उनको आरोप छ। उनले भने, ‘बोर्डले त धेरै कमाउने फिल्मलाई प्रोत्साहनस्वरुप सम्मान पो गर्ने हो। व्यवसायमा नाफा/घाटा भइरहन्छ। तर, यसरी ५२० रुपैयाँ कमायो भन्दै प्रत्येक फिल्मको कलेक्सन सार्वजनिक गर्न जरुरी नै छैन। यसले उहाँहरुलाई मानसिक असर पार्छ, त्योबारे बोर्डले सोच्न जरुरी छ।’
चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारीले चलचित्र संघबाट केहीदिनअघि पत्र आएको पुष्टि गरे। आफूहरुले बक्सअफिसलाई पारदर्शिता बनाउन कलेक्सन सार्वजनिक गरेको उनको दाबी छ।
‘हामीले मन्त्रालयसँग समन्वय गरेर बक्सअफिस तथ्यांक सार्वजनिक गरेका हौं। चलचित्र संघको पत्रको बारेमा छलफलपछि जवाफ दिनेछौं,’ उनले भने।
बोर्डका अध्यक्षमा भुवन केसी आएपछि पहिलोपटक बक्सअफिस कलेक्सन सार्वजनिक गरिएको हो।