काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विद्यमान आर्थिक मन्दीको अवस्थाबाट अर्थतन्त्रको सुधारका लागि लगानी प्रवर्द्धनको कुरा उठाएका छन्।
अन्तराष्ट्रिय वित्त निगमका उपाध्यक्ष सुसन लनसँग भेट गर्दै उनले वित्तीय पहुँच वृद्धि, साना तथा मझौला उद्यमको बिकास, पर्यटन जलविद्युत लगायतका पुर्वाधार बिकास एवं लगानी प्रवद्र्धनका बारेमा कुरा उठाएका हुन्।
उनले आइएफसीसँग अर्थतन्त्र सुधारका लागि साथ र सहयोग पनि खोजेका छन्।
ढकालले कोभिडपछिको तिव्र विस्तारको व्यवस्थापन गर्न नसक्दा अर्थतन्त्रमा समस्या देखिएको उल्लेख गर्दै निजी क्षेत्र संकुचित हुँदा सरकार र सर्वसाधारण पनि मर्कामा परेको बताए।
निजी क्षेत्रले काम गर्न नपाउँदा राजस्व करिब १३ प्रतिशतले घटेको र चर्को मुल्यवृद्धिका कारण सर्वसाधारणको क्रयशक्ति पनि घट्दै गएको बताए।
नेपालको तीन दिने भ्रमणमा रहकी उपाध्यक्ष लनले निजी क्षेत्रको प्रवर्द्धनका लागि महासंघसँग सहकार्य गर्न आफू तयार रहेको बताइन्।
पछिल्लो समय निगमसँगको सहकार्यमा महासंघले अर्थतन्त्रमा निजी क्षेत्रको योगदान प्रतिवेदन र साना तथा मझौला उद्यमी सम्मेलन आयोजना गरेको थियो।
महासंघले साना उद्यमीका लागि शुरु गर्न लागेको बिकास केन्द्र र सिप बिकास महत्वपूर्ण रहेको उपाध्यक्ष लनको भनाइ थियो। लनले निगममा आर्थिक सुधार, निजी क्षेत्र र लगानी प्रवद्र्धन लगायतका बिषयको नेतृत्व गर्छिन्।
भेटमा महासंघका बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले अधिकांश उद्योग न्युन क्षमतामा संचालित रहेकाले बजार चालायमान बनाउन आवश्यक रहेको बताए।
महासंघका उपाध्यक्ष हेमराज ढकाल र ज्योत्सना श्रेष्ठले कर प्रणालीको सुधार र नेपालको तुलनात्मक लाभ भएका वस्तुको प्रवर्द्धन आवश्यक रहेको वताए।
महासंघ लगानी तथा अन्तराष्ट्रिय मामिला फोरमका सभापति मनोज पौडेलले लगानी विस्तारका बारेमा नीतिगत सुधार आवश्यक रहेको बताए।