BIZMANDU
www.bizmandu.com

बेलायतले ‘नर्थ सी’मा थप तेल र ग्यास उत्खनन गर्ने : सयौंलाई लाइसेन्स, हजारौंलाई रोजगारी

२०८० साउन १६

बेलायतले ‘नर्थ सी’मा थप तेल र ग्यास उत्खनन गर्ने : सयौंलाई लाइसेन्स, हजारौंलाई रोजगारी
Photo : Reuters

बेलायतले तेल र ग्यास खोज्न ‘नर्थ सी’मा थप उत्खन्न गर्ने भएको छ। बेलायतका प्रधानमन्त्री ऋषि सुनकले आफ्नै भूमिमा रहेको उर्जाको खपत गर्न यो निर्णय लिएको बताएका छन्।

Tata
GBIME
Zonsen

जलवायु अभियन्ताहरुले भने बेलायतको यो निर्णयको विरोध गरेका छन्। विपक्षी दलले पनि सुनकको घोषणाको आलोचना गरेका छन्। रसिया र युक्रेनबीचको युद्धका कारण विश्वभर इन्धनको मूल्य अस्थिर बन्दा बेलायतले थप तेल र ग्यास उत्खनन गर्ने निर्णय गरेको हो।

यद्यपि, सुनकले भने बेलायतका लागि यो कार्य आवश्यक रहेको भन्दै प्रष्टीकरण दिएका छन्। उनले बेलायतको अर्थतन्त्रलाई सन् २०५० सम्म ‘नेट जिरो’मा पुर्‍याउन पनि यो कदम आवश्यक रहेको बताएका छन्। ग्यास र तेल उत्खननका लागि डाउनिङ स्ट्रीटले सयौंलाई लाइसेन्स दिने तयारीसमेत गरेको छ। यसरी उत्खनन गर्नुपूर्व जलवायु अनुकूलता परीक्षणसमेत गरिनेछ। यतिको संख्यामा लाइसेन्स ‘नेट जिरो’ प्रतिबद्धता पूरा गर्न गरेको उनले बताएका छन्।

सुनकले ‘नर्थ सी’मा दुईवटा नयाँ कार्बन क्याप्चर र स्टोरेज साइट बनाउने घोषणासमेत गरेका छन्। यो कार्य सन् २०३० सम्म सकिनेछ। यससँगै ‘नर्थ सी’ मा बेलायतको यस्तो चारवटा संरचना बन्नेछ। सुनकले यो घोषणासँगै बेलायतमा हजारौं रोजगारी सिर्जना हुनेसमेत बताएका छन्।

‘सन् २०५० सम्म हामी नेट जिरोमा पुगे पनि हामी तेल र ग्यासको भरमा पर्नै पर्छ,’ सुनकले भनेका छन्। उनले उर्जा आयात गरिरहनु बेलायतको हितकर नहुनेसमेत बताएका छन्।