BIZMANDU
www.bizmandu.com

महिना दिन अगाडि बाँडफाँट सेयर अझै सूचीकृत भएन, १ लाखको लोभमा सर्वसाधारणको पुँजी बन्धक

२०८० साउन १५

महिना दिन अगाडि बाँडफाँट सेयर अझै सूचीकृत भएन, १ लाखको लोभमा सर्वसाधारणको पुँजी बन्धक
महिना दिन अगाडि बाँडफाँट सेयर अझै सूचीकृत भएन, १ लाखको लोभमा सर्वसाधारणको पुँजी बन्धक


काठमाडौं। कुनै पनि कम्पनीको आईपीओ जारी गरिसकेपछि त्यसको अभौतिकीकरण गर्न २ र सूचीकरण गर्न बढीमा ७ दिन लाग्छ। तर नेपाल रिपब्लिक मिडिया लगायत ४ कम्पनीको सेयर भने एक महिना हुन लाग्दा पनि सेयर सूचीकरण हुन सकेको छैन।

Tata
GBIME
NLIC

स्वचालित प्रणाली नहुँदा केही वर्षअघिसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर तथा ऋणपत्र सूचीकृत गर्न अढाइ महिनासम्म लाग्थ्यो। त्योबेला प्रणाली विकास नभइसकेकाले नियमित काम गर्दा पनि समय लाग्ने गरेको थियो।

अहिले प्रणालीमा कुनै समस्या छैन। नेप्सेले प्रक्रिया पुर्‍याएर धितोपत्र अधिकतम ७ दिनभित्रै सूचीकरण गर्ने व्यवस्था छ। ‘हामीले कतिपय सूचीकरण तीन दिनभित्र पनि गरिरहेका छौँ। हामी ढिला नगरी प्रकृया पुर्‍याएर आउने कम्पनीको सेयर एक साताभित्र सूचीकरण गरिसक्छौँ’, नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले भने।

सेयरको अभौतिकीकरण गरेर प्रणालीमा किनबेच योग्य बनाउनका लागि खुलेको सीडीएससीलाई पनि समय लाग्दैन। सीडीएससीका सूचना अधिकारी सन्तोष न्यौपानेले सेयर बाँडफाँटपछि अभौतिकीरणका लागि अधिकतम दुई दिनभन्दा बढी नलाग्ने बताए।

तर केही कम्पनीले एक महिना नाघिसक्दा र केहीले एक महिना हुन लाग्दा पनि सेयर सूचीकरण गराएका छैनन्। नेपाल रिपब्लिक मिडिया, थ्रीस्टार हाइड्रोपावर, आईएमई लाइफ इन्स्योरेन्स र घोराही सिमेन्टले नवीकरण शुल्क छल्नका लागि सेयर सूचीकरणमा ढिलाइ गर्दा लगानीकर्ता सेयर किनबेच गर्नबाट बञ्चित भएका हुन्।

‘लगानीकर्ताले नेप्सेमा कम्पनी लिस्टिङ भयो कि छैन? कहिलेबाट कारोबारमा आउँछ भनेर फोन गरिरहेका छन्। तर १ महिनायता आईपीओ बाँडफाँट गरेका कम्पनी सूचीकरण भएका छैनन्’, पराजुलीले भने।

नेपाल रिपब्लिक मिडियाे नागरिक दैनिक प्रकाशन गर्दै आएको छ। उसको आईपीओ बाँटफाँट भएको एक महिना नाघ्यो। असार ११ गते बाँडफाँट गरेकाले गत वर्ष नै सूचीकरणका लागि उसँग पर्याप्त समय थियो। तर १ लाख रुपैयाँको लोभमा कम्पनीले सेयर सूचीकरणमा ढिलासुस्ती गर्‍यो।

गत आर्थिक वर्षको नवीकरण शुल्कबाट जोगिन उसले चालु वर्ष कुरेको हो। नेप्सेका अनुसार, ५० करोड रुपैयाँसम्म चुक्ता पुँजी भएको कम्पनीको दर्ता शूल्क ०.१० प्रतिशत वा न्युनतम १ लाख ५० हजार रुपैयाँ हुन्छ। हरेक आर्थिक वर्ष नवीकरणका लागि ५० हजार रुपैयाँ बुझाउनु पर्छ।

यस्तै, ५० करोडभन्दा माथि चुक्ता पुँजी भएको कम्पनीले दर्ता शूल्क बापत ०.०५ प्रतिशत वा न्युनतम २ लाख ५० हजार बुझाउनु पर्छ। यस्तै हरेक आर्थिक वर्ष नवीकरणका लागि १ लाख रुपैयाँ तिर्नुपर्छ।

आईपीओ निष्कासनपश्चात नेपाल रिपब्लिका मिडियाको चुक्ता पुँजी ९६ करोड ७५ लाख रुपैयाँ पुगेको छ। धितोपत्र सूचीकरण विनियमावलीमा भएको व्यवस्था अनुसार उसले सेयर दर्ता गर्न २ लाख ५० हजार रुपैयाँ बुझाउनु पर्छ।

नवीकरण शूल्कका लागि हरेक आर्थिक वर्ष १ लाख बुझाउनु पर्छ। यही एक लाख रुपैयाँको लोभमा उसले सर्वसाधारणको लगानी महिना दिनसम्म बन्धक बनाएको हो। नेपाल रिपब्लिका मिडिया सूचीकरणका लागि बल्ल नेप्से पुगेको छ।

‘असार मसान्तले गर्दा ढिलो भएको हो। केही दिनअघि सूचीकरणका लागि नेप्सेमा फाइल पठाइसकेका छौँ। अब छिट्टै नै सूचीकृत हुन्छ होला। कम्पनीबाटै पनि अलि ढिलो भएको हो’ आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका डेपुटी सीईओ मेख थापाले भने।

थ्रीस्टार हाइड्रोपावरको असार १९, आईएमई लाइफ इन्स्योरेन्सको असार ३० र घोराही सिमेन्टको असार ३१ गते आईपीओ बाँडफाँट गरिएको थियो। यिनीहरुको आईपीओ कहिले सूचीकरण हुन्छ भन्ने अझै टुंगो छैन।