BIZMANDU
www.bizmandu.com

सुन प्रकरणमा एमालेको अडान कायमै, प्रतिनिधि सभा बैठक बस्दै नबसी स्थगित

२०८० साउन १५

सुन प्रकरणमा एमालेको अडान कायमै, प्रतिनिधि सभा बैठक बस्दै नबसी स्थगित
सुन प्रकरणमा एमालेको अडान कायमै, प्रतिनिधि सभा बैठक बस्दै नबसी स्थगित


काठमाडौं। प्रतिनिधि सभाको आजका लागि तय बैठक बस्दै नबसी स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध कायमै राख्‍ने बताएपछि बैठक स्थगित गरिएको हो।

Tata
GBIME
NLIC

सय किलो सुन प्रकरणमा एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग राखेर साउन १० गतेको बैठक नाराबाजीसहित अवरुद्ध गरेको थियो। उसले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा समेत मागेको थियो।

छानबिन समिति गठनविना सदन चल्न नदिने एमालेको अडानपछि सभामुख देवराज घिमिरेले आज अपराह्न १ बजेका लागि तय बैठक स्थगित गरेका हुन्। संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बैठक भोलि बस्ने गरी स्थगित गरिएको जानकारी दिए।

सदन खुलाउने प्रयासस्वरुप प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बालुवाटार बोलाएर छलफल गरेका थिए। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले छलफल निकै सकारात्मक भएको बताएका थिए। तर एमालेले आफ्नो अडान नछोडेपछि प्रधानमन्त्रीको प्रयास निरर्थक बन्न पुगेको छ।