काठमाडौं। काम सम्पन्न गरेको आयोजनाको भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायीहरू सडकमा ओर्लिएका छन्। नेपाल निर्माण व्यवसायी महासंघले देशभरका व्यवसायीलाई बोलाएर सोमबार प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेको छ।
आयोजनाको काम सम्पन्न गरेको बिल पेस गर्दा पनि सरकारी निकायले भुक्तानी नदिएको भन्दै व्यवसायीहरूले प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराउन खोजेका हुन्। उनीहरूले प्रधानमन्त्री निवास अगाडि एक घण्टा धर्ना दिए।
धर्नाका सहभागीहरूले काम गरेबापतको रकम तुरुन्त भुक्तानी गर, सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर, बीमा निर्देशिका-२०७८ खारेज गर, उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने नियम खारेज गर, सार्वजनिक खरिद ऐन तथा नियमावली तुरुन्त संशोधन गर लगायत नारा लेखिएका प्लेकार्ड पनि प्रदर्शन गरेका थिए।
महासंघका अध्यक्ष रवि सिंहले सरकार व्यवसायीमैत्री नभएकाले बाध्य भएर सडकमा ओर्लिएको बताए। महासंघका अनुसार निर्माण व्यवसायीले सरकारबाट ४० अर्ब रुपैयाँ भुक्तानी पाउन बाँकी छ।
महासंघका महासचिव रोशन दाहालले चेक बाउन्समा र बैंक ग्यारेण्टी जफत गर्ने लगायत कार्वाही रोकिनुपर्ने, बीमाको प्रिमियम दरमा भएको वृद्धि खारेज गरिनुपर्ने मागमा गम्भीर हुन सरकारसँग आग्रह गरे।
महासंघले भुक्तानीका लागि दबाबस्वरुप सोमबार अपराह्न संसद भवन अगाडि पनि प्रदर्शन गर्ने जनाएको छ। महासंघले आइतबार सार्वजनिक खरिद अनुगमन कार्यलयमा धर्ना दिएको थियो। भुक्तानीको माग सम्बोधन नगरे प्रदर्शन चर्काउने महासंघको चेतावनी छ।