BIZMANDU
www.bizmandu.com

चार वर्षअघि ‘चार्ली फोस्टर’ अपरेसनमा बचेका सुन प्रकरणमा समातिएका दावा को हुन्?

२०८० साउन १४

चार वर्षअघि ‘चार्ली फोस्टर’ अपरेसनमा बचेका सुन प्रकरणमा समातिएका दावा को हुन्?
चार वर्षअघि ‘चार्ली फोस्टर’ अपरेसनमा बचेका सुन प्रकरणमा समातिएका दावा को हुन्?


काठमाडौं। असार ३ गते राजस्व अनुसन्धान विभागले बरामद गरेको अर्बको सुन प्रकरणमा आइतबार दावा छिरिङ पक्राउ परेसँगै समातिनेको संख्या १८ पुगेको छ। माओवादी केन्द्रका प्रभावशाली नेताहरुसँगको हिमचिमले ढुक्कसँग व्यवसाय गरिरहेका दावा सुन प्रकरणमा गहिरो संलग्नता देखिएपछि पक्राउ परेका हुन्।

Tata
GBIME

ठमेलमा रहेको भियना होटलमा आइतबार राजस्व अुनसन्धन विभागको टोलीले छापा मारेको थियो। त्यसपछि दावा समातिएका हुन्। चिनियाँ मूलका बेल्जियमका नागरिक हुन् दावा। उनी लामो समयदेखि नेपाल बस्दै आएका थिए। तस्करीसँग दावाको पुरानो कनेक्सन भए पनि राजनीतिक व्यक्तिको छत्रछायामा सुरक्षित थिए।

विभागले यसअघि पक्राउ गरेका व्यक्तिहरुको बयान र थप लिंकलाई पछ्याउँदै जाँदा अनुसन्धान टोली दावासम्म पुगेको थियो। दावा भियना होटेलका सञ्चालक पनि हुन्। श्रीमती अमला रोक्काको नाममा होटल छ। रोक्का रोल्पाकी हुन्। सोही होटलमा सुनको बिषयमा छलफल हुने गरेको अनुसन्धाबाट खुलेको छ।

पुरानै कनेक्सन

नेपालमा अपराधसँग दावाको कनेक्सन देखिएको पहिलो हैन। विभिन्न घटनामा उनी जोडिएका छन्। ठगीदेखि सुन तस्करीसम्म उनको कनेक्सन देखिएको छ। तर उनी पटक-पटक प्रहरीको अपरेसनमा भने जोगिँदै आएका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र चीनको एनसीबी बेइजिङको संयुक्त अपरेसनमा २०७६ पुस ७ गते १२२ जनालाई नियन्त्रणमा लिइएको थियो। प्रहरीले ‘चार्ली फोस्टर’ नामको अपरेसन चलाएको थियो। जसमा चीनबाट नेपाल आएर विभिन्न आपराधिक गतिविधिमा संलग्न १२२ जना पक्राउ परेका थिए। जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरुलाई अभद्र व्यवहारमा समेत जनही एक हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने आदेश गरेको थियो। त्यसपछि भिषा सकिएको भन्दै उनीहरुलाई चीन नै फर्काइएको थियो।

पढ्नुस्ः तारकेश्वरको त्यो ८ तले ‘आलिशान घर’ जसलाई चिनियाँले बनाएका थिए ठगीको अड्डा

उनीहरुलाई चीनबाट नेपाल ल्याएर आपराधिक कार्यमा संलग्न गराउने मुख्य योजनाकारमा दावाको पनि नाम थियो। तर उनी अनुसन्धानको घेराभन्दा बाहिर नै रहे।

श्रीमतीमार्फत नेपालका राजनीतिक दलका नेतादेखि प्रहरीसँग दावाको कनेक्सन देखिएको छ। रोल्पामा जन्मिएकी अमलाको माओवादी नेता वर्षमान पुन र उनकी पत्नी पूर्वसभामुख ओनसरी घर्तीलगायतसँग सम्पर्क रहेको देखिन्छ। सामाजिक सञ्जालमा भाइरल भएको फोटोमा दावासहित देखिन्छन्। त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुन र उनका छोरासँग पनि दावा फोटोमा देखिन्छन्।

तर वर्षमानले भने उक्त फोटो पारिवारिक भेटको भएको निकटस्थसँग बताएका छन्। दावापत्नी रोक्का एकै पार्टीको सहयोद्धा रहेकोले पारिवारिक भेटमा उक्त तस्विर खिचिएको पुनको दाबी छ।

‘विभिन्न राजनीतिक दलका नेताहरुसँग राम्रो सम्बन्ध देखिन्छ। तर त्यो सम्बन्ध के को लागि भन्ने खुलेको छैन,’ अनुसन्धानमा खटिएका एक अधिकृतले भने।

दावा अर्बको सुन प्रकरणमा व्यवस्थापकका रुपमा रहेको प्रारम्भिक अनुसन्धानमा खुलको छ। त्यस्तै चिनियाँ गिरोहबाट नेपालमा हुने जुवादेखि ठगी धन्दासम्म उनको संलग्नता देखिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु बताउँछन्। दावाले नेपाली नागरिकता समेत लिएको खुलेको छ।

साउन ३ गते हङकङबाट ल्याइएको सुन विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिएपछि राजस्वको टोलीले समातेको थियो। ब्रेक शुु’भित्र सुन ल्याइएको थियो।

अहिलेसम्म चिनियाँ र भारतीय नागरिकसहित १८ जना उक्त प्रकरणमा समातिएका छन्। समातिएको सुनसहितको उक्त सामान भने रेडी ट्रेडर्सले मगाएको थियो।

चिनियाँ नागरिकको संलग्नतामा सुन ल्याएर काठमाडौंको सोह्रखुट्टे, बालुवाटरमा गोदाम लिएर राखिएको देखिएको छ। त्यस्तै टोखामा रहेको फ्याक्ट्रीमा लगेर सुन गालेर भारततर्फ तस्करी गर्ने गरेको पनि प्रारम्भिक अनुसन्धानमा खुलेको छ।