BIZMANDU
www.bizmandu.com

कलाकार पूजा शर्मा रेस्टुरेन्ट बिजनेसमा, ट्यागभित्र बार, बुटिक, पार्लर, पुल हाउस र किड्स जोन

२०८० साउन १४

कलाकार पूजा शर्मा रेस्टुरेन्ट बिजनेसमा, ट्यागभित्र बार, बुटिक, पार्लर, पुल हाउस र किड्स जोन
कलाकार पूजा शर्मा रेस्टुरेन्ट बिजनेसमा, ट्यागभित्र बार, बुटिक, पार्लर, पुल हाउस र किड्स जोन


काठमाडौं। उपत्यकामा रेस्टुरेन्ट हबको पर्याय बनेको एरिया हो ललितपुरको झम्सीखेल। हाल ठमेलपछिको स्वदेशीदेखि विदेशी पर्यटकको ‘जक्सन’ बनिरहेको यो क्षेत्र। जहाँ सप्ताहान्त मात्रै नभइ अरु दिन पनि गुल्जारमय माहोल हुन्छ। त्यही झम्सिखेलमा थपिएको छ अभिनेत्री पूजा शर्माको रेस्टुरेन्ट – ट्याग स्पोटर्स् लाउन्ज एण्ड बार।

Tata
GBIME
NLIC

गेटभित्र पस्नेबित्तिकै भित्तामा देखिन्छ लाफिङ बुद्धको ठूलो पेन्टिङ। अनि भित्ताभरि कोरिएका बोटविरुवाका आकृति। वाटर फाउन्टेनको आवाज। एक्वेरियममा माछाहरु। बोटानिकल डेकोरेसन। दुई रोपनी क्षेत्रफलमा फैलिएको ‘ट्याग’ ले वरपरका रेस्टुरेन्टभन्दा सज्जामा आफूलाई केही फरक बनाउन खोजेको छ।

पूजालाई लाग्थ्यो- ‘एउटै ठाउँमा सबै कुरा हुनु। जहाँ खानासँगै लाइभ म्युजिक होस्। अनि हरियाली वातावरणसँगै गेम पनि खेल्न मिलोस्। र, घर फर्कन ढिलो हुँदा बस्ने व्यवस्था पनि।’

रेस्टुरेन्टको ओपन स्पेसमाथि ग्राहकलाई हरियाली अनुभूति दिन कृत्रिम लहरे बिरुवाहरु पनि सजाइएका छन्। पूजालाई कहिले सुटिङ त कहिले रमाइलो गर्न रेस्टुरेन्ट पुग्नुपर्ने। तर, एउटै ठाउँमा उनको फर्माइसका सबै सेवासुविधा भेट्टाउनै मुस्किल हुन्थ्यो। खानाको सुविधा हुँदा सुत्‍ने व्यवस्था नहुने। कहिले के नमिल्ने त कहिले के !

रेस्टुरेन्टमा आएपछि हुने कमी देख्दा पूजालाई लाग्थ्यो- ‘एउटै ठाउँमा सबै कुरा हुनु। जहाँ खानासँगै लाइभ म्युजिक होस्। अनि हरियाली वातावरणसँगै गेम पनि खेल्न मिलोस्। र, घर फर्कन ढिलो हुँदा बस्ने व्यवस्था पनि।’ रेस्टुरेस्ट जाँदा महसुस हुने खल्लोपन मेट्दै केही नयाँ गर्ने हुटहुटीबीच ‘ट्याग’ खोलेको सुनाउँछिन् पूजा।

कोरोनाले क्लिक भयो आइडिया

फिल्म क्षेत्रका कलाकारहरु क्यामरा अगाडि अभिनयमा मात्रै सक्रिय हुँदैनन्, विभिन्न व्यवसाय पनि गर्छन्। कोही फिल्ममै लगानी गर्छन्, कोही पर्यटन क्षेत्रका बिजनेसमा हात हाल्छन्। कतिपयले विभिन्न व्यवसाय गरिरहँदा नै अभिनय क्षेत्रमा पनि पकड जमाएका छन्।

नेपाली फिल्म क्षेत्रकी चर्चित युवा कलाकार पूजा पनि फिल्म क्षेत्रमा कलाकार मात्र नभई निर्माताका रुपमा पनि सक्रिय छिन्। उनको लगानी रहेको ‘म यस्तो गीत गाउँछु २’ २०७६ फागुन ३० मा रिलिज हुने थियो। निर्माण समूहले प्रचारप्रसारका लागि निकै खर्चसमेत गरिसकेको थियो। तर, कोरोना महामारीका रूपमा आयो, फिल्म रिलिज हुन सकेन।

साढे २ करोड लगानीको योजनासहित एक वर्षअघि ट्यागको संरचना निर्माण सुरु गरिएको हो। तर, मंहगीले गर्दा हालसम्म खर्च ४ करोड खर्च पुगिसकेको पूजा सुनाउँछिन्। ट्यागमा पूजासँगै युद्ध बानियाँ र अभिषेक श्रेष्ठको पनि लगानी छ।

पहिलो लकडाउन भएसँगै हरेक क्षेत्र नराम्ररी प्रभावित भयो। फिल्मसम्बन्धि गतिविधि रोकिँदा पूजा पनि घरमै बस्न बाध्य भइन्। कोरोना महामारीबीच नै रेस्टुरेन्ट खोल्ने सोच आएको उनी बताउँछिन्।

‘पहिलेदेखि नै साइड बिजनेस पनि हुनुपर्ने रहेछ भन्ने लागेको थियो। तर, के गर्ने ठ्याक्कै थाहा थिएन। कोरोनाले गर्दा फिल्मको लगानी पनि फ्रिज भयो। त्यसबेला अर्को व्यापार आवश्यक पर्दो रहेछ भन्ने भएर रेस्टुरेन्ट खोल्ने सोच बनाएँ,’ उनी भन्छिन्।

कलाकारिता क्षेत्रमा सधैँ टिक्न गाह्रो हुने पूजाको तर्क छ। ‘एउटा कलाकार सधैं हिट र नम्बर १ हुन्छ भन्ने हुँदैन। स्टारडम निश्चित समयका लागि हुन्छ भन्ने मलाई थाहा छ,’ उनी भन्छिन्, ‘मलाई माया गर्ने दर्शकहरुसँग व्यवसायमार्फत पछिसम्म कनेक्ट हुन सकुँ भनेर यो रेस्टुरेन्ट खोलेकी हुँ।’

कलाकारितासँगै रेस्टुरेन्टलाई पनि सँगसँगै अगाडि बढाउने उनको योजना छ। साढे २ करोड लगानीको योजनासहित एक वर्षअघि ट्यागको संरचना निर्माण सुरु गरिएको हो। तर, मंहगीले गर्दा हालसम्म खर्च ४ करोड खर्च पुगिसकेको पूजा सुनाउँछिन्। ट्यागमा पूजासँगै युद्ध बानियाँ र अभिषेक श्रेष्ठको पनि लगानी छ। सुरुवातमा ट्यागमा ३५ जना कामदार राखिएका छन्।

ट्याग मनोरञ्जनको गन्तव्य हुने विश्वास

ट्यागमा रेस्टुरेन्टसहित बुटिक, ब्युटी पार्लर, बार, पुल हाउस, किड्स जोन पनि छ। त्यस्तै, ट्याग परिसरमै ग्राहकका लागि बासको व्यवस्था पनि छ। जसले रमाइलो गर्न रेस्टुरेन्ट आएका ग्राहकलाई बास बस्नका लागि तत्कालै घर फर्किनुपर्ने बाध्यता हुनेछैन। रेस्टुरेन्टमा एकसाथ २ सयजना बढी ग्राहकहरुले सेवा लिन पाउनेछन्।

ट्यागमा आएका सबै उमेर समूहका ग्राहकले भरपुर मनोरञ्जन पाउने पूजाको विश्वास छ। ‘ट्यागमा आएपछि दर्शकलाई केही कमी हुने छैन। यहाँ बारसहित बच्चाहरुले खेल्ने ठाउँ पनि छ। बिहेबाहेक इन्गेजमेन्टजस्ता पार्टीहरु पनि यहाँ गर्न मिल्छ। बच्चादेखि सबै उमेरका ग्राहकहरुले रमाइलो गर्ने वातावरण भएकाले ट्याग अरुभन्दा फरक छ।’

पूजाले रेस्टुरेन्टलाई सिनेम्याटिक बनाउने प्रयास गरेकी छन्। ट्यागका तीनवटा कोठालाई कलिउड, हलिउड र बलिउड भनेर छुट्याइएको छ। जहाँ चर्चित फिल्मको फोटोदेखि कलाकारहरुको तस्वीर राखिने छ। त्यसैगरी ट्याग परिसरमा बारसँगै ‘लाइभ म्युजिक’ स्पेस छ। गीत गाएर रमाइलो गर्न चाहनेका लागि ‘क्यारीओके’ को व्यवस्था छ।

ग्रीन सेटिङमा बनेको ट्यागमा एम्बियन्स र हस्पिटालिटीले गर्दा ग्राहकले सन्तुष्टि पाउनेमा ढुक्क सुनिन्छिन् पूजा। हरियाली वातावरण देख्दा मनमा छुट्टै आनन्द आउने भएका कारण ग्रीन थिम रोजेको उनको भनाइ छ। रेस्टुरेन्टका भित्ताहरुमा देखिने थ्रीडी पेन्टिङहरुले आकर्षित गराउँछ। ट्यागका मुख्य टार्गेट अडियन्सहरु विदेशी र युवापुस्ता हुन्।

विदेशी पर्यटक लाभान्वित गर्न ट्यागमा ‘नाइट लाइफ’ लाई पनि जोड दिएको पूजाको भनाइ छ। ‘विदेशमा राति १२/१ बजे सपिङदेखि रमाइलो गर्न हिड्छन्। नेपालमा भने राति ८/९ बजे नै रेस्टुरेन्ट बन्द हुन थाल्छन्। ग्राहकलाई राति रेस्टुरेन्टमै रमाइलो गर्ने मन हुन्छ। तर, बस्ने सुविधा हुँदैन,’ उनी भन्छिन्, ‘त्यही झन्झटबाट मुक्त होस् भनेर नाइट लाइफलाई पनि फोकस गरिनेछ।’

नेपाली रैथानेदेखि विदेशी खानाको स्वाद

अहिले धेरैजसो रेस्टुरेन्टले आफ्नो छुट्टै सिग्‍नेचर डिसलाई बढी हाइलाइट गर्छन्। तर, पूजाले भने ट्यागको मेनुमा सबैखाले खानालाई प्राथमिकतामा राखेको बताइन। उनका अनुसार ट्यागमा ‘सी फुड’ सहित कोरियन, जापानिज, मेक्सिकन लगायत कन्टिनेन्टल फुड पाइने छ। कफी र बेकरीको सुविधासँगै नेपाली रैथाने खानाका लागि ‘थकाली सेक्सन’ छ। त्यसमा नेपालका रैथाने खानाका परिकार अँटाउनेछन्।

पूजालाई एक/दुई दिन वेस्टर्न ‘फुड’ खाँदा नेपाली खानाको तलतल लागिहाल्छ। जसकारण पनि नेपाली खानाको लागि सेक्सन नै राखेको उनको भनाइ छ। ‘विदेश जाँदा पनि म एकदिनभन्दा बढी बाहिरको खाना खान सक्दिन। दालभात नै चाहिन्छ। जसकारण पनि मैले यहाँ थकाली सेक्सन राखेकी हुँ। यहाँ सबै देशका खानेकुराहरु पाइनेछन्,’ उनले बिजमाण्डूसँग भनिन्।

रेस्टुरेन्टमा ग्राहकहरु तान्न खानाको नै मुख्य भूमिका हुने उनको बुझाइ छ। ‘रेस्टुरेन्टलाई जतिसुकै डेकोरेट गरे पनि अन्तिममा त फुड राम्रो हुनुपर्छ। टेबुलमा खाना मिठो भयो भने ग्राहक फेरि आउनुहुन्छ। भित्तामा हेर्न कोही पनि आउनुहुन्न। स्वाद मेन्टन गर्न हेड सेफ राम्रो राखेका छौं।’

सेलिब्रेटीले रेस्टुरेन्ट खोल्दा बजारमा बेग्लै हाइप हुने गर्छ। धेरैले रेस्टुरेन्ट कलाकार र उच्च वर्गलाई टार्गेट होला भनेर अड्कल लगाउँछन्। तर, पूजाले भने सर्वसाधारणले पनि ट्यागमा आएर खर्च गर्न सक्ने दाबी गरिन्। ‘यो कलाकारलाई भनेर खोलेको रेस्टुरेन्ट होइन। सर्वसाधारणलाई नै भनेर खोलिएको हो। त्यस्तो मंहगो छैन ट्याग। जसरी मेरो फिल्म हेर्न हरेक वर्गको आउनुहुन्छ। त्यसरी नै ट्याग पनि सबैलाई लागि ओपन हो।’

पूजा जावलाखेलकै कुसुन्ती भनिमण्डलमा बस्छिन्। जसकारण उनलाई त्यो ठाउँ निकै मन पर्छ। आफ्नै प्यारो ठाउँ, त्यसमाथि रेस्टुरेन्ट हब, त्यही भएर ट्यागको लागि झम्सिखेलको लोकेसन रोजेको उनी सुनाउँछिन्। ट्याग सोमबारदेखि नियमित सञ्चालनमा आउँदैछ।