काठमाडौं। सेयर बजारमा मौद्रिक नीतिका व्यवस्थाको नकारात्मक असर अझै देखिएको छ। मौद्रिक नीति सार्वजनिक भएयता सेयर बजारमा आजसम्म १२६.८२ अंकको गिरावट छ।
गत साता मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्टबाट नै लगातार घटेको बजार अझै सुधारतर्फ फर्किएको छैन। आइतबार पनि भारी अंकले घटेको छ। गत साता सोमबारदेखि बिहीबारसम्म सेयर बजार १००.६८ अंकले घटेको हो।
आज पनि बजार २६.१४ अंकले घटेर २१००.०३४ बिन्दु तल झरेको छ। यस्तै सेन्सेटिभ इन्डेक्स पनि ४.१४ अंकले घटेको छ।
आज कारोबार आएका १३ उपसमूह मध्ये म्युचुअल फन्ड उपसमूह बाहेक सबैजसो उपसमूह राताम्मे बनेका छन्। म्युचुअल फन्डहरुले गत आर्थिक वर्षको न्याभसहित वित्तीय विवरण निष्कासन गरेका छन्। म्युचुअल फन्डहरुको लगानीको ठूलो हिस्सा सेयर बजारमा भएकाले असारमा बजार बढ्दा अधिकांश सामूहिक लगानी कोष योजनाहरुको वित्तीय विवरण सकारात्मक आएको छ। तसर्थ लगानीकर्ता म्युचुअल फन्डतर्फ आकर्षित छन्।
आइतबार २ अर्ब ५० करोड बराबरको मात्र सेयर कारोबार भएको छ। कारोबारका आधारमा शिवम् सिमेन्ट अग्र स्थानमा छ। गत वर्षभर उच्च कारोबार गर्ने कम्पनीको सूचीमा परेको शिवमको १४ करोड ७८ लाख रकम बराबरको सेयर कारोबार भएको हो।
यस्तै सोल्टी होटलको ११ करोड र एभरेष्ट बैंकको १० करोड बराबरको सेयर कारोबार भएको हो।