BIZMANDU
www.bizmandu.com

संवैधानिक परिषदको बैठकबारे प्रचण्ड र ओलीबीच वार्ता, होला प्रधानन्यायाधीश सिफारिस?

२०८० साउन १४

संवैधानिक परिषदको बैठकबारे प्रचण्ड र ओलीबीच वार्ता, होला प्रधानन्यायाधीश सिफारिस?
File Photo


काठमाडौं। संवैधानिक परिषदको बैठक बोलाउने विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

Tata
GBIME
NLIC

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा बैठक बोलाउने र प्रधानन्यायाधीश सिफारिस गर्ने विषयमा छलफल भएको ओलीको सचिवालयले जनाएको छ।

साउन २० गते प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले ६५ वर्षे उमेरहदका कारण अवकास पाउँदैछन्। संविधान अनुसार अवकास पाउनु एक महिना अघि नै प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने भए पनि परिषदको बैठक नै बस्न सकेको छैन।

पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध २०७८ साल फागुन १ गते महाभियोग प्रस्ताव दर्ता भएपछि निलम्बनमा परेका थिए। महाभियोगबारे निर्णय नगरि प्रतिनिधिसभाको ५ वर्षे कार्यकाल सकिएको थियो। संसद् सचिवालयका महासचिवको पत्र लिएर अवकास हुनुभन्दा केहि दिन अघि सर्वोच्च जान जबराले प्रयास गरे पनि सफल भएनन्।

उनीपछि दीपक कार्की कायममुकायम प्रधानन्यायाधीश भए पनि लामो समयसम्म प्रधानन्यायाधीशमा सिफारिस हुन सकेन। २०७९ असोजमा कार्कीले पनि अवकास पाए। त्यसपछि हरिकष्ण कार्की कायममुकायम प्रधानन्यायाधीश भए।

हरिकृष्णलाई संवैधानिक परिषदको २०८० वैशाख २५ को बैठकले प्रधानन्यायाधीश सिफारिस गर्‍यो। उनले असार १ मा शपथ लिएका थिए। उनी छोटो कार्यकालका लागि प्रधानन्यायाधीश भएकाले सर्वोच्चका लागि लगतै संवैधानिक परिषदको बैठक बस्नुपर्ने थियो। तर पनि कार्कीको सिफारिसपछि बैठक बस्न सकेको छैन।