BIZMANDU
www.bizmandu.com

मिड सोलु हाइड्रोपावरको आइपीओमा प्रभावित क्षेत्र र वैदेशिक रोजगारलाई आवेदन खुला

२०८० साउन १४

मिड सोलु हाइड्रोपावरको आइपीओमा प्रभावित क्षेत्र र वैदेशिक रोजगारलाई आवेदन खुला
मिड सोलु हाइड्रोपावरको आइपीओमा प्रभावित क्षेत्र र वैदेशिक रोजगारलाई आवेदन खुला

काठमाडौं। मिड सोलु हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र नेपाल सरकारबाट श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा गएका नेपालीका लागि सेयर निष्कासन गरेको हो।

Tata
GBIME
Nepal Life

सेयरका लागि आइतबारदेखि दरखास्त खुला भएको छ। कम्पनीले जारी पुँजी ७४ करोड ८४ लाख को कुल २० प्रतिशतले हुन आउने १४ लाख ९६ हजार ८०० कित्ता साधारण सेयर निष्कासन गर्ने छ।

जसमध्ये जारी पुँजीको १० प्रतिशत हुन आउने ७ करोड ४८ लाख ४० हजार रकम बराबरको ७ लाख ४८ हाजार ४०० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीका लागि छ। उक्त सेयरमध्ये अति प्रभावित क्षेत्र मानिएको सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड- ३, ४, ५, ६, ७ र ११ नम्बर वडाका बासिन्दाका लागि ५ करोड ६१ लाख ३० हजार बराबरको ५ लाख ६१ हजार ३ सय कित्ता छुट्याइएको छ।

त्यसबाहेक सोलुखुम्बु जिल्लाबासीका लागि १ करोड ८७ लाख १० हजार रुपैयाँ बराबरको १ लाख ८७ हजार १०० कित्ता सेयर छुट्याइएको छ।   

यस्तै कम्पनीले नेपाल सरकारबाट श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा गएका नेपालीका सर्वसाधरणलाई छुट्याएको सेयरको १० प्रतिशतले हुन आउने  ७४ हजार ८४० कित्ता बिक्री गर्ने भएको हो।

कम्पनीले सो सेयर अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँका दरले बिक्री गर्दैछ। सेयर खरिदका लागि आजबाट साउन २८ गतेसम्म आवेदन दिन सकिन्छ। उक्त दिनसम्म आयोजना प्रभावित क्षेत्रका बासिन्दाबाट पर्याप्त आवेदन नपरे अवधि भदौ ११ गतेसम्म थप हुन सक्नेछ।

यस कम्पनीले सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिकामा ९.५ मेगावाट क्षमताको मध्य सोलु खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ। रन अफ रिभर प्रकारको यो आयोजनाको प्रति मेगावाट लागत २१ करोड ९३ लाख छ। आयोजनाको कुल लागत २ अर्ब ८ करोड ४१ लाख छ।

गत चैत मसान्तसम्म यो कम्पनीको प्रति सेयर नेटवर्थ १०१.६५ छ। यस्तै  सोही अवधिसम्म कम्पनीको प्रति सेयर आम्दानी १.६५ रुपैयाँ छ भने कम्पनीले गत चैतसम्म ९८ लाख ८८ हजार खुद नाफा आर्जन गरेको छ।

कम्पनीले गत पुस १५ गतेबाट विद्युतको व्यापारिक उत्पादन समेत सुरु गरिसकेको छ।

उत्पादन भएको विद्युत लुप इन लुप आउट रहेको स्थानदेखि ८ किलोमिटर लामो १३२ केभी प्रसारण लाइनमार्फत नेपाल विद्युत प्राधिकरणको तिङ्ला सबस्टेसनमा जोडेर बिक्री भइरहेको छ।