पोखरा। चिल्ला सडक। सडक छेऊमा साइकल लेन। सडक सिगार्न बीचमा फूलका विरुवा पनि। स्मार्ट सिटीको परिकल्पना गरेको पोखरा महानगरको यही सडकमा बेलाबेला फोहोरको डंगुर थुप्रिन्छ। हप्ता दिनसम्म सडक फोहोरले दुर्गन्धित हुन्छ समय–समयमा। उस्तै परे पोखरा महानगर कार्यालय अगाडिको फोहोर समेत उठ्दैन।
महिना दिन बिराएर फोहोर नउठ्ने समस्या सामान्य जस्तो बनेको छ पोखरा महानगरका लागि। फोहोर व्यवस्थापन प्रमुख चुनौती बनिरहेको छ। शनिबारसम्म चार दिन भयो पोखराको मुख्य सडक दुर्गन्धित बनेको।
कारण हो, अस्थायी ल्याण्डफिल साइटका रुपमा प्रयोग गर्दै आएको पोखरा-३२ लामेआहालमा फोहोर फाल्न स्थानीयको रोक। फोहोर फाल्न रोक लगाउनु अघि नै स्थानीयले महानगरपालिकालाई लिखितरुपमा गुनासो पोखिसकेका थिए। साउन २ गते महानगर प्रमुख धनराज आचार्यलाई भेटेर फोहोर व्यवस्थित नहुँदा स्थानीयले खेप्नुपरेको गुनासो गरेका थिए। तर गुनासो सुनुवाइ भएन। अन्तत: साउन १० गतेदेखि फोहोर फाल्न स्थानीयले रोक लगाए।
सम्झौता सकिएपछि फोहोर फाल्ने व्यवस्थापन अन्य स्थानमा खोज्न महानगरलाई आग्रह गरेका छन् स्थानीयले। ६ महिनाका लागि लामेआहालमा अस्थायी ल्याण्डफिल साइटको सम्झौता गरेको थियो महानगरले। जसको सम्झौताको समयवधि सकिएको छ।
‘विमानस्थलका कारण त्यो बेलामा १४ नम्बरमा भइरहेको फोहोर व्यवस्थापन हटाउनुपर्ने थियो। स्थायी नभए पनि अस्थायी बाट व्यवस्थापन गर्नुपर्ने परिस्थिति आयो। त्यस पछाडि मेयरले ३२ नम्बरमा आएर हामीसँग अनुरोध गर्नुभयो। बढीमा ६ महिनासँग लाग्छ भन्नुभयो,’ स्थानीय भुवानीप्रसाद पौडेलले भने।
महानगरबाट अनुरोध आएपछि स्थानीयले पनि केही सर्तमा फोहोर व्यवस्थापन गर्न दिए। बस्ती नजिकै फोहोर व्यवस्थापन गर्ने भएका हुनाले दैनिक रुपमा फोहोर पुर्नु पर्ने र औषधि छकर्नु पर्ने सर्त थियो। तर, महानगरले केही नगरेको गुनासो स्थानीयको छ।
‘यी-यी बुँदामा व्यवस्थापन गर्ने भनेर यहाँको राजनीतिक दल, नागरिक समाज, सबैले दिने भन्ने सहमति भएको थियो। सहमति कार्यान्वयन भएन,’ पौडेलले भने,’मुख्य कुरा त फोहोर भनेको दुर्गन्धित वस्तु नै हो। त्यसलाई दैनिक रुपमा पुर्न पर्ने ती विविध कुरा थिए त्यो पहिलो बुँदा नै कार्यनयन भएन । बस्तीको नजिक छ फेरि अब।’
फोहोर व्यवस्थापनमा महानगरको लापरबाही भएपछि आफूहरुले पटक-पटक गुनासो गरेको उनले बताए। भुवानीका अनुसार उनीहरुले जिल्ला अदालतमा बिहीबार मुद्दासमेत दायर गरेका छन्। जसको सुनुवाइ साउन २१ गतेका लागि तोकिएको छ।
स्थानीयले साउन २ गते मेयर धनराजलाई भेट्न गएपछि उनी बिहीबर लामेआहाल पुगेका पनि थिए। तर, उक्त भेटघाटले समस्या समाधान गर्न सकेन। पोखराको फोहोर उठेन। चारदिनदेखि पोखराको फोहोर नउठेपछि शनिबार बिहान उनले फेसबुकमार्फत पोखरेलीलाई सडकमा फोहोर नफाल्न अनुरोध गरे।
‘अस्थायी ल्याण्डफिल साइटमा फोहर लैजान केही अवरोध भएकाले विगत ४ दिन देखि फोहोर उठाउन सकिएको छैन, हामी सेवामा छौं। डेंगु बढिरहेको अवस्थामा फोहर उठाउन नपाउँदा हामी अत्यन्त दु:खी छौं। आशा गरौं छिटोभन्दा छिटो समस्या समाधान हुनेछ। फोहोर उठाउने गाडी नआउँदासम्म प्रतीक्षा गरौं। कृपया सडकमा फोहर नफालौँ,’ उनले लेखेका छन्।
फोहोर व्यवस्थापन चुनौती बनिरहेको छ महानगरका लागि। अझ, अन्तराष्ट्रिय विमानस्थल निर्माण भएपछि महानगरको टाउको दुखाइरहन्छ यो विषयले। यही बुझ्दै धनराज आचार्य गतवर्ष अर्थमन्त्री भेट्न काठमाडौं पुगेका थिए। त्यो पनि पोखराको प्रमुखमा निर्वाचित नहुँदै। भलै, उनको जीत भने सुनिश्चित भइसकेको थियो।
पोखरामा मतगणना जारी रहँदा धनराज काठमाडौं पुगेर पोखराका लागि चाहिने पर्याप्त बजेट माग गरेर फर्किएका थिए। विमानस्थल संचालनमा टड्कारो बनेको ल्याण्डफिल साइट सारेर नयाँ निर्माण गर्नका लागि धनराज आवश्यक बजेट माग गर्दै तत्कालिन अर्थमन्त्री जनार्दन शर्मासँग भेटवार्ता गरेका थिए।
‘जितको कुरामा पहिल्यैदेखि पक्का थिए। अब, बजेट आउँदै छ। त्यसैले पोखराका लागि तत्काल समेट्नुपर्ने योजना अर्थमन्त्री समक्ष टिपाएर आएको छु,’ धनराजले भनेका थिए, ‘चुनौती बनेको ल्याण्डफिल साइट यही बजेटमा समेटिएन भने फेरि ६ महिना १ वर्ष ढिलो हुन्छ। म ढिलो हुन चाहन्नँ,’ त्यससमय धनराजले भनेका थिए।
उसो त फोहर बिसर्जन गर्ने स्थान पोखरा-१४ मा हुँदा पनि फोहोर व्यवस्थापनको चुनौती भइरहन्थ्यो। समय-समयमा स्थानीयको रोकले पोखराको सडकबाट फोहोर उठ्दैनथ्यो। गत वर्ष पुस महिनामा पनि पोखराको फोहोर उठ्न सकेको थिएन। यसअघि फोहोर फाल्दै आएको पोखरा बाच्छेबुडुवास्थित ल्याण्डफिल साइटमा फोहोर फाल्न बन्द भएसँगै महानगरले फोहोर उठाउन छाड्दा समस्या भएको थियो। त्यसपछि अस्थायी ल्याण्डफिल साइट बनिसकेपछि जेठको पहिलो हप्तामा पोखराको सडक फोहोरको डंगुरले भरिएको थियो। त्यो बेला फोहोर पुर्न महानगरले भाडामा लिएको एक्साभेटरको इन्धन मूल्य नपाएपछि फोहोर उठेको थिएन।
फोहोर व्यवस्थापनको चुनौती बुझेका धनराजले ल्याण्डफिल साइट व्यवस्थापन कसरत भने गरिरहेका छन्। तर, यही विषयमा यस अघिको नेतृत्वले जस्तै महानगरले विरोध खेप्नुपर्यो। स्थानीयले विरोध जनाउँदा ल्याण्डफिल साइटका लागि जग्गा पाउन कठिनाइ भयो। जग्गा प्राप्त गरेपछि भने धनराज आफैं विवादमा तानिए।
फोहोरमैला प्रशोधन तथा जग्गा व्यवस्थापन शीर्षकमा महानगरले वडाध्यक्षको व्यक्तिगत खातामा ५५ लाख रुपैयाँ पठायो। समाचार प्रकाशन र चौतर्फी विरोधपछि प्रमुख आफैंले सो रकम महानगरमा फिर्ता गरे।
महानगरले ल्याण्डफिल्ड साइट बनाउन सके फोहोर व्यवस्थापनको समस्या सुल्झिने थियो। ल्याण्डफिल साइटको विवादपछि निर्माण कार्य पनि प्रभावपूर्ण तवरले अघि बढेको छैन। यद्यपि, साइटको काम लयमा अगाडि बढेको बताउँछन् महानगर प्रवक्ता मोतीलाल लामिछाने।
‘काम आफनो लयमा बढेको छ। जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढेको छ। प्रोसेसको लागि केही दिन त लाग्छ तर कत्ति पनि ढिलासुस्ती भएको छैन। रफतारमा गएको छ,’ उनले भने, ‘यता बीच-बीचमा समस्या आउने गरेको छ। त्यो सेटल हुन्छ। निवेदन गएको छ भन्ने हामीलाई पनि जानकारी आएको छ। त्यो अदालती प्रोसेसको कुरा फरक भयो। तर उहाँहरुसँग हाम्रो संवाद भएको छ।’
फोहोरको समस्या बीच प्रमुखको जस्तै उनको पनि आग्रह छ, जथाभावी सडकमा फोहोर नफाल्न।
‘अस्थायीमा फोहोर फालिराखेका छौं। त्यहाँ चाहिँ स्थानीयहरुले बाटोको कुरा लिएर दुर्गन्ध भयो भनेर अवरोध गर्नुभयो। दुर्गन्ध त त्यसलाई हामीले दैनिक पुर्ने काम गरिरहेका छौं,’ उनले भने।