BIZMANDU
www.bizmandu.com

काँकडभिट्टा नाकाबाट भन्सार छलेर भित्रियो एक करोड बढीको सामान, गाडी चालक फरार

२०८० साउन १३

काँकडभिट्टा नाकाबाट भन्सार छलेर भित्रियो एक करोड बढीको सामान, गाडी चालक फरार
काँकडभिट्टा नाकाबाट भन्सार छलेर भित्रियो एक करोड बढीको सामान, गाडी चालक फरार


काठमाडौं। गस्तीमा खटिएको नेपाल प्रहरीको टोलीले पूर्वीनाका काँकडभिट्टाबाट भन्सार छलेको एक करोड २० लाख रुपैयाँभन्दा बढी मूल्यको सामान बरामद गरेको छ।

Tata
GBIME
NLIC

शुक्रबार साँझ ७:३० बजेतिर मेची भन्सार कार्यालयभन्दा लगभग पाँच सय मिटर पश्चिमतर्फ शंकास्पद अवस्थामा पार्किङ गरी राखेको ना२ख ४९०२ नंको मालवाहक कन्टेनरमा उक्त सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गा रेग्मीले जानकारी दिए।

सामानसहितको कन्टेनरलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालयमा राखिएको उनले बताए। आज बिहान कन्टेनर खोलेर सामानको विवरण संकलन गरिएको छ। जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको संयुक्त गस्ती टोलीले उक्त सामान बरामद गरेको हो।

कन्टेनरभित्र बौद्धमार्गीले प्रयोग गर्ने काँसको झ्याम्टा, साबुन, हुक्कालगायत सामान रहेको छ। प्रहरीको गस्ती टोली पुग्नुअघि नै कन्टेनरका चालक फरार भएका थिए।

‘बरामद सामानको आयातसम्बन्धी कुनै बिलबीजक र राजस्व तिरेको कागजात भेटिएको छैन’, रेग्मीले भने,’उक्त कन्टेनर भन्सारबाट कर नतिरी भित्र्याएको हो कि होइन भन्ने बारे अनुसन्धान गरिरहेका छौं।’

मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले उक्त कन्टेनर भन्सार भित्रबाट नआएको बताए। रासस