काठमाडौं । हलिउड फिल्महरु ‘ओपनहाइमर’ र ‘बार्बी’ ले नेपाली बक्सअफिसमा राम्रो कमाई गरिरहेको छ। चलचित्र विकास बोर्डको तथ्याङ्कअनुसार यी फिल्मको एकसाताको व्यापार आक्रामक देखिन्छ।
ओपनहाइमरले सातामा १ करोड ९८ लाख (१ करोड ३१ लाख ८० हजार नेट) कलेक्सन गर्दा बार्बीले भने ७२ लाख ३९ हजार (४८ लाख २६ हजार नेट) कमाएको छ।
गत शुक्रबारबाट नेपालमा रिलिज भएका यी दुबै फिल्मको विश्वभरिको व्यापारको आकंडा पनि निकै राम्रो छ। विश्वभर बार्बीले ५ सय मिलियन (६६ अर्ब४७ करोड रुपैयाँ बढी) भन्दा बढी कलेक्सन गरिसकेको डेडलाइनले उल्लेख गरेको छ। यस्तै, ओपनहाइमरले करिब ३०० मिलियन (३९ अर्ब ८८ करोड रुपैयाँ)को व्यापार गरिसकेको छ।
कमेडी र एड्भेन्चर जनरामा बनेको ‘बार्बी’ लाई ग्रेटा गर्विगले निर्देशन गरेका हुन्। यस फिल्ममा मार्गन रोबी, रायन गोस्लिङ् र एम्मा म्याकी लगायतको भूमिका छ।
अमेरिकी वैज्ञानिक जे रोबर्टको बायोपिक फिल्म ‘ओपनहाइमर’ मा क्रिस्टो नोलनको निर्देशन रहेको छ। रोबर्टको परमाणु बमको विकास गरेको व्याख्या यस फिल्मले गर्छ। यस फिल्ममा सिलियन मर्फी, एमिली ब्लन्ट, म्याट डेमन,फ्लोरेन्स पग र रबर्ट डाउनीको अभिनय छ।
त्यसैगरि, गत असार २९ गते रिलिज भएको सरोज खनालको डेब्यू निर्देशित फिल्म ‘बगान’ ले भने हालसम्म ८३ लाख ग्रस कमाई गरेको छ।