BIZMANDU
www.bizmandu.com

‘मिस युनिभर्स नेपाल २०२३’ मा सहभागी हुन मापदण्ड लचिलो, क-कसले दिन पाउनेछन् आवेदन?

२०८० साउन ११

‘मिस युनिभर्स नेपाल २०२३’ मा सहभागी हुन मापदण्ड लचिलो, क-कसले दिन पाउनेछन् आवेदन?
Photo : Miss Universe Nepal 2023


 काठमाडौं। ‘मिस युनिभर्स नेपाल २०२३’ को तयारीबारे आज राजधानीमा एक कार्यक्रम गरी जानकारी दिइएको छ। पर्यटन बोर्डमा उमङ क्रियशनले आयोजना गरेको कार्यक्रममा ‘मिस युनिभर्स नेपाल २०२३’ बारे जानकारी दिइएको हो।

Tata
GBIME
NLIC

कार्यक्रममा आगामी संस्करणमा सहभागी हुन झनै फराकिलो दायरा बनाएको घोषणा गरिएको थियो। यस प्रतियोगिताका राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठले सहभागिताको मापदण्डलाई खुकुलो बनाइएको जानकारी दिइन्।

उनले भनिन्, ‘यो प्रतियोगिता सबैका लागि होस् भनेर हामी लचिलो भएका छौं। यसपटक हामीले सौन्दर्यको सीमा हुँदैन भन्ने विश्वासका साथ विवाहित र आमाहरूलाई समेत सहभागी गराउने छौं।’

उनले उचाइ वा तौल स्वीकारेर ट्रान्सवुमन, गैरआवासीय र विवाहितसँगै आमालाई समेत सहभागी गराइने निर्णय सौन्दर्य प्रतियोगितामा पहिलोपटक भएको जानकारी दिइन्।

‘सबै महिला, देशबाहिर रहेकालाई देशको प्रतिनिधित्व गर्ने अवसर र विवाहित भएर पनि सपना देख्न नछोड्नु भन्ने उद्देश्य हाम्रो हो’, निर्देशक श्रेष्ठले भनिन्।

यस संस्करण मापदण्डहरूलाई चुनौती दिँदै, अवरोधहरू तोड्दै, परिवर्तन र प्रेरणाको प्रकाशको रूपमा चम्कने उनको विश्वास छ।

यो प्रतियोगितामा भदौ २२ मा घोषणा हुने विजेताले ७२औँ ‘मिस युनिभर्स’को मञ्चमा नेपालको प्रतिनिधित्व गर्नेछिन्। यस प्रतियोगितामा विजेतासँगै चार उपविजेतासमेत घोषणा हुनेछन्। गत जेठ २३ गतेबाट सुरु भएको दर्ता आगामी साउन १८ सम्म चल्नेछ।