BIZMANDU
www.bizmandu.com

चिनियाँ नागरिकले संचालन गरिरहेका थिए सोह्रखुट्टेमा गोदाम, बरामद ब्रेक शुभित्र सुन थियो?

२०८० साउन ११

चिनियाँ नागरिकले संचालन गरिरहेका थिए सोह्रखुट्टेमा गोदाम, बरामद ब्रेक शुभित्र सुन थियो?
चिनियाँ नागरिकले संचालन गरिरहेका थिए सोह्रखुट्टेमा गोदाम, बरामद ब्रेक शुभित्र सुन थियो?

काठमाडौं। बुधबार राजस्व अनुसन्धानको टोलीले काठमाडौंको सोह्रखुट्टेस्थित एक गोदामा छापामार्दा फेला परेको वस्तु ‘ब्रेक शु’ भएको खुलेको छ। ६६ वटा कार्टुनभित्र ‘ब्रेक शु’ भेटिएको हो।

Tata
GBIME
Zonsen

तर ति ‘ब्रेक शु’भित्र त्रिभुवन भन्सार कार्यालयबाट बाहिरिएको ब्रेक शुभित्र रहेको झैँ सुन भने फेला परेन। बरामद भएका केही ब्रेक शुभित्र सुन राखेर ल्याइएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

बरामद सामग्रीको प्रकृति हेर्दा सुन राखेर ल्याइएको हुनसक्ने देखिएको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले बताए।

‘केहीमा सुन राखेर त केहीमा ब्रेक शु मात्र ल्याएको जस्तो देखिन्छ। थप अनुसन्धानको लागि ल्याब परीक्षण गर्नेछौँ,’ महानिर्देशक ढुंगानाले भने।

बुधबार दिउँसो राजस्वको टोलीले काठमाडौंका केही शंकास्पद ठाउँमा छापा मारेको थियो। जसको क्रममा सोह्रखुट्टेको गोदाममा एक साताअघि रेडी ट्रेडर्सले ल्याएको जस्तै प्रकृतिको ‘ब्रेक शु’ भेटिएको हो।

गोदाममा बाहिरपट्टी सटर लगाएर भित्रपट्टीको ढोकाबाट टोली प्रवेश गरेर छापा मारेको थियो।

बुधबार नै राजस्वको टोलीले नक्सालबाट नरेश तामाङ नाम बताउने सन्तोष तामाङलाई पक्राउ समेत गरेको छ। उनले नै चिनियाँ नागरिकलाई गोदाम खोजी दिएको खुलेपछि नियन्त्रणमा लिएको हो।

सोह्रखुट्टेमा भएको गोदाम गत बुधबार दिउँसो अध्यागमनको टोलीले नियन्त्रणमा लिएको चिनियाँ नागरिक जेक्यूयाङ लिनले सञ्चालन गरेको गोदाम भएको खुलेको छ।

चिनियाँ नागरिकले बालुवाटारमा पनि गोदाम राखेका थिए। राजस्वको टोलीले सो गोदाममा पनि छापा मारेर केही सामान नियन्त्रणमा लिएको थियो। विभागका एक अधिकृतका अनुसार चिनियाँ नागरिकको गोदामबाट नापतौल गर्ने तराजु र सुन गाल्ने सामाग्री समेत बरामद भएको बताए।

बुधबार छापा मारेको गोदामबाट ब्रेक शुमा भएको सुन निकालेर भारत पठाउने काम हुने गरेको खुलेको छ।

बुधबार राजस्वको टोलीले भन्सार जाँचपास भएको १ सय ५५ किलो सुन सहितको ब्रेक शु बरामद गरेको थियो। रेडी ट्रेडर्सको नाममा आएको ब्रेक शु बरामद गरिएको हो।

तीन महिना अघिमात्र यो कम्पनी दर्ता भएको देखिएको छ। सुन तस्करीको लागि नै कम्पनी दर्ता भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

यसका सञ्चालक दिलीप भुजेल पक्राउ परेका छन्। तर उनको आर्थिक अवस्था र कनेक्सन खोज्दा कम्पनी दर्ता गर्नको लागि उनको कागजपत्र मात्र प्रयोग भएको देखिएको छ।

राजस्वको टोलीले अहिलेसम्म १७ जनालाई पक्राउ गरिसकेको छ। अनुसन्धान अझैँ जारी रहेकाले थप मानिस पक्राउ पर्ने सम्भावना रहेको महानिर्देशक ढुंगानाले बताए।