काठमाडौं। राजस्व अनुसन्धान विभागको टोलीले रेडी ट्रेडर्सले ल्याएको सामान राख्ने अर्को गोदाममा पनि छापा मारेको छ।
सोह्रखुट्टेमा ‘ब्रेक शु’ राख्नको लागि लिएको गोदामा छापा मारेको हो। बिदेशबाट ल्याएको ‘ ब्रेक शु’भित्रको सुन निकालेर त्यहाँबाट अरुतिर लैजाने जानकारी पाएपछि विभागले छापा मारेको हो। गोदामाबाट ५५ वटाभन्दा बढी कार्टुन बरामद गरिएको हो।
तर त्यहाँभित्र सुन भए नभएको पुष्टि भएको छैन। टोलीले यसअघि बालुवाटार, लाजिम्पाट, कमलपोखरीलगायतका ठाउँमा छापा मारेको थियो।
बुधबार त्रिभुवन विमानस्थलको भन्सार कार्यालयबाट जाँच पास भएर बाहिरिएको सुन प्रकरणमा संलग्न व्यक्तिले गोदाम सुन राखेको सूचना पाएपछि छापा मारेको हो।
राजस्व अनुसन्धानले अहिलेसम्म सुन प्रकरणमा १७ जनालाई पक्राउ गरेको छ। बिहिबार दिउँसो विभागको टोलीले थप एक जनालाई पक्राउ गरेको थियो। नरेश तामाङ नाम बताउने सन्तोष तामाङलाई पक्राउ गरेको हो। उनलाई नक्साल क्षेत्रबाट समातेको थियो।