काठमाडौ। त्रिभुवन भन्सार कार्यालयबाट जाँचपास गरेर एक अर्बको सुन बाहिरिएपछि भन्सार कार्यालयका प्रमुख सहसचिव अरुण पोखरेललाई हटाइएको छ।
अर्थ मन्त्रालयले पोखरेललाई हटाएर सहसचिव टोकराज पाण्डेयलाई जिम्मेवारी दिएको छ। पाण्डेयले मंगलबारबाट नै जिम्मेवारी सम्हालिसकेका छन्। केही दिन अघि मात्रै पाण्डेयलाई किताबखानाबाट अर्थ मन्त्रालयमा ल्याइएको थियो। पाण्डेयसँग लामो समय यातायात व्यवस्था विभागमा काम गरेको अनुभव छ। पोखरेलले भने गत भदौ २० गते विमानस्थल भन्सार प्रमुखको जिम्मेवारी सम्हालेका थिए।
राजस्व अनुसन्धान विभागले बुधबार भन्सार जाँचपछि बाहिरिएको ठूलो परिमाणमा सुन बरामद गरेको थियो। मोटरको पार्टस् ‘ब्रेक सु’ भित्र एक अर्ब रुपैयाँ बराबरको सुन ल्याएको देखिएको छ। तर भन्सारका प्रमुख पोखरेल भने बिदामा थिए। ढाडको समस्या भन्दै उनले दुई महिनाको बिदा लिएको देखिएको छ। उनी बिदामा बसेपछि कार्यकारी प्रमुखको जिम्मेवारी नारद गौतमलाई दिइएको थियो।
पोखरेलको कार्यकालमा विमानस्थल प्रयोग भएर सुन तस्करीको घटना बाहिर आएका छन्। भेप (इलेक्ट्रिक चुरोट) प्रकरणमा पनि भन्सारका कर्मचारीको संलग्नता देखिएको थियो। जसमा नासु रेवन्त खड्का, विमानस्थलका सुरक्षा गार्ड निर्मल विक लगायत ९ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाइएको थियो। पक्राउ परेका नासु खडकासहित पाँच जनालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको थियो।
यो प्रकरणमा पनि पोखरेलको आलोचना भएको थियो। गत पुस १० गते फ्लाइ दुबईबाट चिनियाँ नागरिकले २ वटा सुटकेसमा ७३ वटा प्याकभित्र ७३० वटा भेप (इलेक्ट्रिक चुरोट) ल्याएका थिए। भन्सार कार्यालयले जफत गरेको भेपभित्रको सुन नासु र भन्सार एजेन्टले मिलेर गोदामबाटै चोरी गरेको खुलेको थियो। उनीहरूले सुन ६ करोड रुपैयाँमा बेचेका थिए।
भेपको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले गरेको थियो। जसमा भन्सार प्रमुख पोखरेलको पनि बयान लिएको थियो। बयानमा पोखरेलले जफत भएको भेप ल्याउने चिनियाँ नागरिकलाई सकार्न मौखिक निर्देशन नदिएको बताएका थिए। तर नासु खड्काले भने पोखरेलले नै भेपको लिलामी गर्न भनेको बयान दिएका थिए।
यसरी जफत भएको भेप कानुनीरुपमा लिलामी गर्न पाइँदैन। जफत भएका सूर्तिजन्य वस्तु नष्ट गर्नुपर्ने हुन्छ। तर तस्करको समूहले भेप लिलामीमा गए सकार्ने तयारी गरेको थियो। जसका लागि माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुलले पनि लिलामीको प्रक्रिया बुझ्न भन्दै भन्सारका कर्मचारीलाई फोन गरेका थिए। लिलामी नहुने भएपछि तस्करको समूहले भेप भन्सारको गोदामबाटै चोरी गरेको थियो।