BIZMANDU
www.bizmandu.com

निगमको न्यारोबडी जहाजमा बारम्बार समस्या, जगेडा सामान नहुँदा मर्मतमा सधैं समस्या

२०८० साउन ८

निगमको न्यारोबडी जहाजमा बारम्बार समस्या, जगेडा सामान नहुँदा मर्मतमा सधैं समस्या
नेपाल एयरलाइन्सको न्यारोबडी विमान। फाइल तस्बिर।


काठमाडौं। नेपाल वायुसेवा निगमको नाइन एन-एकेडब्लु कलसाइनको न्यारोबडी जहाज ‘सगरमाथा’ साउन २ गते मलेसियाको क्वालालम्पुरमा ग्राउण्डेड भयो। जहाजमा भैरहवा हुँदै काठमाडौं आउनका लागि १५२ यात्रु थिए। ग्राउण्डेड हुनु ५ घण्टाअघि मात्र जहाज मर्मत गरिएको थियो।

Tata
GBIME

इन्जिनभित्रको लाइनमा समस्या आएपछि असार अन्तिम साता जहाज उडान गर्न मिलेन। त्यसपछि इन्जिनियरिङ विभागमा दक्ष जनशक्ति नभएको भन्दै भारतको बैंगलोरबाट प्राविधिक टोली झिकाएर ७ दिनदेखि ग्राउण्डेड जहाज मर्मत गरी क्वालालम्पुर पठाइएको थियो। तर क्वालालम्पुरमा ६ घण्टाभन्दा बढी ग्राउण्डेड भयो। यसको कारण थियो, चालक दलका सदस्यका लागि जडान गरिएको अक्सिजनको लेवल कम हुनु।

दोषी को?

अक्सिजन अभावमा पाइलट र इन्जिनियरको कमजोरी देखिएको छ। क्वालालम्पुर उडानअघि नै जहाजमा पर्याप्त अक्सिजन थिएन। निगमका एक अधिकारीले भने, ‘जहाज उडान गर्नुअघि म्यानुअलका आधारमा पाइलटले पनि ककपिटभित्रका सबै कुरा जाँच गर्नुपर्ने हुन्छ। अक्सिजन नियन्त्रणका लागि अन अफ र एमर्जेन्सी स्वीच राखिएको हुन्छ। सगरमाथा जहाजमा साउन २ गते अनमा हुनुपर्ने स्वीच एमर्जेन्सी मोडमा देखिएको छ।’

पाइलटहरुका अनुसार सामान्यतया जहाजको प्रेसराइज फेल भएको अवस्थामा अक्सिजनको स्वीच एमर्जेन्सी मोडमा राखिन्छ। उडान गर्दा दिइने अक्सिजन प्रेसर सामान्यतया ८ हजार फिट कायम गरिन्छ। प्रेसर कायम नभएको अवस्थामा एमर्जेन्सी मोड प्रयोग गरिन्छ।

साउन १ गते राति काठमाडौंबाट क्वालालम्पुर जाँदा सगरमाथा जहाजमा एमर्जेन्सी स्वीच अन भइ अक्सिजन नै लिक भएको पाइएको निगम स्रोतले बताएको छ। ‘प्रेसराइजेसन फेल भएको भए ठूलो दुर्घटना हुन्थ्यो। पाइलटले पनि थाहा पाएलगत्तै उचाइ नघटाएको जानकारी आएको छ। जबकि ३४ हजार फिटमा भएको जहाजले यस्तो अवस्थामा १० हजार फिट तल आउन विमानस्थलसँग अनुमति माग्नुपर्छ’ उनले भने। निगमले यस विषयमा समिति गठन गरी छानबिन गरिरहेको बताएको छ।

निगमको यो जहाज प्राविधिक समस्याका कारण १ वर्षमा ४ पटक ग्राउण्डेड भइसकेको छ। अर्को न्यारोबडी जहाज नाइन एन-एकेएक्स पनि गत सातादेखि ग्राउण्डेड छ। ग्राउण्डेड हुँदा उडान प्रभावित भइ त्यसको क्षति निगमले भोग्नुपरेको छ।

समस्या आउनु ‘स्वाभाविक’!

निगमले न्यारो बडी जहाज २०७१ मा किनेको हो। निगमलाई जहाज उत्पादक कम्पनी एयरबसले पूर्वतयारीअन्तर्गत बिक्रीअघि नै चेकलिस्‍ट दिएको थियो। जसमा सुरुमै स्पेयर पार्ट्स, इन्जिन लगायतको जगेडा गर्न भनिएको थियो।

निगमका एक प्राविधिकले भने,’तीनवटा नेतृत्व परिवर्तन हुँदा पनि निगम व्यवस्थापनले जगेडा व्यवस्था गर्न वास्तै गरेन। जसका कारण प्राविधिक समस्याले जहाज पटक पटक ग्राउण्डेड हुन पुगेको छ।’

९ वर्ष पुरानो भएकाले जहाजमा प्राविधिक समस्या आउनुलाई निगमका प्राविधिकहरु अस्वाभाविक ठान्दैनन्। ‘५ देखि ६ वर्ष पुरानो भएपछि जहाजमा सानातिना समस्या आउन सुरु हुन्छ। सगरमाथा जहाज पूर्णरुपमा संचालनमा आएको भए इन्जिनमा पहिल्यै समस्या आइसक्थ्यो’, ती प्राविधिक भन्छन्।

जहाजको प्राविधिक जाँचका लागि निगमसँग इन्जिनियरिङ विभाग छ। विभागमा जनशक्तिको अभाव छैन। विभागमा २८५ कर्मचारी छन्। तर जहाज ग्राउण्डेड हुँदा मर्मतका लागि निगमसँग पर्याप्त स्पेयर पार्टस छैनन्। निगमको नेतृत्वले ‘जहाज ग्राउण्डेड भएपछि मात्र हस्याङफस्याङ गर्दै स्पेयर पार्टस खोजी गर्ने गरेको र त्यसको फाइदा आपूर्तिकर्ताले उठाइरहेको’ विभागका अधिकृतको आरोप छ।

जहाजको इन्जिन साइकल सकिनु छ महिना अगाडि नै इन्जिनियरिङ विभागले इन्जिन व्यवस्थापन गर्न नेतृत्वको ध्यानाकर्षण गराएको थियो। व्यवस्थापनले बल्ल इन्जिनका लागि कम्पनी छनोट प्रकृया अगाडि बढाएको छ।

निगमका प्रवक्ता रमेश पौडेलले समयमै इन्जिन व्यवस्थापन गर्न मेन्टिनेन्स रिपेयर अर्गनाइजेसन ‘एमआरओ’ गठनका लागि प्रक्रिया सुरु गरेको बताए। ‘एमआरओ खडा गर्नका लागि टेण्डर खोलिसकेका छौँ। अबको १० दिनमा टुंगो लाग्छ’, उनले भने, ‘हामीले पछिल्लो समय स्पेयर पार्ट्स पनि जगेडा राखेका छौं, सबै राख्न त सम्भव हुँदैन। जगेडा नभएको हकमा बढी समस्या भएको छ।’ पार्टपुर्जा नभएको अवस्थामा आपूर्तिकर्तामार्फत मगाइ इन्जिनियरिङ विभागमार्फत मर्मत संभार गर्दै आएको उनको भनाइ छ ।

जहाज नियमित उडानका क्रममा आवश्यक पर्ने पांग्रा, ल्याण्डिङ लाइट, अक्सिजन बोटल, फायर बोटल लगायत सामग्री अनिवार्य जगेडा राख्नुपर्छ । ‘तर निगममा भने यसको अभाव छ। कतिपय सामान विग्रिएपछि मात्र नयाँ खरिद गरिन्छ। जहाज ग्राउण्डेड भएपछि सामान तुरुन्तै खरिद गर्दा सार्वजनिक खरिद ऐन लागु हुँदैन। त्यसैले निकै महंगो मूल्यमा किन्ने गरिएको छ’, स्रोतले भन्यो।