BIZMANDU
www.bizmandu.com

सरकारी नीतिको प्रभाव ईभी आयातमा: एकै वर्षमा भित्रिए ४०५० वटा, भारतबाट धेरै

२०८० साउन ८

सरकारी नीतिको प्रभाव ईभी आयातमा: एकै वर्षमा भित्रिए ४०५० वटा, भारतबाट धेरै
सरकारी नीतिको प्रभाव ईभी आयातमा: एकै वर्षमा भित्रिए ४०५० वटा, भारतबाट धेरै


काठमाडौं। सरकारले विद्युतीय गाडी (ईभी)लाई प्रोत्साहन गर्ने नीति लिएपछि त्यसको प्रभाव आयातमा परेको छ। गत आर्थिक वर्ष ४ हजार ५० वटा ईभी आयात गरिएका छन्। यो संख्या हालसम्मको धेरै हो।

Tata
GBIME

भन्सार विभागका अनुसार गत वर्ष ११ अर्ब ८४ करोड रुपैयाँ बराबरका ४ हजार ५० वटा ईभी आयात गरिएका हुन्। यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा दोब्बरभन्दा बढी हो। आर्थिक वर्ष २०७८/७९ मा १ हजार ८०७ वटा विद्युतीय गाडी, कार, जीप र भ्यान आयात गरिएका थिए।

ईभीको आयातबाट सरकारले ३ अर्ब ३० करोड ४४ लाख भन्सार शुल्क संकलन गरेको छ। आयात गरिएकामध्ये अधिकांश ईभी भारतीय कम्पनीका हुन्।

भारतबाट ६ अर्ब १५ करोड ६० लाख रुपैयाँ बराबरका २ हजार २७७ वटा विद्युतीय कार, जिप र भ्यान आयात गरिएको विभागको तथ्यांक छ। भारतबाट टाटाको नेक्सन र टिगोर ईभी सबैभन्दा धेरै आयात गरिएको हो। पछिल्लो समय सिट्रोनको ईभी सी थ्री पनि आयात हुन थालेको छ।

भारतपछि चीनबाट धेरै ईभी ल्याइएको छ। चीनबाट ४ अर्ब ११ करोड ३६ लाख रुपैयाँ बराबरका १ हजार ३७१ ईभी देशमा भित्र्याइएको हो।

चीनबाट बीवाईडीको एटो ३, ई-६, एमजीको जेडएस, निटा भी, ग्रेट वाल मोटर्सको ओरा जेरो ३ लगायत गाडी आयात गरिएको हो। यसमा सबैभन्दा ठूलो हिस्सा बीवाईडी र एमजीको छ। चिनियाँ ईभी ल्याउँदा सरकारले १ अर्ब १८ करोड ७७ लाख रुपैयाँ भन्सार शुल्क पाएको छ।

यस्तै कोरियाबाट १ अर्ब ४९ करोड ३४ लाख रुपैयाँ बराबरका ३८१ विद्युतीय कार, जिप र भ्यान आयात गरिएको छ। त्यहाँबाट किया र हुन्डाई ब्रान्डका गाडी ल्याइएको हो। कोरियाली ईभी आयातवापत सरकारले ४९ करोड ९७ लाख रुपैयाँ भन्सार संकलन गरेको छ।

अमेरिका, इन्डोनेसिया र बेलायतबाट समेत ईभी भित्र्याइएको छ। नेपाली बजारमा ५० देखि ३०० किलोवाट क्षमताका गाडी आयात गरिएका छन्। सरकारले लक्जरियस अर्थात १०० किलोवाट क्षमताभन्दा माथिका ईभीमा कर घटाएको छ। केही दिनअघि जर्मन कार निर्माता बीएमडब्लुको आईएक्स-३ नेपाल भित्रिएको थियो।