BIZMANDU
www.bizmandu.com

अरु क्लबबाट ८ खेलाडी भित्र्याउँदै तयार मछिन्द्र, एएफसी छनोट हेर्न टिकटको कति?

२०८० साउन ८

अरु क्लबबाट ८ खेलाडी भित्र्याउँदै तयार मछिन्द्र, एएफसी छनोट हेर्न टिकटको कति?
अरु क्लबबाट ८ खेलाडी भित्र्याउँदै तयार मछिन्द्र, एएफसी छनोट हेर्न टिकटको कति?

काठमाडौं। एएफसी कपको प्रारम्भिक छनोटमा मछिन्द्र क्लबले भुटानी लिग च्याम्पियन पारो एफसीसँग प्रतिस्पर्धा गर्दैछ। अगस्ट ८ मा काठमाडौंमा हुने प्रतिस्पस्पर्धामा नेपालको शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपविजेता मछिन्द्र क्लबले भुटानी उपविजेता पारो एफसीसँग खेल्न लागेको हो।

Tata
GBIME
NLIC

प्रतियोगिताको तयारी सुरु भइसके पनि मैदानको अभाव हुँदा कठिनाइ भइरहेको क्लबका अध्यक्ष सुनिल कपालीले बताए। एएफसी कप खेल्ने टोलीको आफ्नै मैदान हुनु पर्ने होइन र? भन्ने प्रश्नमा उनले भने, ‘हाम्रो होम ग्राउन्ड दशरथ रंगशाला हो। नेपालमा भएका क्लबमध्ये कसैको पनि आफ्नै होमग्राउण्ड छैन।’

प्रतियोगिताको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनले गर्ने भएको छ। त्यस्तै मछिन्द्र क्लब टिकट बिक्रीका लागि माउन्ट एभरेस्ट स्पोर्ट्स एण्ड इभन्ट प्रभाइभेट लिमिटेडसँग सम्झौता गरेको छ। उनीहरुसँग भएको सम्झौता रकम भने खुलाइएको छैन।

मछिन्द्र क्लबले पारो एफसीलाई हराएको खण्डमा एएफसी कप प्रारम्भिक छनोटको दोस्रो चरणमा इण्डियन सुपर लिग (आईएसएल)को क्लब मोहन बगानसँग खेल्ने अवसर पाउनेछ।

८ मछिन्द्रबाट लिग नखेलेका खेलाडी
एएफसी कप छनोट खेल्न मछिन्द्रले २३ सदस्यीय टोलीको घोषणा गरेको छ। जसमा अभिषेक गुरुङ, अफीज ओलावाले, आन्द्रेस नियाँ, आशिष चौधरी, आयुष घलान, विजय भुजेल, विमल घर्ती मगर, विशाल श्रेष्ठ, देवेन्द्र तामाङ, दिवाकर चौधरी, एरिक विष्ट, ओमोलाजा करिम, लाकेन लिम्बु, मेसुके ओलोमोउ, सनिस श्रेष्ठ, सौरभ लिम्बू, छिरिङ गुरुङ, उत्सव राई, रेजिन सुब्बा, प्रदीप भण्डारी, दीपेश घले, सुरज विके र रोहित सुब्बा छन्। मछिन्द्रको प्रशिक्षकमा भने किशोर कुमार केसी नै रहने क्लबले जनाएको छ।

यी मध्ये आशिष चौधरी, आयुष घलान, एरिक विष्ट, लाकेन लिम्बु, मेसुके ओलोमो, सनिस श्रेष्ठ, रेजिन सुब्बा र रोहित सुब्बाले अन्य क्लबबाट ए डिभिजन लिग खेलेका थिए।

च्याम्पियन चर्च तर मछिन्द्र किन एएफसीमा?

शहीद स्मारक ‘ए’ डिभिजन लिगमा यो सिजनको च्याम्पियन बन्यो – चर्च ब्वाइज युनाइटेड। उपविजेता बन्यो मछिन्द्र क्लब। लिग जितेपछिको फस्ट ‘एटेम्प्ट’ गर्ने माथिल्लो खेल हो, एएफसीमा छनोट खेल। लिग च्याम्पियन स्वत: छनोट खेलमा भिड्न पाउँछन्।
तर, यसपटकको च्याम्पियन बनेको चर्च ब्वाइजको साटो प्रतियोगितामा लिग उपविजेता बनेको मछिन्द्रले नै सहभागिता जनाउँदै छ।

अघिल्लो सिजन लिग च्याम्पियन बनेको मछिन्द्रले श्रीलंकाको ब्लूस्टारसँग काठमाडौंमा खेलेको थियो। तर, पहिलो खेलमै पराजित हुन पुग्दा मछिन्द्र घरेलु मैदानबाटै बाहिरिएको थियो।

त्यसभन्दा अघिको सिजन त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कपको प्रारम्भिक छनोट खेलेको थियो। उक्त खेलमा आर्मीले घरेलु मैदानमा सम्पन्न खेलमा श्रीलंका पुलिसलाई हराएको थियो भने भारतमा बेङ्ग्लुरु एएफसीसँग पराजित भएको थियो।

किन गुमाउँदैछ चर्च ब्वाइजले यो अवसर?

कारण हो : चर्च ब्वाइजसँग एएफसीको लाइसेन्स नहुनु। एएफसीको प्रतियोगिता खेल्न क्लबलाई एएफसी लाइसेन्स चाहिन्छ।

दुई सिजनअघि मछिन्द्र च्याम्पियन बन्दा पनि आर्मीले लिग खेल्नुको कारण त्यही थियो। दोस्रो स्थानको आर्मीसँग लाइसेन्स थियो। शीर्षस्थानको मछिन्द्रसँग लाइसेन्स थिएन। अहिले ठ्याक्कै उस्तै भएको छ। दोस्रो स्थानको मछिन्द्रसँग लाइसेन्स छ, शीर्षस्थानको चर्च ब्वाइजसँग छैन। यसपाला जम्मा तीनवटा क्लबसँग लाइसेन्स छ। मछिन्द्र, आर्मी र एपीएफ। त्यसमा मछिन्द्र सबैभन्दा शीर्षस्थानमा छ। एएफसीले लाइसेन्स भएका क्लबमध्ये शीर्ष टोलीलाई छनोट खेलमा भिड्ने मौका दिन्छ।