काठमाडौं। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान बमोजिम कानुन नबनेकोमा असन्तुष्टि जनाएका छन्। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सोमबार सिटौलाले असन्तुष्टि जनाएका हुन्। ‘संविधानबारे एक कार्यकालको उपलब्धिबाट जनता सन्तुष्ट छैनन्,’ सिटौलाले भने।
केन्द्रीय समितिमा यसबारे कुनै प्रस्ताव नआएको उल्लेख गर्दै उनले यसबारे केन्द्रीय समितिबाट प्रतिबद्धता आउनुपर्ने सुझावसमेत दिए। ‘राजनीतिक कमिटमेन्ट आउन आवश्यक छ। संविधान बमोजिम कानुन बनाउन सकेका छैनन्,’ उनले भने, ‘यो संसदले ल्याउन सकोस्।’
केन्द्रीय समितिमा देश र जनताको समसमायिक विषयमा छलफल हुन नसकेकोमासमेत सिटौलाले असन्तुष्टि पोखे। अहिले देश किसानको देशबाट श्रमिकको देशमा फेरिसकिएको उल्लेख गर्दै कांग्रेसले श्रमिकलाई सम्बोधन गर्नुपर्ने माग राखे।
‘नेपाल किसानको देशबाट श्रमिकको देशमा परिवर्तन भइसकेको छ। झन्डै आधा नेपाल श्रमिकका रुपमा बाहिरिएको छ। देश बाहिर र भित्र रहेको श्रमिकको विषयमा सम्बोधन गर्नुपर्छ,’ सिटौलाले भने, ‘श्रमिकको ज्याला बढाउने विषयमा कांग्रेसले कुरा उठाउन सक्नुपर्छ।’