BIZMANDU
www.bizmandu.com

सार्वजनिक ऋण बढेको बढ्यै, पुग्यो सवा २२ खर्ब, एक नेपालीको थाप्लोमा ७६ हजार

२०८० साउन ८

सार्वजनिक ऋण बढेको बढ्यै, पुग्यो सवा २२ खर्ब, एक नेपालीको थाप्लोमा ७६ हजार
Tribhuvan International Airport, plane, airlines photos by Prabin Ranabhat


काठमाडौं। नेपालको सार्वजनिक ऋणको आकार बढेर सवा २२ खर्ब पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७९/८० को अन्तसम्म सरकारी ऋणको आकार २२ खर्ब २१ अर्ब ६७ करोड पुगेको हो। यो भनेको प्रतिनेपाली ७६ हजार एक सय ७७ रुपैयाँ हो।

Tata
GBIME
NLIC

सरकारले तिर्न बाँकी ऋणमध्ये ११ खर्ब २८ अर्ब ३२ करोड आन्तरिक र १० खर्ब ९३ अर्ब ३४ करोड बाह्य ऋण हो। गत आर्थिक वर्ष मात्र २ खर्ब ८ अर्ब ३८ करोड रुपैयाँ ऋण थपिएको छ। १ खर्ब ४० अर्ब ८७ करोड ९९ लाख आन्तरिक र ६७ अर्ब ५० करोड बाह्य ऋण थपिएको कार्यालयले जनाएको छ।

गत आर्थिक वर्ष सार्वजनिक ऋणको साँवा ब्याज भुक्तानीमा सरकारले २ खर्ब २२ अर्ब ७४ करोड २१ लाख रुपैयाँ खर्च गरेको छ । यो रकम पुँजीगत खर्च बराबर हो। गत वर्ष पुँजीगततर्फ २ खर्ब ३३ अर्ब ६९ करोड खर्च भएको थियो। आन्तरिक ऋणको साँवा–ब्याज भुक्तानीमा १ खर्ब ७९ अर्ब ७२ करोड र बाह्य ऋणको साँवा ब्याज भुक्तानीमा ४३ अर्ब १ करोड खर्च भएको कार्यालयले जनाएको छ। गत वर्ष ७२ अर्ब ८९ करोड रुपैयाँ ब्याजमा मात्र खर्च भएको छ।

जीडीपी–ऋण अनुपात ४५.८० प्रतिशत    
    
 अहिले नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ४८ खर्ब ५१ अर्ब ६२ करोड पुगेको छ। जीडीपीको आकारलाई आधार मान्दा सार्वजनिक ऋणको अनुपात ४५. ८० प्रतिशत पुगेको छ। जीडीपीमा सार्वजनिक ऋणको अनुपात बढ्दै जानुलाई जोखिमपूर्ण मानिन्छ।

एक दशकमा चार गुणाले वृद्धि

सार्वजिनक ऋण एक दशकमा चार गुणाले बढेको छ। आर्थिक वर्ष २०७०/७१ मा नेपालको सार्वजनिक ऋण ५ खर्ब ५३ अर्ब ५० करोड थियो। त्यो वर्ष जीडीपीमा सार्वजनिक ऋणको अनुपात २८.५१ प्रतिशत थियो। पछिल्लो ५ वर्षमै ऋण दोब्बरभन्दा बढीले बढेको छ। आर्थिक वर्ष २०७३/७४ मा सार्वजनिक ऋणको आकार ६ खर्ब ९७ अर्ब ६८ करोड थियो। सरकारले भने यो वर्ष ४ खर्ब ५२ करोड ऋण उठाउने लक्ष्य दिएको छ। रासस