BIZMANDU
www.bizmandu.com

केन्द्रीय समितिमा शेखरको १५ बुँदा : समाजवादी मोर्चामाथि प्रश्न, साना दलको घेरामा कांग्रेस

२०८० साउन ७

केन्द्रीय समितिमा शेखरको १५ बुँदा : समाजवादी मोर्चामाथि प्रश्न, साना दलको घेरामा कांग्रेस
केन्द्रीय समितिमा शेखरको १५ बुँदा : समाजवादी मोर्चामाथि प्रश्न, साना दलको घेरामा कांग्रेस


काठमाडौं। कांग्रेस संस्थापनइतरका नेता डा शेखर कोइरालाले सत्तारुढ दलभित्र अर्को मोर्चा बनेकोबारे प्रश्न गरेका छन्।

Tata
GBIME

आइतबारको केन्द्रीय समितिमा डा शेखरले १५ बुँदे धारणा राख्दै समाजवादी मोर्चाबारे प्रश्न राखेका हुन्।

‘समाजवादी मोर्चा किन बनेको हो? गठबन्धनभित्रैबाट बनेको यसको औचित्य के हो?’ डा शेखरले प्रश्न गरे।

यसैगरी, उनले कांग्रेस यतिबेला चौतर्फी विरोधी विचारहरुबाट आक्रमणमा परेको र साना दलबाट चुनौतीको घेरामा परेको तर्क पेश गरे।

‘संसद्‍मा कांग्रेस पार्टीभित्र अपेक्षित उर्जा प्रस्फुटन हुन किन नसकिरहेको होला भन्ने प्रश्न हाम्रो सामु छ। मलाई यो भनिरहँदा कुनै संकोच छैन की हाम्रो पार्टी यतिखेर चौतर्फी विरोधी विचारहरुबाट मात्र आक्रमणमा परिरहेको छैन, राष्ट्रिय र क्षेत्रीय रुपमा उदाएका नयाँ पार्टीहरुवाट पनि चुनौतिको घेरामा छ,’ डा शेखरले भने।

नेता डा शेखर कोइरालाले केन्द्रीय कार्यसमितिमा प्रस्तुत १५ बुँदा

आदरणीय सभापतिज्यू,

पदाधिकारीज्यूहरु र उपस्थित केन्द्री सदस्यहरु,

आज हामी झण्डै १ वर्षपछि यहाँ भेला भएका छौँ। कैयन साथीहरुलाई विधान विपरीत यसरी १ वर्ष पछि भेला हुने अवस्था किन र कसरी उत्पन्न भयो होला भन्ने जिज्ञाशा हुनसक्छ। यसको जवाफ सभापति र पदाधिकारी साथीहरुबाट आउने नै छ भन्ने विश्वास गरौँ।

१. बैठक लाइभसम्बन्धी-

अहिलेको विश्व लोकरिझ्याईमा चलेको छ। सायद त्यसैको सिको हामी पनि गर्दैछौँ। केन्द्रीय समितिको बैठक लाइभ गर्नु त राम्रै हो र हाम्रा लागि नयाँ प्रयोग पनि हो। यसले पारदर्शितालाई प्रवर्द्धन त गरेको छ तर यो सुरु गर्दा कार्यविधि तय गरेर गरेको भए राम्रो हुने थियो जस्तो लाग्छ। कुन विषय बन्द कोठामा गर्ने र कुन विषय खुल्ला गर्ने भन्ने कुराको परिधी तय गरिनुपर्थ्यो। मलाई लाग्छ परराष्ट्र, समसामयिक विषयहरु, अन्तरदलिय विषय, निर्वाचन रणनीति आदि कुराको स्पष्ट गाइडलाइन बनाऔँ।

२. महामन्त्रीको सांगठानिक कार्यतालिका-

महामन्त्रीले प्रस्तुत गर्नु भएको पार्टीको सांगठानिक कार्यतालिका समग्रमा राम्रै छ। कांग्रेस मासबेस पार्टी भनिन्छ तर सांगठानिक कार्यक्रम क्याडरबेसमा आधारित देखिन्छ। केन्द्रले जिल्लालगायत तल्लो तहमा कार्यक्रम गर्दा प्रदेश समितिसँग समन्वय र जानकारी गराउनुपर्ने प्रावधान थपिनुपर्छ। किनकी यसले संघीयताप्रति हामी प्रतिबद्ध छौँ भन्ने कुरा उजागर गर्छ। अर्कोतर्फ अन्य महत्वपूर्ण नेताहरुको स्मृति दिवस छुटेको छ, ती पनि समावेश गरिनुपर्छ।

३. गठबन्धनबारे

कांग्रेसले गठबन्धन गरेर ठिक वा बेठिक गर्‍यो भनी अब बस्ने समय छैन, आगामी निर्वाचनहरु कांग्रेसले एक्लै लड्ने तयारी आजबाटै गर्नेछौँ भनी शपथ खानु पर्नेछ। किनकी गत निर्वाचनबाट हामीले प्राप्त गरेको पपुलर मत विभाजित कम्युनिष्ट पार्टीभन्दा पनि कम छ।

गएको आम निर्वाचनमा गठबन्धन गरेर कांग्रेस संसद् भित्र ठूलो दल भएको छ। ठूलो दलको हैसियतले सरकारको नेतृत्व गर्न हामीलाई प्राविधिक कारणले सम्भव भएन तर पनि अहिले हाम्रो समर्थनको संघीय सरकार छ र प्रदेश सरकारमा पनी हामी छौँ। संसद्‍मा कांग्रेस पार्टीभित्र अपेक्षित उर्जा प्रस्फुटन हुन किन नसकिरहेको होला भन्ने प्रश्न हाम्रो सामु छ। मलाई यो भनिरहँदा कुनै संकोच छैन कि हाम्रो पार्टी यतिखेर चौतर्फी विरोधी विचारहरुबाट मात्र आक्रमणमा परिरहेको छैन, राष्ट्रिय र क्षेत्रीय रुपमा उदाएका नयाँ पार्टीहरुवाट पनि चुनौतीको घेरामा छ।

४. सरकारको कामकाज-

सरकारको कामकाज समीक्षा र प्रभावकारिताबारे अहिले भनिहाल्नुपर्ने समय भएको छैन तर गठबन्धनको मर्मअनुसार सरकार सञ्चालन भएको छ कि छैन वा मन्त्रीहरुले स्वतः स्फुर्त काम गर्न पाएका छन् कि छैनन् भन्ने विषयमा भने सोच्नु पर्ने समय आएको छ।

स्थानीय सरकारदेखि प्रदेश हुँदै केन्द्र सरकारसम्म सहभागी कांग्रेस प्रतिनिधिहरुबाट जन अपेक्षा अत्यन्त बढी छ र त्यसअनुरुप हामीले जनतालाई चित्त बुझाएर काम गर्न नसक्दा हाम्रो पार्टीको भविष्य मात्र अन्धकार हुने होइन नेपालको लोकतन्त्र पनि कमजोर र दिशाहिन हुन जाने तर्फ साथीहरु सचेत हुनुहुनेछ। महँगी र कालाबजारीले जनता आक्रान्त छन्। जनजीविकाको सवालमा जनताले सरकार भएको अनुभूति गर्न सकेका छैनन्। यसप्रति हामी र पार्टीबाट मन्त्री बनेकाहरुले गम्भीर हुनै पर्छ। कांग्रेस सरकारमा छ भन्ने अनुभूति जनतालाई दिलाउने तर्फ साथीहरु सचेत हुनुहोला।

५. दण्डहिनता-

राज्यका जिम्मेवार निकायहरुकै कारण देशमा पछिल्ला दिनहरुमा दण्डहिनता बढेर गएको छ। नीतिगतरुपमै कानुन बनाएर दण्डहिनतालाई प्रश्रय दिने काम भईरहेको छ। हाल संसद्‍मा रहेको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक-२०८०’ तत्काल खारेज गरिनुपर्छ। यदि यो विधेयक संसद्‍बाट पारित भए देशमा दण्डहिनताले सँस्थागत रुप लिन्छ। जनता दण्डहिनताको अन्त्य गर्न कांग्रेसले नेतृत्वदायी भूमिका खेलोस भन्ने चाहना राख्छन्।

६. अन्य राजनीतिक दलसम्बन्धी-

समाजवादी मोर्चा किन बनेको हो? गठबन्धन भित्रैबाट बनेको यसको औचित्य के हो?

७. भ्रष्टाचार र सुशासन-

भ्रष्टाचार र सुशासन दुई विपरीत दिशामा हिड्छन। कांग्रेसले सुशासनको नारा दिने मात्र होइन, भ्रष्टाचार र भ्रष्टाचारीलाई संरक्षण किमार्थ गर्दैन भन्ने विश्वासको वातावरण निर्माण नगरी जनताको घरदैलोमा भोट माग्न जान अब सम्भव छैन।

८. भुटानी शरणार्थी प्रकरण-

भुटानी शरणार्थी प्रकरण अत्यन्तै संवेदनशिल र पेचिलो विषय हो। यस विषयमा केबल भावनामा बगेर र हलुका टिप्पणी गरेर पन्छन सक्ने अवस्था छैन। यो प्रकरणले अन्तराष्ट्रिय तहमै नेपालको छवि धमिलिएको छ। यसमा हामी सचेत र गम्भीर बन्नुपर्ने आवश्यकता छ। यस विषयमा यो केन्द्रीय समितिले पारदर्शिता र सुशासनका पक्षमा उभिन सक्ने नैतिक बल दिनेछ भन्ने विश्वास लिएको छु।

९. निर्वाचन प्रणाली-

प्रत्यक्ष निर्वाचन प्रणाली भित्रबाटै समानुपातिक र समावेशीको सुनिश्चितता गरिनुपर्छ र त्यसको पहल नेपाली कांग्रेसले गर्नुपर्छ।

१०. विदेशमा बस्ने नेपालीहरुको मताधिकार-

विदेशमा बस्ने नेपालीहरुलाई समानुपातिक प्रणालीमा मताधिकार दिने भनेर निर्वाचन आयोगले भनेको छ। यससम्बन्धी कानुन बनाएर कार्यान्वयनका लागि कांग्रेस पार्टीले जोड दिनुपर्ने आवश्यकता छ।

११. बदलिदो भूराजनीति-

बदलिदो भूराजनीतिलाई मध्यनजर गर्दै नेपालको अन्तर्राष्ट्रिय कूटनीतिमा देखिएको असंगती र अस्थिरतालाई देशको जिम्मेवार र ठूलो पार्टीको नाताले एकपटक गम्भीरतापूर्वक सोचौँ, हामी अन्तर्राष्ट्रिय राजनीतिको क्रिडास्थल नबनौँ।

१२. पार्टीमा एकताबद्ध हुन आह्वान-

विभिन्न कारणले कांग्रेसको मूलधारबाट अलग्गिएका र छेउ किनारामा पुगेका कांग्रेसजनलाई सम्मानजनकरुपमा घर फर्कने बाटो खोलिनुपर्छ। कांग्रेस पार्टीले व्यक्तिको राजनीतिक सुरक्षा र राष्ट्र निर्माणमा समान अवसर सबैलाई दिन्छ भन्ने सन्देश प्रवाह गर्नसके हामीसँग अनेकन् कारणले असन्तुष्ट भएकालाई फेरी मुलधारमा ल्याउन सकिन्छ। तसर्थ यसअघि जुनसुकै कारणले कांग्रेसबाट अलग्गिएका साथीहरुलाई पार्टीमा पुनः एकताबद्ध हुन आह्वान गरौँ।

सभापतिज्यू,

१३. जनतासँग जोडौँ-

सत्तालाई मात्र अन्तिम सत्य मान्दा राजनीतिक मूल्य, मान्यता, सिद्धान्त र आदर्श कमजोर बन्दै गएको छ। हामी जनतासँग टाढिएका छौँ। जनता र हामीबीचको खाडल पुर्नुपर्ने अहिलेको पहिलो आवश्यकता हो। लोककल्याणकारी राज्य निर्माणमा हामी चुकेका छौँ। जसका कारण पार्टीमा नैतिक र साँस्कृतिक विचलन आएको छ। यसलाई क्रमशः न्यून गर्दै पार्टीको नैतिक पक्षलाई पूर्नस्थापित गरेर विपी कोइरालालगायत हाम्रा अग्रजहरुको सोचको कांग्रेस फेरी निर्माण गर्नुछ। जनताले पत्याउने र भरोसा गर्ने कांग्रेस निर्माण गर्ने कार्य अब पनि ढिलो गर्दा हामी असान्दर्भिक हुने खतरा बढ्दो छ।

तसर्थ नेपाली समाजको बदलिदो आर्थिक, सामाजिक र साँस्कृतिक आलोकमा पार्टीभित्र अनेकन् पेशा, व्यवसाय, वर्ग र समुदायको सहभागिता अनिवार्य नै भएको छ। पार्टीलाई देशभित्र र बाहिरका श्रमिक, विज्ञ, विशेषज्ञ, पूर्व प्रशासक र समाजका प्रतिष्ठित व्यक्तिहरुसँग नजोडी पुरानो शैलीमा मात्र पार्टी सञ्चालन गर्ने समय अब रहेन। त्यसकारण पार्टीका विभिन्न तहमा निश्चित प्रतिशत तय गरी यस्ता व्यक्तिवाट पार्टीले लाभ लिने व्यवस्था गरौँ। 

सभापतिज्यू,

१४. विधानअनुसार चलौँ-

हाम्रो राजनीतिक भविष्य मात्र होइन देशको लोकतन्त्रको भविष्य पनि हाम्रो चरित्र र कार्यशैलीद्वारा निर्देशित हुन्छ। हामी सबै एउटा खेलको नियममा बाँधिएका छौँ र बाँधिनु पर्छ। जसरी देश संविधानबाट चल्छ त्यसैगरी कांग्रेस पनि पार्टी विधानबाट अगाडि बढाउने परम्परा बसालौँ। हाम्रा भातृ र शुभेच्छुक संस्थाहरुलाई पनि विधान अनुरुप अगाडि बढाउने काम गरौँ। विधानले सबैले गर्ने काम तोकेको छ। हामी कतिले के-के गर्‍यौँ, मनन गरौँ। लामो समयपछि बसेको केन्द्रीय समितिको बैठक आरोप प्रत्यारोप र कुण्ठा पोख्ने थलो मात्र बनेको देखियो। यो राम्रो लक्षण हैन। यसले हामी हाम्रो लक्ष्य र गन्तव्यमा पुग्न सक्दैनौँ।

१५. महासमिति बैठक –

१४औँ महाधिवेशनले नेतृत्व चयन मात्र गर्‍यो। कुनै पनि पार्टी उसको नीति, सिद्धान्त र कार्ययोजनाले मात्रै जीवन्त रहन्छ। नेपाली कांग्रेस विचारले भरिएको पार्टी हो तर १४औँ महाधिवेशन पछाडि यसले आफ्नो राजनीति दस्तावेज ल्याएको छैन। अहिले पार्टीमा विचारको खडेरी छ। त्यसकारण विधानअनुसार अविलम्ब महासमितिको बैठक बोलाई नीति तथा कार्यक्रम ल्याउनेतर्फ जानु पर्छ।

अन्तमा,

पार्टी सुधारको कुरा कसैलाई सुनाउन वा देखाउनलाई होइन। पार्टीलाई जीवन्त र समय सापेक्ष राख्न हो। सस्तो लोकप्रियता र लहडले संगठन चल्दैन। परिपक्व र जिम्मेवार बनौँ। दुरदराजका जनताको आवाज सुनौँ। केवल शब्द रटानमा मात्रै होइन, व्यवहारिकरुपमै आफूलाई परिवर्तन गरौँ। विधानले व्यवस्था गरे अनुसार बसौँ र छलफल गरौँ। कांग्रेसलाई बहस, चिन्तन र विचारको नयाँ युगमा प्रवेश गराऔँ। कांग्रेस रुपान्तरण भनेकै यही हो।