BIZMANDU
www.bizmandu.com

फर्स्ट होम बायरलाई राष्ट्र बैंकको प्रिभिलेज, २ करोडसम्म ऋण, ‘सर्कुलरले के बोल्छ हेर्छौं’

२०८० साउन ७

फर्स्ट होम बायरलाई राष्ट्र बैंकको प्रिभिलेज, २ करोडसम्म ऋण, ‘सर्कुलरले के बोल्छ हेर्छौं’
फर्स्ट होम बायरलाई राष्ट्र बैंकको प्रिभिलेज, २ करोडसम्म ऋण, ‘सर्कुलरले के बोल्छ हेर्छौं’

काठमाडौं। नेपाल राष्ट्र बैंकले पहिलो आवासीय घर किन्नेलाई २ करोड रुपैयाँसम्म ऋण दिने भएको छ। राष्ट्र बैंकले चालु आव २०८०/८१ को मौद्रिक नीति आइतबार सार्वजनिक गर्दै ‘फर्स्ट होम बायर’लाई ऋणमा सहजीकरण गर्ने नीति लिएको हो। लामो समयदेखि घरजग्गा व्यवसायीले पहिलो आवासीय घर खरिद गर्नेलाई ऋणमा सरलीकरण गर्नुपर्ने माग गर्दै आएका थिए।

Tata
GBIME

यस्तै, राष्ट्र बैंकले रियल इस्टेट कर्जामा कायम विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने भएको छ। अहिले घरजग्गामा जाने कर्जामा जोखिम भार १५० प्रतिशत छ। राष्ट्र बैंकले केही दिनमा जारी गर्ने सर्कुलरले कति प्रतिशत पुनरावलोकन हुन्छ भन्ने यकिन हुनेछ। घरजग्गा व्यवसायीहरुले घरजग्गा कर्जामा जोखिम भार १०० प्रतिशत वा सोभन्दा कम कायम गर्नुपर्ने माग गर्दै आएका छन्।

मौद्रिक नीतिले घरजग्गाको विषयमा फर्स्ट होम बायरलाई ऋणको सीमा र जोखिम भार पुनरावलोकन गर्ने विषय बोलेको भए पनि राष्ट्र बैंकले सार्वजनिक गर्ने सर्कुलर अझ महत्त्वपूर्ण हुने नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले बताए। फर्स्ट होम बायरलाई राष्ट्र बैंकले कर्जाको सीमा बढाउनु निकै महत्त्वपूर्ण भएको भन्दै आफूहरुले लामो समयदेखि उठाउँदै आएको विषय समेटिएको प्रतिक्रिया उनले दिए।

‘हामीले उठाउँदै आएको अर्को विषय भनेको लोन टु भ्यालु रेसियो हो। यो पक्कै सर्कुलरले बोल्छ होला। फर्स्ट होम बायरहरुलाई त हामीले उसले तिर्ने करमा समेत केही छुट दिनुपर्छ भनेर भन्दै आएका छौं। ऋणमा २ प्रतिशत प्रिमियम मात्र लिन पाउने नीतिले केही सहजता थपेको छ,’ लोहनीले भने।