सांघाई। चीन-अमेरिका सम्बन्ध अहिले कठिन मोडमा छ। दुई देशबीच चलिरहेको व्यापार युद्धको कारण दुई देशबीचको सम्बन्ध तल्लो तहमा खस्किएको छ। यद्यपि, दुवै देशले यसलाई सामान्य अवस्थामा फर्काउन प्रयासहरु गरिरहेका छन्।
तर एकातिर संवादलाई अगाडि बढाइरहेका उनीहरुले अर्कोतिर वाकयुद्ध रोकेका छैनन्। अर्कोतर्फ, उच्च अधिकारी निरन्तर बेइजिङको भ्रमणमा छन्।
पछिल्ला महिनामा निरन्तर रुपमा अमेरिकी अधिकारीहरुले बेइजिङको भ्रमण गरेका छन्। यसबीच बाइडेन प्रशासनका दूई प्रभावशाली मन्त्रीले बेइजिङको भ्रमण गरेका छन्। यसै साता मात्र वासिङटनबाट राष्ट्रपति बाइडेनका जलवायु दूत जोन केरीले पनि बेइजिङको भ्रमण गरेर फर्किएका छन्।
व्यापार युद्धको अवस्थामा पनि दुई देश जलवायु परिवर्तनलगायतका विश्वव्यापी मुद्दामा मिलेर काम गर्ने कुरामा एकमत छन्। हालै मात्र बेइजिङको भ्रमण गरेर फर्किएकी अमेरिकी अर्थमन्त्री जेनेट येलेनले पनि दुई देशबीच जलवायु परिवर्तनका मुद्दामा मिलेर काम गर्नुपर्ने र चीनले विकसित देशको हैसियतमा विकासशील देशहरुलाई सहयोग गर्नुपर्ने बताएकी थिइन्।
अमेरिकी जलवायु विशेष दूत जोन केरीको बेइजिङ भ्रमणका क्रममा जलवायु परिवर्तनको संयुक्त चुनौतीको सामान गर्न संवाद र सञ्चार बढाउने आशा व्यक्त गरिएको छ। यद्यपि, चिनियाँ अधिकारी तथा विज्ञहरु भने निसर्त संवादमा जान नसकिने बताउँदै प्रतिक्रिया दिएका छन्।
जलवायुसम्बन्धी सहकार्यमा जलवायुको मुद्दा मात्र नभई आपूर्ति शृंखला र नयाँ ऊर्जा तथा हरित रूपान्तरणसँग सम्बन्धित प्रविधिहरू पनि समावेश हुने भएकाले समग्र चीन-अमेरिका सम्बन्ध सकारात्मक दिशामा अघि बढेमा र अमेरिकाले चीनको उद्योग र प्राविधिक नियन्त्रण लाई रोकेपछि मात्र जलवायु सहयोगलाई अगाडि बढाउन सकिने उनीहरुको भनाइ छ।
प्रधानमन्त्री ली कियाङले मंगलबार केरीसँगको भेटमा चीन-अमेरिका सम्बन्धलाई स्वस्थ र स्थिर विकास ट्रयाकमा शीघ्र फर्काउनुपर्ने बताए। जलवायु परिवर्तनलाई सम्बोधन गर्ने वर्तमान विश्वव्यापी कार्य चुनौतीपूर्ण रहेको र यसका लागि चीन र अमेरिकालगायत सबै देशले समन्वयलाई मजबुत बनाउन, सहमति निर्माण गर्न र सम्भव भएसम्म जलवायु परिवर्तनको सामूहिक प्रतिक्रिया निर्माण गर्न सशक्त कदम चाल्न आवश्यक रहेको उनले बताए।
त्यस्तै चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको विदेश मामिला आयोगका निर्देशक वाङ यीले केरीसँगको वार्तामा पारस्परिक लाभप्रद सहयोगको खोजी गर्न र जलवायु परिवर्तनलाई संयुक्त रूपमा सम्बोधन गर्न चीन अमेरिकासँग संवादलाई मजबुत बनाउन इच्छुक रहेको बताए। तर, उनले दुई देशका जनताको समझदारी र समर्थन तथा चीन-अमेरिका सम्बन्धको सामान्य वातावरणबिना यो लक्ष्य हासिल हुन नसक्ने बताए।
सांघाईस्थित फुदान विश्वविद्यालयको सेन्टर फर अमेरिकन स्टडिजका निर्देशक वु सिनबोले जलवायु सहकार्यमा अमेरिका इमान्दारीपूर्वक प्रस्तुत हुनुपर्ने बताए। दुई देशबीच जलवायु परिवर्तनसम्बन्धी मुद्दामा हुँदै आएको सहकार्य २०२२ को अगस्टमा अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि स्थगित भएको थियो।
‘यो एक मुद्दाले चीन-अमेरिका सम्बन्ध सुधार गर्न सकारात्मक भूमिका खेल्न सक्छ। यो एक क्षेत्र हो जुन चीन र अमेरिकाले सँगै काम गर्न सक्दछन् र पूर्ण रूपमा विपरीत छैनन्। चीनप्रति नकारात्मक रहेका धेरै डेमोक्र्याट सांसदहरू पनि जलवायु सहयोगको समर्थन गर्छन्,’ वुले भने।
जलवायु परिवर्तनका लागि चीनका विशेष दूत सी झेनहुआले सोमबार मात्र अमेरिकी दूत केरीसँग करिब १२ घण्टा लामो वार्ता गरेका थिए। यो लामो संवादले दुई देशबीचको संवादमा आएको जटिलतालाई संकेत गर्छ।
वास्तवमा जलवायु परिवर्तन सहयोगको वातावरण चीन-अमेरिका सम्बन्धमा निर्भर गर्दछ। जलवायु परिवर्तनको मुद्दामा ग्रिन इनर्जीसहितको विकास, विद्युतीय गाडीको उत्पादन लगायतका विषय जोडिन्छन्।
चिनियाँ अधिकारीले अमेरिकाले चीनमाथि लगाएको चिप्स प्रतिबन्धले यसमा असर गर्ने बताएका छन्। बाइडेन प्रशासनले चीनमा लगानी सीमित गर्ने गरी निर्देशन जारी गरेका छन्। यसमा अत्याधुनिक प्रविधि, नयाँ लगानीमा केन्द्रित हुनेछ।
प्रतिबन्धले चीनको सेमीकन्डक्टर, क्वान्टम कम्प्युटिङ र आर्टिफिसियल इन्टेलिजेन्स क्षेत्रमा लगानी गर्न लगाम लागेको छ भने बायोटेक्नोलोजी र ऊर्जा क्षेत्रमा लगानी गर्न रोक छ। यसले जलवायु परिवर्तनको लडाइँमा असर पर्ने चीनले दाबी गरेको छ।
‘विश्व असामान्य परिवर्तनहरूबाट गुज्रिरहेको अवस्थामा चीन र अमेरिका फेरि एकपटक दोबाटोमा आइपुगेका छन्, जसका लागि यहाँबाट कहाँ जाने भन्ने विषयमा दुवै पक्षले अर्को निर्णय गर्न आवश्यक छ,’ बिहीबार भएको भेटमा चिनियाँ राष्ट्रपति सीले भनेका छन्।
अमेरिकी जलवायु दूत केरीले आफ्नो भ्रमण टुंग्याएर फर्किँदै गर्दा अमेरिकाबाट अर्का विशेष व्यक्ति बेइजिङ उत्रिए। चीनका ‘पुराना मित्र’, अमेरिकी पूर्व विदेशमन्त्री हेनरी किसिन्जर। हालै मात्र सयौँ जन्मोत्सव मनाएका शताब्दी पुरुष किसिन्जर बेइजिङमा अवतरण गरेसँगै उच्चस्तरीय भेटवार्तामा व्यस्त भए।
उनले चिनियाँ राष्ट्रपति सी चिनफिङदेखि प्रधानमन्त्री, बेइजिङका उच्च कुटनीतिज्ञ वाङ यीसम्मलाई भेट गरेका छन्। यी भेटमा दुई देशबीचको सम्बन्धलाई लयमा फर्काउने विषयमा चर्चा भएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन्।
बिहीबार भएको भेटका क्रममा राष्ट्रपति सीले किसिन्जरलाई ‘पुरानो मित्र’का रूपमा प्रशंसा गर्दै चीन-अमेरिका सम्बन्धलाई प्रवर्द्धन गर्न पुर्याएको ऐतिहासिक योगदानलाई चिनियाँ जनताले कहिल्यै बिर्सन नसक्ने बताएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।
राष्ट्रपति सीले किसिन्जरले हालै आफ्नो १००औँ जन्मदिन मनाएको र विगतका वर्षहरूमा १०० भन्दा बढी पटक चीन भ्रमण गरेको बताउँदै यी दुई १०० ले यो भ्रमणलाई विशेष महत्व दिएको बताए। उनले चिनियाँ जनताले मित्रतालाई महत्व दिने, आफ्नो पुरानो मित्रलाई कहिल्यै नबिर्सने समेत बताए।
सी र किसिन्जरबीच डियाओयुताई स्टेट गेस्टहाउसको भिल्ला फाइभमा भेटवार्ता भएको थियो। यो त्यही गेस्ट हाउस हो जहाँ किसिन्जरले पाँच दशक अगाडि चिनियाँ नेताहरुसँग पहिलोपटक भेट गरेका थिए।
शीतयुद्धको क्रममा कम्युनिस्ट परास्त गर्ने अभियानमा रहेको अमेरिकाको चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व रहेको चीनसँग सम्बन्ध थिएन। च्याङ काइ सेक नेतृत्वमा शासन गरिरहेको ताइवानलाई अमेरिकाले चीनको मान्यता दिएको थियो।
सोही अनुरुप राष्ट्र संघको सुरक्षा परिषद्मा पनि ताइवान प्रतिनिधि थियो। चीन सदस्य समेत थिएन।
अर्कोतिर कोरियाली युद्धका क्रममा चिनियाँ सेनाहरु उत्तर कोरियाको साथमा रहेर दक्षिण कोरियाविरुद्ध लडेका थिए। जहाँ अमेरिकी सेना दक्षिण कोरियाको साथमा उत्तरविरुद्ध लडिरहेको थियो।
त्यस्तै, भियतनाम युद्धका क्रममा अमेरिकी सेनाविरुद्ध लडिरहेका भियतकोङलाई चीनले सहयोग गर्दै आएको थियो।
यस्तो जटिल अवस्थामा सन् १९७१ को जुलाइमा किसिन्जर गोप्य रुपमा पाकिस्तान हुँदै बेइजिङ पुगेका थिए। यही भ्रमण दुई देशबीचको सम्बन्ध स्थापनाको सुत्रधार बन्यो।
चीन-अमेरिकाबीचको शत्रुतापूर्ण सम्बन्धलाई मित्रतामा परिणत गर्न सन् १९७१ को किसिन्जरको भ्रमणले भूमिका खेल्यो। अध्यक्ष माओत्सेतुङ र प्रधानमन्त्री चाउ एनलाई तथा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सन र किसिन्जरले आफ्नो असाधारण रणनीतिक दृष्टिकोणका साथ चीन-अमेरिका सहकार्यको ढोका खोले।
अहिले चीन तीन परिपत्र (थ्री कम्युनिके)को कुरा गरिरहन्छ। यी सहमतिपत्रहरु त्यही बेला गरिएका हुन्। जसले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना गर्नुका साथै ताइवानलाई चीनको हिस्साको रुपमा मान्यता दिँदै बेइजिङले राष्ट्र संघको सुरक्षा परिषद्को स्थायी सदस्यको रुपमा स्थान पायो।
‘विश्व असामान्य परिवर्तनहरूबाट गुज्रिरहेको अवस्थामा चीन र अमेरिका फेरि एकपटक दोबाटोमा आइपुगेका छन्, जसका लागि यहाँबाट कहाँ जाने भन्ने विषयमा दुवै पक्षले अर्को निर्णय गर्न आवश्यक छ,’ बिहीबार भएको भेटमा चिनियाँ राष्ट्रपति सीले भनेका छन्।
भेटका क्रममा किसिन्जरले दुई देश र विश्वको शान्ति र समृद्धिका लागि अमेरिका-चीन सम्बन्ध आवश्यक रहेको बताए। वर्तमान परिस्थितिमा सांघाई कम्युनिकेसनले स्थापित गरेका सिद्धान्तलाई कायम राख्नु, चीनले एक चीन सिद्धान्तलाई दिएको उच्च महत्वको कदर गर्नु र सम्बन्धलाई सकारात्मक दिशामा अघि बढाउनु अपरिहार्य रहेको चिनियाँ नेताहरुले बताएका छन्।
शक्ति सन्तुलनको अवधारणाबारे गहिरो बुझाइ राख्ने शताब्दी पुरुष पूर्व अमेरिकी विदेशमन्त्रीजस्ता प्रभावशाली व्यक्तित्वहरूको कूटनीतिक बुद्धिमत्तालाई विश्वले सुन्नु आवश्यक छ।
पछिल्लो समय दुई देशबीच व्यापार संवादसहितका अन्य कूटनीतिक मामिलामा संवाद अगाडि बढे पनि रक्षा संवाद भने हुन सकेको छैन। यसै वर्ष मार्चमा चिनियाँ ‘सेतो बेलुन’ अमेरिकी आकाशमा देखिएपछि बढेको रक्षा टकराव मत्थर भएको छैन।
अमेरिकाले चिनियाँ बेलुनलाई जासुसी बेलुनको संज्ञा दिँदै आएको छ। अर्कोतर्फ चीनले वातावरणीय अनुसन्धानका लागि उडाइएको मानवरहित विमान भन्दै आएको छ।
अमेरिकी वायु सेनाले चीनको उक्त बेलुनलाई खसालेको थियो। त्यसपछि दुई देशबीच सैन्य मनमुटावको अवस्था छ। अमेरिकाले चीनसँग रक्षा संवाद गर्न चाहे पनि चीन त्यसका लागि तयार देखिँदैन।
गत महिना सिंगापुरमा सम्पन्न सांग्रिला डायलगका क्रममा दुई देशका रक्षामन्त्रीबीच साइडलाइनमा भेटवार्ता हुने अपेक्षा गरिएको थियो। तर, चिनियाँ रक्षामन्त्री ली शाङफु त्यसका लागि तयार भएनन्।
रक्षामन्त्री ली अमेरिकी प्रतिबन्धको सूचीमा छन्। अमेरिकी रक्षामन्त्री ल्योइड अस्टिन भेटवार्ताका लागि तयार हुँदा चीन सकरात्मक देखिएको थिएन।
तर उनै चिनियाँ रक्षामन्त्री लीले अमेरिकी पूर्व विदेशमन्त्री किसिन्जरसँग भने बेइजिङमा भेटवार्ता गरेका छन्। भेटका क्रममा दुवै पक्षले विश्व शान्ति र स्थायित्वको रक्षा गर्दै द्विपक्षीय सम्बन्धको विकासका लागि सकारात्मक परिणाम हासिल गर्न सञ्चार र सहयोग अभिवृद्धि गर्न र सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेको सिन्ह्वाले जनाएको छ।
बेइजिङको भ्रमण गरेका अन्य उच्चस्तरीय नेतृत्वसँग भेट नगरेका रक्षामन्त्री लीले किसिन्जरसँग भेट दिनुले रक्षा संवाद फर्किनेतर्फ झिनो संकेत गरेको छ।
चीन-अमेरिका सम्बन्ध पुनः नाजुक मोडमा पुगेको अवस्थामा उनै पुराना मित्र किसिन्जर बेइजिङ पुगेका छन्। शक्ति सन्तुलनको अवधारणाबारे गहिरो बुझाइ राख्ने शताब्दी पुरुष पूर्व अमेरिकी विदेशमन्त्रीजस्ता प्रभावशाली व्यक्तित्वहरूको कूटनीतिक बुद्धिमत्तालाई विश्वले सुन्नु आवश्यक छ। हाल अमेरिकाको कुनै प्रशासकीय पदमा नरहेका किसिन्जरको भ्रमणलाई चीनले उच्चस्तरीय मान्यता दिँदै स्वागत गरेको छ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन, अर्थमन्त्री जेनेट येलेन र अमेरिकी जलवायु दूत जोन केरीजस्ता केही बहालवाला अधिकारीहरूको चीन भ्रमणपछि १०० वर्षीय प्रभावशाली पूर्व अमेरिकी अधिकारी चीन भ्रमण गर्ने पछिल्लो उच्च प्रोफाइल अमेरिकी सार्वजनिक व्यक्ति बनेका छन्।
यद्यपि, केही अमेरिकी मिडिया र पर्यवेक्षकहरूले वासिङ्टनको वर्तमान नीति निर्माणलाई किसिन्जरले प्रभावित गर्न सक्नेतर्फ भने शंका व्यक्त गरेका छन्। मंगलबार किसिन्जरको भ्रमणबारे सोधिएको प्रश्नमा अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले किसिन्जरले अमेरिकी सरकारको प्रतिनिधित्व नगरेको बताएका थिए।
यद्यपि, मिलरले किसिन्जरले विगतमा चिनियाँ अधिकारीहरूसँगको कुराकानीबारे अमेरिकी अधिकारीहरूलाई जानकारी गराएको र यो भ्रमणपछि पनि यस्तै कुराकानी हुन सक्ने भने बताएका थिए।
अर्कोतर्फ केही चिनियाँ अधिकारी र विज्ञहरूले किसिन्जरको यो भ्रमणले दुई देशबीचको सम्बन्धलाई सामान्यीकरण तर्फ लैजान भूमिका खेल्नेमा विश्वास व्यक्त गरेका छन्। चीन-अमेरिका सम्बन्ध दुई देशबीचको सम्बन्ध मात्र नभई जनस्तरमा समेत रहेको बताउँदै विज्ञहरुले अमेरिकी व्यापारिक क्षेत्र, रणनीतिक र प्राज्ञिक क्षेत्रबाट पनि यसका लागि पहल गर्न सकिने र यिनै आवाजहरुको प्रभावकारी प्रतितिनिधित्व किसिन्जरले गर्न सक्ने अपेक्षा गरेका छन्।