काठमाडौं। नेपालमा कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपाल र यसको भगिनी कम्पनी बोटलर्स नेपाल (तराई) को कारोबारमा उल्लेख्य वृद्धि देखिएको छ।
बोटलर्स नेपालले सन् २०२१/२२ मा १२ अर्ब ५२ करोड रुपैयाँको व्यापार गरेको छ। बोटलर्स नेपालको व्यापार एकैवर्ष ४ अर्ब २३ करोड रुपैयाँले बढेको रेटिङ एजेन्सी इक्रा नेपालले जनाएको छ। २०२०/२१ मा कम्पनीले ८ अर्ब २९ करोड रुपैयाँको व्यापार गरेको थियो। २०१९/२० मा ६ अर्ब ९९ करोड र २०१८/१९ मा ९ अर्ब ६८ करोड रुपैयाँको कारोबार बोटलर्स नेपालले गरेको थियो।
त्यसैगरी, बोटलर्स नेपाल (तराई) ले २०२१/२२ मा ९ अर्ब १९ करोड रुपैयाँको कारोबार गरेको छ। यो अघिल्लो वर्षको तुलनामा २ अर्ब ९८ करोड रुपैयाँ बढी हो। अघिल्लो वर्ष २०२०/२१ मा कम्पनीले ६ अर्ब २१ करोड रुपैयाँको कारोबार गरेको थियो। २०१९/२० मा ४ अर्ब ८४ करोड र २०१८/१९ मा ५ अर्ब ८१ करोड रुपैयाँको व्यापार कम्पनीले गरेको थियो।
कोका-कोलाका उत्पादनको बिक्री बढ्दा दुवै कम्पनीको व्यापार उल्लेख्य बढेको हो।
बोटलर्स नेपाल र बोटलर्स नेपाल (तराई) ले कोका-कोला, स्प्राइट, फ्यान्टा र किन्ले ब्राण्डका कार्बोनेटेड नन-एल्कोहोलिक बेभरेज उत्पादन तथा बिक्री गर्छ। बोटलर्स नेपालमा ७६ प्रतिशत सेयर स्वामित्व कोका-कोला साउथवेस्ट एसिया होल्डिङ्स लिमिटेड, २२ प्रतिशत गोर्खा ब्रुअरीको छ भने बाँकी सर्वसाधारणसँग स्वामित्व छ।
यस्तै, बोटलर्स नेपाल (तराई) मा बोटलर्स नेपाल लिमिटेडको ९१ प्रतिशत सेयर स्वामित्व रहँदा बाँकी हिस्सा भने सर्वसाधारणसँग छ। बोटलर्स नेपालले आफ्नो उत्पादन काठमाडौं उपत्यका भित्र बिक्री गर्छ भने बोटलर्स नेपाल (तराई) ले काठमाडौं उपत्यका बाहिरको क्षेत्रमा हेर्छ।