BIZMANDU
www.bizmandu.com

बाइक र स्कुटर भारतबाट, ‘ब्रेक शु’ हङकङबाट, सेटिङमा चल्छ भन्सार !

२०८० साउन ५

बाइक र स्कुटर भारतबाट, ‘ब्रेक शु’ हङकङबाट, सेटिङमा चल्छ भन्सार !
बाइक र स्कुटर भारतबाट, ‘ब्रेक शु’ हङकङबाट, सेटिङमा चल्छ भन्सार !


काठमाडौं। नेपालमा बिक्री हुने सबै प्रकारका बाइक तथा स्कुटर भारतबाट आउने गरेका छन्। त्यसका लागि आवश्यक पर्ने ‘ब्रेक शु’ र ‘ब्रेक प्याड’ भारत र केही मात्रै चीनबाट आउँछ।

Tata
GBIME
NLIC

चीनबाट पनि सडकमार्ग हुँदै आउने नेपाल अटोमोबाइल डिलर्स एशोसिएसनका उपाध्यक्ष सुनिल रिजाल बताउँछन्। ‘बुधबार राति हङकङबाट ल्याइएको ‘ब्रेक शु’ भित्र सय किलो सुन भेटिएपछि मैले सबै साथीभाईलाई सोधे। कसैले पनि हङकङबाट ल्याएको भनेका छैनन्,’ उनले बिजमाण्डूसँग भने, ‘हङकङबाट त्यो पनि हवाईमार्गबाट ‘ब्रेक शु’ ल्याएको बारे हामी पनि अच्चममा परेका छौं।’

उनका अनुसार न हङकङमा गाडी उत्पादन हुन्छ, न त्यहाँ यस्ता स्पेयर पार्ट्सहरु बन्छन्। उनी सडकमार्गबाट आइरहेको सामान यसरी हवाईमार्गबाट ल्याउँदा निर्वाध जाँचपास हुनु अस्वाभाविक भएको बताउँछन्।

‘हवाईमार्ग हुँदै ‘ब्रेक शु’ आउँदैन भन्ने जगजाहेर छ। तर, यहाँ निर्वाध रुपमा त्यो पनि हङकङबाट आउने रहेछ,’ रिजालले भने, ‘यो ‘ब्रेक शु’ भन्दै अरु सामान ल्याउने गरिएको रहेछ भन्ने स्पष्ट भएको छ।’ रिजालकै भनाइ मान्ने हो भने भन्सारका कर्मचारीले सेटिङमा ‘ब्रेक शु’ भन्दै सुन ल्याउन दिएको प्रष्ट हुन्छ। त्यसमा पनि भन्सारमा बस्ने कर्मचारीलाई आयातका बारेमा जानकारी नहुने कुरै भएन।

‘भन्सारका कर्मचारीलाई सन्दर्भ मूल्यदेखि कुन सामान कुन ठाउँबाट आयात हुन्छ भन्ने पुरै जानकारी हुन्छ। त्यो जानकारी भइसकेपछि ‘ब्रेक शु’ आउनेवित्तिकै शंकास्पद मानेर थप जाँचपास गर्नुपर्ने हो,’ भन्सारका एक पूर्व महानिर्देशकले भने, ‘यो सेटिङमा भएको थियो। त्यो सेटिङ कहाँसम्म थियो भन्नका लागि भन्सार विभागको अनुसन्धान टोली वा राजस्व अनुसन्धान विभाागले मात्रै गरेर सम्भव हुँदैन।’

रेडी ट्रेड प्रालि गत चैत २९ गते दर्ता भएर २९ पटक ‘ब्रेक शु’ ल्याएको भन्सार कार्यालयको अभिलेखमा देखिन्छ। त्यो आधारमा यो चानचुने सेटिङ नभएको ती पूर्व महानिर्देशक जिकिर गर्छन्।

तस्कर समूहले किन ब्रेक शु र प्याड नै खोज्यो ?

ब्रेक प्याडको पछाडिको भागमा आल्मुनियम लाग्छ। त्यो आल्मुनियममा त्यो घर्षण म्याटेरियल्स अर्थात फ्रिक्सन म्याटेरियल्स हाल्दा ब्रेक प्याड बन्छ। त्यसैले त्यसमा भएको आल्मुनियम र सुन पगाल्नु उस्तै कुरा हो।

अहिले त्यही आल्मुनियम भएको पछाडिको स्थानमा सुन हालेर ‘ब्रेक शु’ र प्याड ल्याएका हुन्। ‘ब्रेक शु’ ब्रेकिङ प्रणालीको एउटा मुख्य भाग हो, जसले अटोमोबाइलमा प्रयोग हुने ड्रम ब्रेकमा ब्रेक लाइनिङ प्रदान गर्छ। यस्तै ब्रेक प्याडहरू अटोमोटिभहरूमा प्रयोग हुने डिस्क ब्रेकहरूको एक भाग हो।

रिजालका अनुसार सुन लुकाएर ल्याउन मिल्ने भएकाले ‘ब्रेक शु’लाई रोजेको हुनसक्छ।