BIZMANDU
www.bizmandu.com

‘कमेन्ट’सँग तर्सियो कांग्रेस: देउवालाई प्रश्न, कार्यकर्तामाझ कुन मुख लिएर जाने?

२०८० साउन ४

‘कमेन्ट’सँग तर्सियो कांग्रेस: देउवालाई प्रश्न, कार्यकर्तामाझ कुन मुख लिएर जाने?
‘कमेन्ट’सँग तर्सियो कांग्रेस: देउवालाई प्रश्न, कार्यकर्तामाझ कुन मुख लिएर जाने?


काठमाडौं नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक महामन्त्री गगन थापाले प्रस्तुत गरेको सांगठनिक कार्यतालिकामै केन्द्रित छ। मंगलबारबाट सुरु भएको बैठकमा बुधबार ४६ जनाले धारणा राखे भने बिहीबार ३५ जनाले। बिहीबार कांग्रेस महामन्त्री गगन थापाको जन्मदिन भएकोले केन्द्रीय समिति छोटिएको थियो।

Tata
GBIME

सवा ५ बजे केन्द्रीय समिति स्थगित गर्दै कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले महामन्त्री थापाको लागि केक प्रबन्ध गरे। महामन्त्री थापाको जन्मदिन मनाउन शर्माले बिहानै तयार गरेको र बैठकमा सरप्राइज दिएका थिए। पार्टी सभापति शेरबहादुर देउवालगायतले केक खुवाउँदै महामन्त्री थापालाई खादा लगाएर शुभकामना दिए। थापा २०३३ साउन ४ मा काठमाडौंमा जन्मिएका हुन्।

भित्रियो केक कल्चर

पार्टीमा केक कल्चर भित्र्याउने चलनको श्रेय धेरैले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई दिन्छन्। कहिले फुटबल केक काटेर त त कहिले नेपाल केक काटेर ओली चर्चामा आएका थिए। उसो त माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि पेरिसडाँडामा २३ पाउन्डको केक काटेका थिए ६ वर्षअघि।

कांग्रेसका कार्यक्रममा भने यसअघि केक काटेर उत्सव मनाउने चलन खासै नदेखिएको कांग्रेसकै नेता बताउँछन्। बिहीबार केन्द्रीय समितिमा ‘ह्याप्पी बर्थडे’ गीत घन्काउँदै महामन्त्री थापाको जन्मदिनमा केक काटेर कांग्रेसले पनि केक कल्चर भित्र्याएको नेताहरू बताउँछन्।

कार्यकर्ता चिनेनन्कुन मुख लिएर जिल्ला जाने?

बैठकमा अधिकांश नेताले कांग्रेससँग कार्यक्रम नै नभएकोले जिल्ला जानु नै लाजमर्दो हुने बताए। केन्द्रीय सदस्य कर्णबहादुर बुढाले महामन्त्री थापाको कार्यतालिकामा केन्द्रीय सदस्यलाई जिल्ला खटाउने विषय देखेर आफूलाई अचम्म लागेको तर्क गरे। ‘केन्द्रीय सदस्यलाई जिल्ला जिल्ला खटाउने रे? हामी केन्द्रीय सदस्य जिल्लामा के लिएर जाने, खोक्रो भाषण?’ बुढाले प्रश्न गरे।

बुढा मात्र हैनन् अर्का केन्द्रीय सदस्य रंगमति शाहीले कांग्रेससँग कुनै एजेन्डा नै नभएको दाबी गरिन्। सरकारमा भएर पनि देखाउन योग्य केही काम कांग्रेसले नगरेको शाहीको ठोकुवा रह्यो। ‘पार्टी सरकारमा छ, देखाउन योग्य काम गर्न सकेको छैन। कुनै एजेन्डा छैन, के आधारमा मान्छेलाई आकर्षित गरेर सदस्य बनाउने? शाहीले प्रश्न गरिन्।

अर्का केन्द्रीय सदस्य उमेश श्रेष्ठले कांग्रेसले भाषणबाहेक अरू एजेन्डा नल्याएको आरोप लगाए। कांग्रेससँग जोडिन कार्यकर्तालाई आयआर्जनमा जोडिनुपर्ने र भाषणलाई कम गर्नुपर्ने उनको माग रह्यो।

‘कार्यकर्तालाई चिनौं। भाषण कम गरौं। काम गरौं। कार्यकर्तालाई आयआर्जनमा जोडौं। गरिखाने अभियान चलाऊ। पार्टीको कोष बलियो बनाऊ,’ श्रेष्ठले भने, ‘कम्युनिकेसन ग्याप छ। मन्त्रीमन्त्रीमा कम्युनिकेसन छैन। सांसदबीच कम्युनिकेसन छैन।’

गगनमाथि प्रश्नै प्रश्न

यस पटकको केन्द्रीय समितिमा अधिकांश नेताहरूले महामन्त्रीद्वय थापा र शर्मालाई निशाना बनाएका छन्। बुधबारझैं बिहीबार पनि केन्द्रीय सदस्यहरू गगनमाथि खनिएका छन्। केन्द्रीय सदस्य उदयशमशेर राणाले महामन्त्रीको क्यालेन्डरमा ठूलै गल्ती भेटिएको ठोकुवा गरे।

‘मैले ठूलो गल्ती देखें। मैले बुझेको नेपाली कांग्रेस २००६ चैत २७ गते स्थापना दिवस हो। तर महामन्त्रीको क्यालेन्डरमा माघ १२ गते उल्लेख गरिएको छ। माघ १२ गते नेपाल राष्ट्रिय कांग्रेस स्थापना भएको हो,’ राणाले भने, ‘हिस्टोरिकल्ली फ्याक्ट्समा हामीले खेल्नुहुँदैन।’

अर्का केन्द्रीय सदस्य उमेशजंग रायमाझीले पुरानै काम नगरी नयाँ प्रस्ताव ल्याएर फकाउने काम महामन्त्रीले गरेको आरोप लगाए। ‘गगनजी तपाइको प्रस्ताव राम्रो छ। तर पुरानै काम गर्नुभएको छैन। के गर्नुहुन्छ?’ रायमाझीले प्रश्न गरे।

अर्का केन्द्रीय सदस्य चन्द्रबहादुर केसीले भने गगनलाई तोकेरै हतार नगर्न सुझाव दिए। केसीको भनाइ पछिल्ला दिनमा गगन संसदीय दलको नेता फेर्नैपर्ने भन्दै सार्वजनिक मञ्चहरूमा बोल्न थालेकोबारे लक्षित थियो। ‘एउटा व्यक्ति विशेषले संसदीय दलको नेता चाहियो पार्टी सभापति चाहियो भन्दैमा समय र परिस्थितिको ख्यालै नगरी बेमौसमी बाजा बजाएर जन्ती पाइन्न कि। त्यतातिर ध्यान जाओस्,’ केसीले भने, ‘भन्ने एउटा गर्ने एउटा लेख्ने एउटा गगनजी हतार गर्न पर्दैन यु वेट। एभ्री डे इज सन्डे।’

खाणलाई निलम्बनको माग

बैठकमा केन्द्रीय समितिमा बालकृष्ण खाणलाई केन्द्रीय सदस्यबाट निलम्बन गर्नुपर्ने माग गरे। शिवाकोटीको कांग्रेसले कि सरकार छाड्नुपर्ने नभए खाणलाई पार्टीको केन्द्रीय सदस्यबाट निलम्बन गर्नुपर्ने माग थियो।

‘यतिखेर कांग्रेस प्रचण्ड नेतृत्वको सरकारको मुख्य हिस्सेदार हो। यही सरकारको पालामा हाम्रा वरिष्ठ केन्द्रीय सदस्य बालकृष्ण खाणलाई अलगअलग आरोपमा पुर्पक्षका लागि थुनामा पठाइएको छ। सभापतिज्यू, यो प्रकरणमा हाम्रो दुबिधा अचम्मकै छ। खाणप्रति अन्याय भयो भन्ने हो भने कांग्रेस सरकारबाट हट्नुपर्‍यो, होइन भने पार्टीबाट निलम्बन गर्नुपर्‍यो?’ उनले भने।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा खाण वैशाख २७ गते पक्राउ परेका थिए। भुटानी शरणार्थी प्रकरणमै पक्राउ परेका टोपबहादुर रायमाझीलाई एमालेले सचिव पदबाट निलम्बन गरिसकेको छ। तर, खाणलाई कारबाहीबारे कांग्रेस केन्द्रीय समितिमा कुनै एजेन्डा छैन। काठमाडौं जिल्ला अदालतको आदेशमा खाण असार १ देखि पुर्पक्षका लागि थुनामा छन्।

केन्द्रीय सदस्य शिवाकोटीले सभापति देउवासमक्ष यस विषयमा केन्द्रीय समिति प्रस्ट हुनुपर्ने बताएका छन्। ‘यसमा कि थुनामा हुने दोषी हुनुपर्‍यो कि सरकारमा रहेका हाम्रै मन्त्री पूर्वाग्रही भएको हुनुपर्‍यो। सभापतिज्यू, पार्टीले प्रस्ट भन्नुपर्‍यो’, उनले भने, ‘यो बैठकबाट पनि भ्रमपूर्ण सन्देश प्रसार हुनुभएन। सरकार र साथीमध्ये के रोज्ने हो सभापतिज्यू यो बैठकले टुंगो लगाउनुपर्छ।’

कांग्रेसको लाइभमा कमेन्ट अफकमेन्ट डिलिट

बिहान ११ बजे सुरु भएको केन्द्रीय समितिमा साढे १ बजे ब्रेक दिइयो। त्यसपछि झन्डै पौने ३ बजे सुरु भएको बैठकको लाइभमा भने कमेन्ट अफ गर्न थालियो र केही कमेन्टहरु डिलिटसमेत गरियो। बुधबार पनि कतिपयले लाइभ भिडियोमा कमेन्ट गर्न नपाएको भन्दै आलोचना गरेका थिए।

किन यस्तो त? ‘यो अन्तरक्रिया गोष्ठी हैन नि। यो त बैठक हो,’ कांग्रेस प्रचार विभागका संयोजक मीन विश्वकर्माले भने। तर कतिपय कमेन्ट त डिलिट हुन थालेका छन् नि? ‘सुरुमा लाइभ गर्दागर्दै कमेन्ट आइहाल्ने रहेछ। कमेन्ट सेक्सन अफ गर्न नपाई,’ जवाफमा विश्वकर्माले भने, ‘कमेन्ट अफ गर्ने हाम्रो नीति नै हो।’