BIZMANDU
www.bizmandu.com

प्रधानमन्त्री दाहालले पूर्वाधार निर्माणमा खोजे निजी क्षेत्रको साथ, असारे विकासप्रति असन्तुष्टि

२०८० साउन ३

प्रधानमन्त्री दाहालले पूर्वाधार निर्माणमा खोजे निजी क्षेत्रको साथ, असारे विकासप्रति असन्तुष्टि
प्रधानमन्त्री पुष्पकमल दाहाल बुधबार नेपाल इन्जिनियर्स एशोसिएसनको ६१औँ इन्जिनियर दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै। फोटो : प्रदीप राज वन्त : रासस


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको आर्थिक विकासका लागि भौतिक पूवार्धार निर्माण पहिलो सर्त भएको बताएका छन्। प्रधानमन्त्री दाहालले आज काठमाडौंमा नेपाल इन्जिनियर्स एसोसिएसनको ६१औं वार्षिकोत्सव उद्भाटन गर्दै समाजवादको आधार तयार पार्न पूर्वाधार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए।

Tata
GBIME
NLIC

उनले चालु खर्चको तुलनामा निकै न्यून रहेको विकास बजेट समयमा खर्च गर्न नसक्नुलाई विडम्बनापूर्ण भनेका छन्। गत आर्थिक वर्ष ३ खर्ब ८० अर्ब पुँजीगत बजेटमध्ये ६१ प्रतिशत अर्थात २ खर्ब ३३ अर्ब मात्र खर्च भएको थियो। त्यसमध्ये ८० अर्ब रुपैयाँ असार महिनामा खर्च गरिएको हो।

प्रधानमन्त्री दाहालले असारे विकासको प्रवृत्तिलाई त्याग्नुपर्नेमा जोड दिए। उनले समयमै निर्माण थालनी नहुने अवस्था अन्त्यका लागि कानुनी, संरचनागत र प्रक्रियागत समस्या समाधान गर्न सरकार तयार रहेको बताए।

उनले पूर्वाधारविना आर्थिक उन्नति सम्भव नरहेको जनाउँदै पूर्वाधारको विकासका लागि निजी क्षेत्रको र वैदेशिक लगानी आवश्यक भएको बताए।

उनले भने, ‘विकासका लागि सरकारसँग स्रोत कम छ। त्यसैले निजी क्षेत्रको लगानी आवश्यक देखिएको छ । पूर्वाधारको क्षेत्रमा वैदेशिक लगानी पनि आउन सकोस्।’ रासस