BIZMANDU
www.bizmandu.com

विकास बैंकको हरित निक्षेप र कर्जा योजना: निक्षेपमा ०.२५% बढी ब्याज दिने र ऋणमा कम

२०८० साउन ३

विकास बैंकको हरित निक्षेप र कर्जा योजना: निक्षेपमा ०.२५% बढी ब्याज दिने र ऋणमा कम
विकास बैंकको हरित निक्षेप र कर्जा योजना: निक्षेपमा ०.२५% बढी ब्याज दिने र ऋणमा कम


काठमाडौं। विकास बैंकहरुले दिगो विकासमा योगदान दिने उद्देश्यले ‘हरित निक्षेप योजना’ र ‘हरित कर्जा योजना’ ल्याउने भएका छन्। 

Tata
GBIME
NLIC

हाललाई निम्न उत्पादनमूलक क्षेत्रमा गरिने लगानीलाई हरित कर्जा योजना अन्तर्गत समेट्ने निर्णय डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपालको कार्य समितिले गरेको छ।

विकास बैंकहरुले कृषिजन्य उद्यम,वनजन्य उद्यम, जल उर्जा, सौर्य उर्जा, जैविक उर्जा, वायु उर्जा, केवलकार/रोपवे, विद्युतीय सवारी साधन र फोहोर पानी प्रशोधन गर्ने उद्यममा हरित  ऋण योजना ल्याउने भएका हुन्। 

बैंक तथा वित्तीय संस्थाहरुको लगानी तुलनात्मकरुपमा कम उत्पादनशील क्षेत्रमा बढ्दै गएकाले उत्पादनमूलक र दिगो विकासमा टेवा दिने क्षेत्रमा कर्जा बढाउने उद्देश्यले ‘हरित कर्जा योजना’ ल्याउने निर्णय एशोसिएसनले गरेको हो। 

हरित कर्जा योजनामा गरिने लगानीका लागि बिस्तारै स्रोतको सुनिश्चतता पनि गर्दै जाने उद्देश्यले ‘हरित निक्षेप योजना’ पनि ल्याइने भएको हो। 

‘हरित निक्षेप योजना’ मा अन्य बचत र मुद्दति निक्षेपमा भन्दा ०.२५ प्रतिशत अंकले बढि व्याज प्रदान गर्ने र  ‘हरित कर्जा योजना’ मा अन्य सोही प्रकृतिको कर्जा योजनामा  भन्दा ०.२५ प्रतिशत अंकले कम व्याजमा कर्जा प्रवाह गर्ने गरी कर्जा योजनाको प्रडक्टपेपर विकास गरिने भएको छ। 

सदस्य बैंकहरुले आ–आफ्ना बैंकको व्यवसायिक रणनीति अनुसार अझ बढी सुबिधा दिनेगरी प्रडक्टपेपरलाई विकास गर्न सक्ने निर्णय पनि एशोसिएसनले गरेको छ। 

कार्वन उत्सर्जन गर्ने र जलवायु परिवर्तनलाई असर गर्ने कुनै पनि उद्योग/व्यवसायले हरित कर्जा सुबिधा लिन पाउने छैनन्।

आ–आफ्ना बैंकका संचालक समितिबाट प्रडक्टपेपर स्वीकृत गराइ ‘हरित निक्षेप योजना’ र ‘हरित कर्जा योजना’ बजारमा ल्याउनका लागि एशोसिएसनले आफ्ना सदस्य बैंकहरुलाई परिपत्र जारी गरिसकेको छ।