BIZMANDU
www.bizmandu.com

कैलालीका भन्सार कार्यालयले उठाउन सकेनन् लक्ष्यअनुसारको राजस्व, क्वारेन्टाइन स्थापना गर्न दबाब

२०८० साउन ३

कैलालीका भन्सार कार्यालयले उठाउन सकेनन् लक्ष्यअनुसारको राजस्व, क्वारेन्टाइन स्थापना गर्न दबाब
कैलालीका भन्सार कार्यालयले उठाउन सकेनन् लक्ष्यअनुसारको राजस्व, क्वारेन्टाइन स्थापना गर्न दबाब

टीकापुर। कैलालीका भन्सार कार्यालयमा गत आर्थिक वर्ष २०७९/८० मा लक्ष्यअनुसारको राजस्व संकलन हुन सकेन।

Tata
GBIME
Zonsen

दुई भन्सार कार्यालय रहेको कैलालीमा भन्सार विभागले तोकेको लक्ष्यभन्दा कम राजस्व उठेको हो।

कैलाली भन्सार कार्यालयलाई गएको आर्थिक वर्ष २०७९/८० मा भन्सार विभागले १२ अर्ब ३० करोड ६६ लाख ७८ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य तोकेको थियो। तर राजस्व भने आठ अर्ब २९ करोड ६३ लाख रुपैयाँ मात्र उठेको छ।

यो लक्ष्यको ६७ दशमलव ४१ प्रतिशत मात्र भएको भन्सार कार्यालय कैलालीका सूचना अधिकारी पवित्रकुमार खड्काले बताए।

‘लक्ष्यअनुसार राजस्व उठ्न सकेन’, खड्काले भने, ‘विगतका वर्षलाई हेर्दा राजस्व कम संकलन भएको छ।’

बैंक तथा वित्तीय संस्थामा देखिएको समस्याका कारण व्यापारिक वातावरण नहुँदा भन्सारबाट आउने र जाने सामानमा कमी भएकाले पछिल्लो समय राजस्व उठ्ने क्रम खस्केको सूचना अधिकारी खड्काले बताए।

यता टीकापुर नगरपालिकाको सीमामा रहेको सत्ती भन्सार कार्यालय खक्रौलाबाट पनि लक्ष्यअनुसार राजस्व उठ्न सकेन।

गत आवमा १६ करोड ९४ लाख ४२ हजार रुपैयाँ राजस्व उठाउनुपर्ने लक्ष्य तोकिएकोमा सत्तीले ७ करोड ३८ लाख ८९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

यो लक्ष्यको ४४ प्रतिशत मात्र भएको सत्ती भन्सार कार्यालय खक्रौलाका निमित्त प्रमुख तुलसीराम चौधरीले बताए।

‘आर्थिकमन्दी, भन्सार कार्यालयमा क्वारेन्टाइन र प्लान्ट कार्यालय नहुनु पनि कारण हो’, चौधरी भने।

उनले अगाडि भने, ‘सत्ती भन्सार कार्यालय खक्रौला भएर आउने भारततर्फको सडक राम्रो नभएकाले पनि भन्सारबाट लक्ष्यअनुसारको राजस्व नउठेको हो।’

निर्यात न्यून

कैलालीका भन्सार कार्यालयबाट आयातबाट मात्र राजस्व उठ्ने गर्छ। यी भन्सार भएर पेट्रोलियम पदार्थ, कपडा, मोटर पार्टस, हार्डवेयरका सामान, खाद्यबस्तुको आयात धेरै हुने गरेको छ।

तर निर्यात भने न्यून मात्रामा हुने गरेको र त्यसबाट नगन्य मात्रामा मात्र राजस्व संकलन हुने गरेको भन्सार कार्यालयले जनाएको छ।

यता, कैलालीको सशस्त्र द्वन्द्वका बेला विस्थापित भएको सत्तीमा क्वारेन्टाइन स्थापना हुनुपर्ने भन्दै स्थानीयले दबाब दिँदै आएका छन्।

‘त्यो बेला विस्थापित भएका धेरै कार्यालय खुले तर क्वारेन्टाइन पुनर्स्थापना हुन सकेन’, स्थानीय सङ्गम चौधरीले भने।

उनले थपे, ‘क्वारेन्टाइन नभएका कारण पनि भन्सारले गति लिन सकेन, यहाँका व्यापारीलाई समेत दुःख भएको छ।’

क्वारेन्टाइन स्थापनाको माग गर्दै उद्योग वाणिज्य सङ्घले गत महिना यहाँ दबाबमूलक कार्यक्रमसमेत सुरु गरेको थियो।

क्वारेन्टाइन नभएकै कारण परीक्षण गरेर ल्याउनुपर्ने सामान यहाँका व्यापारीले नेपालगञ्ज वा धनगढी भएर ल्याउनुपर्ने बाध्यता छ। रासस