BIZMANDU
www.bizmandu.com

ब्ल्याक सी ग्रेन डिलबाट पछि हट्यो रसिया, विश्वभर फेरि खाद्य संकटको डर

२०८० साउन २

ब्ल्याक सी ग्रेन डिलबाट पछि हट्यो रसिया, विश्वभर फेरि खाद्य संकटको डर
Photo : Bloomberg


रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले ‘ब्ल्याक सी ग्रेन डिल’ बाट पछि हट्ने निर्णय गरेसँगै विश्वभर खाद्य संकट बढ्ने सम्भावना उत्पन्न भएको छ।

Tata
GBIME
NLIC

रसिया र युक्रेनबीच युद्ध भएको ५१० दिन भइसकेको छ। युक्रेनले क्रिमिया जोडने पुलमा आक्रमण गरेपछि पुटिनले यो घोषणा गरेका हुन्।

‘ब्ल्याक सी ग्रेन डिल’ खाद्यान्न निर्यातबारे महत्त्वपूर्ण सम्झौता हो। सो सम्झौतामार्फत युक्रेनले निर्वाध रूपमा समुद्रीमार्ग हुँदै युद्धको समयमा समेत अन्न निर्यात गर्दै आएको थियो। सन् २०२२ को फ्रेबुअरीमा युद्ध सुरु भएपछि रसियाले युक्रेनको बन्दरगाहलाई घेरेर त्यहाँ रहेका करोडौं टन खाद्यान्न नियन्त्रणमा लिएको थियो।

जसकारण त्यसबेला पनि विश्व खाद्यान्नको मूल्य बढेको थियो। मध्य र पूर्वी अफ्रिकामा सो घटनाले खाद्य संकट उत्पन्न भएको थियो। लामो समयको छलफलपछि टर्कीए र संयुक्त राष्ट्रसंघको मध्यस्थतामा गत वर्षको जुलाईमा रसिया र युक्रेनबीच खाद्यान्न निर्यात गर्न दिने सहमति भएको थियो।

तर पुटिनको निर्णयसँगै अब युक्रेनले पाउँदै आएको सुविधा समाप्त भएको छ। रसिया पछि हटेपछि यो सम्झौताको औचित्य नै सकिएको छ। तर, उसले आफ्ना सर्तहरु पालना भए सम्झौताबारे फेरि सोच्न सक्ने बताएको छ।

रसियाले सोमबार संयुक्त राष्ट्रसंघ, टर्कीए र युक्रेनलाई आफू सम्झौताबाट पछि हटेको जानकारी दिएको थियो। सो सम्झौता लागू भएयता युक्रेनले ३३ मिलियन मेट्रिक टन अन्न निर्यात गरिसकेको संयुक्त राष्ट्रसंघको तथ्यांकले देखाउँछ। सो सम्झौता तीनपटक नवीकरण भइसकेको छ।

पुटिनले लामो समयदेखि रसियामा उत्पादित खाद्य पदार्थ र मल निर्यात गर्ने सम्झौताको प्रावधान कार्यान्वयन नभएको भन्दै आक्रोश व्यक्त गर्दै आएका थिए। उनले सो सम्झौतामा गरिब देशलाई खाद्यान्न दिने उल्लेख भए पनि त्यो पूरा नभएको आरोप लगाएका छन्।

उनले पश्चिमा देशलाई आफ्नो जिम्मेवारी पूरा नगरेको आरोपसमेत लगाएका छन्। युक्रेनसँगको युद्धपछि पश्चिमा देशहरुले रसियामाथि प्रतिबन्ध घोषणा गरेको थियो। जसकारण रसियाले आफ्नो उत्पादन निर्यात गर्न पाएको थिएन। त्यसपछि उनले विभिन्न समयमा सम्झौता तोड्ने चेतावनी दिएका थिए।

यता, टर्कीएले भने पुटिनलाई सम्झौतामा फर्काउन प्रयास गर्ने भएको छ। टर्कीएका राष्ट्रपति रेसेप एर्डोगानले अर्को महिना पुटिनसँग भेट्ने र सम्झौता लागू गर्नेबारे छलफल गर्ने बताएका छन्।

रसियाको यो निर्णयले युद्धबाट प्रभावित युक्रेनमात्र नभइ विश्वका गरिब राष्ट्रहरुसमेत प्रभावित हुनेछन्। रसिया सम्झौताबाट पछि हटेपछि पश्चिमा देशले त्यसको आलोचना गरेका छन्। अमेरिकाले सो सम्झौता विश्वभर खाद्यान्नको मूल्य कम घटाउन निकै महत्त्वपूर्ण रहेको जनाएको छ। अमेरिकाले रसिया सम्झौताबाट पछि हटेपछि अब विश्वभर खाद्य असुरक्षा बढ्न सक्ने र करोडौं मानिस प्रभावित हुनसक्ने चेतावनी दिएको छ। रसियाको घोषणासँगै सोमबार विश्वभर गहुँ र मकैको मूल्य ह्‍वात्तै बढेको थियो।

युद्ध सुरु हुनुअघि युक्रेन विश्वमा गहुँ निर्यात गर्ने पाँचौ ठूलो देश थियो। विश्वभर १० प्रतिशत गहुँ युक्रेनबाट निर्यात हुन्थ्यो। यस्तै, जौ, मकै र रेपसिड तेल निर्यात गर्ने युक्रेन तेस्रो ठूलो देश थियो। विश्वभर ४६ प्रतिशत सूर्यमुखी तेलको निर्यात पनि युक्रेनबाट हुन्थ्यो।

मस्कोले सो सम्झौताबाट पछि हट्ने निर्णय गरेसँगै त्यसले गरिबी र भोकमरीबाट पीडितहरुलाई थप प्रभावित पार्ने इन्टरनेशनल रेस्क्यु कमिटीले जनाएको छ।

रसिया विश्वमा मल निर्यात गर्ने सबैभन्दा ठूलो देश हो। सम्झौतामा रसियाको मलले पनि निर्वाध निर्यात गर्न पाउने व्यवस्था थियो। त्यसैले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि पुटिनको निर्णयले खेतीको समयमा किसानले मल नपाए विश्वभर संकट उत्पन्न हुने बताएका छन्।

यता, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले भने आफूहरु गहुँ निर्यातका लागि तयार रहेको दाबी गरेका छन्। रसियापछि हट्दैमा आफूहरु नडराएको भन्दै उनले कयौं कम्पनीहरु गहुँ निर्यात गर्न तयार रहेको बताएका छन्। अमेरिकाले पनि युक्रेनको ब्ल्याक सी पोर्टबाट गहुँको निर्वाध निर्यातको प्रत्याभूति गर्न सहयोग गर्ने जनाएको छ। अमेरिकाले युक्रेनको गहुँ बोकेको पानीजहाजको सुरक्षा गर्न आफ्नो सेना पनि पठाउने जनाएको छ। यससँगै बिग्रिएको युद्धको माहोल थप भयानक हुने देखिएको छ।