BIZMANDU
www.bizmandu.com

मेस्सी खेल्दै छन् मायमीबाट, अमेरिकामा उनको डेब्यू खेलको टिकट मूल्य डेढ करोडसम्म

२०८० साउन २

मेस्सी खेल्दै छन् मायमीबाट, अमेरिकामा उनको डेब्यू खेलको टिकट मूल्य डेढ करोडसम्म
फोटो : Megan Briggs/Getty Images


फुटबल सुपरस्टार लियोनल मेस्सी आगामी शुक्रबार (जुलाई २१) अमेरिकी लिगमा डेब्यू गर्दैछन्। उनी इन्टर मायमीबाट खेल्न लागेका हुन्।

Tata
GBIME
NLIC

शुक्रबार हुने लिग्स कपको उद्‍घाटन खेलमा मायमीले मेक्सिकन टिम क्रज अजुलसँग खेल्नेछ। मेस्सीले सोही खेलमा डेब्यू गर्ने अपेक्षा गरिएको छ।

तर ३६ वर्षीय मेस्सीले अमेरिकामा डेब्यू गरेको नजिकबाट हेर्न चाहनेले ठूलो रकम तिर्नुपर्ने देखिएको छ।

उक्त खेलको टिकट १ लाख १० हजार डलर (करिब डेढ करोड रुपैयाँ)सम्म बिक्री भइरहेको भिभिड सिट्समा उल्लेख छ।

मेजर लिग सक्कर टिमको लागि यो हालसम्म महँगो टिकट मूल्य हो। शनिबार मेस्सी मायमीमा आबद्ध भएसँगै टिकटको मूल्य आकाशिएको हो।

मेस्सी डेभिड ब्याकह्यामको इन्टर मायमीमा प्रतिवर्ष ५० देखि ६० मिलियन डलरमा आबद्ध भएको बताइएको छ।

Photo: David Beckham/Facebook

यति भनिरहँदा सस्तो टिकट पनि नपाइने भने होइन। टिकटको औसत मूल्य ४८७ अमेरिकी डलर (६३ हजार नेरु) छ।

अघिल्लो वर्ष भएको स्पेनिस क्लब बार्सिलोनाविरुद्धको मायमीको खेलमा टिकटको मूल्य हालको भन्दा करिब आधा थियो।

मेस्सीलाई अहिलेसम्मकै सबैभन्दा डेकोरेटेड खेलाडीमध्ये एकका रुपमा लिइन्छ। उनले हालसम्म सात पटक प्रतिष्ठित ब्यालोन डी’ओर अवार्ड जितेका छन्।

गत वर्ष अर्जेन्टिनाले विश्वकप जित्दा मेस्सी उक्त टोलीको हिस्सा थिए।

आइतबार क्लबले आयोजना गरेको कार्यक्रममा उनले आफू निकै उत्साहित भएको उनले बताएका थिए।

‘म यहाँ खेल्ने, जित्ने र क्लबलाई निरन्तर अगाडि बढाउने इच्छा लिएर आएको हुँ,’ खचाखच स्टेडियममा मेस्सीले भनेका थिए। (एजेन्सीको सहयोगमा)