BIZMANDU
www.bizmandu.com

चुनौतीबीच पशुपालनमा युवाको आकर्षण, भोलिका दिनमा मूल्य पाउने गर्छन् आशा

२०८० साउन १

चुनौतीबीच पशुपालनमा युवाको आकर्षण, भोलिका दिनमा मूल्य पाउने गर्छन् आशा
बाँकेमा सुहवन यादवले व्यावसायिक रुपमा सञ्चालन गरेको ‘यादव भैँसी पालन फार्म’ मा रहेका भैँसी। फोटो : रुपनी जि एम / रासस

जानकी । बाँकेका शशीराम डाँगी बिहानै ६ बजे दूध लिन आउने गाडीको प्रतीक्षामा बस्छन्। उनले तयार पारेको ३५ लिटर दूधको भाँडो उठाएर गाडीले लैजान्छ।

Tata
GBIME
Nepal Life

बिहान दूध लैजान आउने गाडीले बेलुका पनि उनको घर छेउमा आएर ‘हर्न’ बजाउँछ। अनि शशीरामले तयार पारिराखेको २५ लिटर जति दूधको भाँडो बिहान जसरी नै उठाएर लैजान्छ। यो क्रम पाँच वर्षदेखि चल्दै आएको छ।

बाँकेको कोहलपुर-१३ खडकवारका शशीराम १० वर्ष साउदीमा बसेर फर्किएपछि कृषिमा आधारित व्यावसायी बनेका छन्। गुर्वाकोटी पशुपालन फार्म र अमृत पशुपालन फार्म गरी दुई फार्म दर्ता गराएर व्यवसायी बनेका उनलाई हिजोआज भ्याइनभ्याइ छ।

बाउबाजेले गर्दै आएको कामलाई व्यावसायिक रुपमा नै गर्न सुरु गरेका शशीरामको फार्ममा अहिले ‘होलस्टेन क्रस’ प्रजातिका सात गाई छन्। सुरुमा दुई गाईबाट व्यवसाय गरेका शशीरामले दूधबाट फाइदा हुन थालेपछि गाईको संख्या बढाएको बताए।

‘व्यवसाय सानैबाट गर्नुपर्छ भन्ने जानेर सुरुमा दुई गाई पालेँ। त्यसबाट चित्तबुझ्दो भएपछि पाँच वटा गाई थपेको हुँ,’ उनले भने।

अरु व्यवसाय गर्नलाई पढाइलेखाइ कम भएकै कारण पशुपालन सानैबाट गर्दै आएकाले यही पेसालाई अँगालेको उनले बताए। गाईलाई दानापानीमै मासिक ५० हजारको हाराहारीमा खर्च लाग्ने भएकाले आम्दानी ९० हजार भए पनि नाफा भने जम्मा ३० देखि ४० हजारसम्म हुने उनको भनाइ छ।

सोँचेजस्तो मनग्य फाइदा नहुँदा पनि यही पेसा नै गर्न मन लाग्ने उनले बताए।

‘हामीले उत्पादन गरेको दूधको खरिद मूल्य जम्मा ६४ रुपैयाँ हुने अनि बजार भाउअनुसार उपभोक्ताले बिक्री गर्ने मूल्य सयदेखि एक सय २० सम्म हुँदा पनि गर्न मन लाग्नु भनेको एक प्रकारको बाध्यता पनि हो,’ उनले भने, ‘पढाइलेखाइ धेरै र हातमा अरु नै सीप भएको भए चित्त बुझाएर बस्दिनथेँ।’

शशीरामले झैँ दूध बेचेरै घरखर्च चलाउँदै आएका छन् राम सुहवन यादवले पनि। पुर्खाले गर्दै आएको पशुपालनलाई व्यावसायिक रुपमा अघि बढाउन उनले यादव भैँसीपालन फार्म दर्ता गराएका छन्।

सुरुमा २० लाख रुपैयाँ लगानी गरेका राम सुहवनले उक्त फार्ममा १ सय ३० वटा भैँसी पालेका छन्। उनको फार्ममा तीमध्ये हिजोआजको यो समयमा ३५ वटा भैँसीले दूध दिन्छन् भने बाँकी भैँसी ब्याउने चरणमा छन्।

बाँकेका तीन ठाउँमा दैनिक दूध संकलनका लागि पठाउने गर्छन्। दूध संकलन गर्ने डेरी साइबाबा दूध डेरी, एस के दूध डेरी र डीडीसी दूध डेरी छन्।

राम सुहवनले मासिक नाफा ५० देखि ६० हजार रुपैयाँसम्म हुने गरेको बताए। सरकारले ल्याएको पशु बीमा अन्तर्गत उनले पनि बीमा गराएको बताए तर पशु मृत्युपछि भने बीमाको रकम पाउने प्रक्रिया नै निकै झन्झटिलो भएको हुनाले गत वर्षदेखि बीमा गर्न छाडेको उनले बताए।

‘बीमा गराउनुभन्दा बीमा रकम पाउने प्रक्रिया नै निकै झन्झटिलो रहेछ,’ उनले भने, ‘हामी किसानलाई दिनभरि बीमा रकमको लागि दिनैभरि अफिसमा बस्ने कहाँ फुर्सद? हामीले त गत वर्षदेखि नै बीमा गराउन छाडेका छौँ।’

शशीराम र राम सुहवनजस्तै व्यावसायिक पशुपालन गरेर ७ वर्षदेखि दूध बेच्दै आएका छन् बर्दियाका गोविन्द उपाध्यायले। सुरुवातमा १५ वटा गाई थियो, अहिले ४४ वटा पुर्‍याएका छन्।

२०७३ सालमा एकता पशुपालन फार्म दर्ता गराएर उनले व्यावसायिक रुपमा नै पशुपालन गर्दै आएका हुन्। निर्जीवन बीमा कम्पनीमा कार्यरत ४४ वर्षीय उनले कृषिमा पनि केही गर्न सकिन्छ र युवाले नै कृषि पेसालाई अँगालेर अगाडि बढ्नुपर्छ भन्ने उद्देश्यले आफूले गाईपालन गर्न सुरु गरेको बताए।

जर्सी र होलस्ट्रेनक्रस प्रजातिका गाईबाट उनले प्रत्येक दिन २३० देखि २३५ लिटरसम्मको दूध उत्पादन गर्छन्। किसानबाट उपभोक्तासम्म ३० देखि ४० रुपैयाँको फरक पर्दा पनि भोलिका दिनमा दररेट बढ्ने आशामा आफूले फार्म सञ्चालन गरेको उनको भनाइ छ।

आफ्नै जग्गामा फार्म सञ्चालन गर्दै आएका गोविन्दको मासिक खर्च तीन लाख रुपैयाँको हाराहारीमा हुन्छ भने आम्दानी तीन लाख ७० हजार रुपैयाँ हुने गर्दछ। दूधबाट उनलाई पनि सरदरमा मासिक ४०/४५ हजार रुपैयाँको नाफा हुने गर्दछ।

पाँच कामदार राखेर फार्म सञ्चालन गर्दै आएका गोविन्दले पशुपालन किसानको मर्कालाई बुझेर उत्पादनमा अनुदानको व्यवस्थालाई कार्यान्वयनमा ल्याई दिन सरकारलाई आग्रह गरेका छन्।

किसानद्वारा उत्पादित दूधलाई संकलन गरेर आत्मनिर्भर बनाउनमा निकै ठूलो सहयोग गरेको छ एस के डेरी इन्डस्ट्रिज प्रालि बाँकेले। नेपालगञ्ज-२२ को पुरैनीस्थित उक्त दूध डेरीमा बाँके र बर्दियाका गरी पाँच हजार किसानको दूध पुग्छ।

प्रालिका प्रोडक्सन इञ्चार्ज सन्तोष पौडेलका अनुसार २०७६ देखि उक्त उद्योगले किसानका दूध संकलन गर्दै आएको छ। सो प्रालिमा ३२ जना कर्मचारी छन्। उनका अनुसार किसानबाट संकलित दूधको ‘फ्याट’ निकाल्ने गरिन्छ।

फ्याटबाट निकालिएको दूधलाई ४५ डिग्रीमा राखिएपछि उक्त दूधबाट आइसक्रिम, केक, पनिरलगायत अन्य दूधबाट बनिने सबै परिकार बनाएर बजारमा पठाइने उनले बताए।

‘हामीले किसानबाट सङ्कलन गरेका दूधलाई ४५ डिग्रीको चिसो तापक्रममा राखेर दूधका विभिन्न परिकार बनाएर बजारमा पठाउँछौँ’, उनले भने, ‘हामीकहाँ राम्रो भोल्टेजका कारण प्याकिङ गरेर राखिएका सामान बिग्रने सम्भावना हुँदैन। हामीले गुणस्तरलाई बढी ध्यान दिएका छौँ।’

पौडेलका अनुसार प्रत्येक दिन किसानबाट एक हजार पाँच सय लिटर दूध सङ्कलन गरेर पाँच सय लिटर पनिर, एक हजार लिटर दही, दुई सय लिटर दूधको आइसक्रिम बनाइन्छ। यसरी बनाइएका दूधका परिकार बाँकेमा मात्र नभई बर्दिया, दाङ, सुर्खेत, जुम्लादेखि काठमाडौंसम्म जाने गर्छ।

साढे पाँच कट्ठाको क्षेत्रफलमा निर्मित उक्त दूध डेरी बनाउनका लागि सबै मेसिन भारत र चीनबाट ल्याइएको उनले बताए। अनुदानबिना तीनजना युवाले मिलेर आठ करोड रुपैयाँको लगानीमा अत्याधुनिक प्रविधिमा उक्त उद्योग सञ्चालन गरिएको हो। रासस