BIZMANDU
www.bizmandu.com

बीएमडब्लुको विद्युतीय एसयुभी आइएक्स-३ भोलि सार्वजनिक हुँदै, अर्को सातादेखि डेलिभरी हुने

२०८० असार ३१

बीएमडब्लुको विद्युतीय एसयुभी आइएक्स-३ भोलि  सार्वजनिक हुँदै, अर्को सातादेखि डेलिभरी हुने
बीएमडब्लुको विद्युतीय एसयुभी आइएक्स-३ भोलि सार्वजनिक हुँदै, अर्को सातादेखि डेलिभरी हुने

काठमाडौं। जर्मन लक्जरियस कार ब्रान्ड बीएमडब्लुको विद्युतीय एसयुभी आईएक्स-३ नेपाली बजारमा सोमबार सार्वजनिक हुने भएको छ।

Tata
GBIME
NLIC

बीएमडब्लुको आधिकारिक बिक्रेता लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी प्रिमियमले उक्त गाडी सोमबार आफ्नो सामाजिक सञ्जालबाट नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।

कम्पनीले यो गाडीको बुकिङ लिइरहेको कम्पनीका बिक्री वितरण विभागका प्रमुख प्रबोद्ध श्रेष्ठले बताए। यसका लागि ग्राहकहरुले २० लाख रुपैयाँभन्दा बढी रकम टोकन राख्‍नुपर्ने उनले जानकारी दिए। खासमा उत्पादक कम्पनीले गाडीको मूल्यको ३३ प्रतिशत रकम बुकिङ गर्दा लिने गर्छ।

बजेटमा लक्जरियस इभीको कर घटेपछि यो गाडी नेपाल ल्याउने तयारीमा कम्पनी जुटेको थियो। यसको मूल्य साढे २ करोड रुपैयाँको हाराहारीमा हुने कम्पनीले जनाएको छ। यसको मूल्य पनि भोलि नै भर्चुअल रुपमा सार्वजनिक हुने उनले बताए।

यो गाडी कम्पनीले पहिलो लटमा ५ देखि ७ वटा युनिट ल्याएको छ। अर्को हप्तादेखि उक्त गाडीहरु डेलिभरी गर्ने कम्पनीको तयारी छ। कम्पनीले १५ दिनको फरकमा यसरी लटअनुसार गाडी नेपाल भित्र्याउने योजना बनाएको छ। त्यहीअनुसार बुकिङ भएका गाडी डेलिभरी गरिने उनको भनाइ छ। पहिलो लटमा आउने गाडी बुकिङ भइसकेको उनले बताए।

नेपालमा अहिले लक्जरियस सेग्मेन्टमा विद्युतीय गाडीहरुमा टेस्ला र हुन्डाइको इभी मात्र बिक्री भइरहेका छन्। जसमा टेस्लाको गाडीहरु ३ करोड रुपैयाँसम्मका छन्।

आईएक्स-३ मा ८० किलोवाट आवर(युनिट) क्षमताको ब्याट्री छ। जसले एक पटकको फुल चार्जमा ४६० किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ। बीएमडब्लुको यो गाडी पेट्रोल, डिजल र हाइब्रिडमा यसअघि नै उपलब्ध मोडल हो।

यसमा १७९ एमएमको ग्राउन्ड क्लियरेन्स छ। १२.३ इन्चको डिजिटल क्लष्टर र इन्फोटेन्टमेन्ट सिस्टम छ भने ठूलो पानारोमिक सनरुफ, स्पोर्टी सिट, लेदर र्‍याप गरिएको थ्री स्पोक स्टेरिङ ह्‍वील दिइएको कम्पनीले जनाएको छ।