BIZMANDU
www.bizmandu.com

वालनट बिस्ट्रो रेस्टुरेन्ट, जसले जंगलको भाइब्स दिँदै पस्कन्छ रैथानेदेखि कन्टिनेन्टल परिकार  

२०८० असार २९

वालनट बिस्ट्रो रेस्टुरेन्ट, जसले जंगलको भाइब्स दिँदै पस्कन्छ रैथानेदेखि कन्टिनेन्टल परिकार  
वालनट बिस्ट्रो रेस्टुरेन्ट, जसले जंगलको भाइब्स दिँदै पस्कन्छ रैथानेदेखि कन्टिनेन्टल परिकार  

काठमाडौं। रेष्टुरेन्ट भन्नेवित्तिकै तपाईको दिमागमा कस्तो चित्र आउँछ? मुख्य सडकको आडमै चिटिक्कको भवन, सिसाको झ्याल, सिसैका ढोका, भित्र बत्तीको झिलिमिली, बार, टेबुलहरुमा विभिन्न परिकार खाँदै गरेकाहरुको दृश्य। काठमाडौंमा अधिकांश रेष्टुरेन्ट यस्तै छन्। धेरै छन् बाटै छेउमा, की त केही अलि भित्र। सानो ठाउँलाई अधिकतम उपयोग गर्नेगरी बनाइएका छन्।

Tata
GBIME
Zonsen

सहरी क्षेत्रभित्रका कुनै रेस्टुरेन्ट हाम्रो मानसपटलमा आउने दृश्यभन्दा फरक होलान् ? उत्तर ‘वालनट बिस्ट्रो’ पुग्दा पाइन्छ। लाजिम्पाटबाट पानीपोखरी हुँदै नेपाल प्रहरी अस्पतालबाट २० मिटर पर दाहिनेपट्टि सानो बाटो प्रवेश गरेसँगै ‘वालनट बिस्ट्रो’ लेखेको बोर्ड देखिन्छ।

मुख्य सडकबाट थोरै भित्र रहेको यो रेष्टुरेण्टको पहिचान बेग्लै छ। यहाँ पुग्नेले परिसर प्रवेशद्वारदेखि नै अनुभव गर्छ, हामी जंगलभित्र पस्दैछौं। वनभित्रको आभाष हुने एम्बियन्स दिइएको छ यो रेष्टुरेन्टमा।

तीन वर्षअघि पाँच रोपनी क्षेत्रफलमा साढे तीन करोड रुपैयाँ लागतमा तयार रेष्टुरेन्टको डिजाइन संचालक आकाश पौडेल आफैंले तयार पारेका हुन्। रेष्टुरेन्टभित्र प्रवेश गरेलगत्तै ‘जंगल’ को भाइब्स लिने उद्देश्यले उनले दुई सयभन्दा बढी प्रजातिका वनस्पति स्याहार्दै आएका छन्। रेष्टुरेन्ट सुरुवातमा बोटविरुवाका लागि मात्र १५ लाख रुपैयाँ खर्चिएको उनी बताउँछन्।

‘हाम्रो लोकेसन मेन रोडबाट थोरैभित्र छ, तर यहाँ आइपुग्नेले फरक अनुभव गर्नेछ,’ उनी भन्छन्, ‘केही खास खालको अनुभव दिने बनाउन हामीले धेरै मेहेनत गरेका छौं।’ सुरुवातीदेखि हुर्काउँदै आएको बोटविरुवाले रेष्टुरेन्टलाई उपत्यकामा अन्य रेष्टुरेन्टभन्दा फरक बनाएको उनले बताए। रुखपात त बोटविरुवा स्याहारका लागि मात्र एक जनालाई छुट्टै खटाइएको छ।    

‘काठमाडौंमा सयौं रेष्टुरेन्ट छन्, वालनट बिस्ट्रो कसरी फरक अनुभव दिने बनाउने भन्ने मेरो दिमागमा आइरहन्थ्यो। यो कंक्रिट जंगलभित्र पनि सानो प्राकृतिक जंगल सिर्जना गर्ने अवधारणा प्रयोग गरिएको हो,’ उनले भने,’यहाँ आउनुहुने ग्राहकलाई होहल्ला, प्रदूषणलाई केही क्षण बिर्साइदिने एम्बियन्स दिने प्रयास गरिएको छ।’ त्यसमा रेस्टुरेन्ट सफल रहेको प्रतिक्रियाहरु पाएको पनि उनले बताए।

ऋतु अनुसार रुखविरुवामा आउने परिवर्तनले रेष्टुरेन्टको आवरण स्वचालित रूपमा नौलो हुँदै आएको उनको अनुभव छ।

ओखरको बोटले जुराएको नाम

वालनट अर्थात् ओखर। रेस्टुरेन्टको नाम वालनट बिस्ट्रो त्यसै राखिएको भने होइन। रेस्टुरेन्ट खोल्न लिजमा लिइएको जग्गामा सय वर्षभन्दा पुरानो मानिएको ओखरको रुख छ। त्यसबाटै नाम जुराइएको उनी बताउँछन्। यहाँ पहिलेदेखि नै ओखर, आँप, धुपी लगायत विभिन्न प्रजातिका रुख थिए। अहिले पनि तिनलाई संरक्षण गरेर राखिएको छ। ‘रुख, बोटविरुवा पुराना काटेका छैनौं, बरु नयाँ थपेका छौं,’ उनले भने, ‘प्रकृतिले दिएका वनस्पति हामी मास्न चाहदैनौं। यहाँ जस्तो थियो त्यसमा अझै थप्दै गएका छौं। अझै घना बनाउने योजना छ।’

रेष्टुरेन्टमा प्रयोग हुने रोजमेरी लगायत सानातिना वनस्पति गमलाकै प्रयोग हुँदै आएको उनले जानकारी दिए। वातावरण मन परेका कारण रेस्टुरेन्टका पुराना नियमित ग्राहक उल्लेख्य छन्। ग्राहकमध्ये ३० प्रतिशतभन्दा बढी सुरुवातदेखिकै पुराना रहेको उनले बताए।

एम्बियन्स, हस्पिटालीटी र क्वालिटी कन्सिस्टेन्सीकै कारण ग्राहकको चहलपहल उल्लेख्य रहेको उनी बताउँछन्। रेष्टुरेन्टमा हाल ४० जना जनशक्ति कार्यरत छन्।  

हाल रेष्टुरेन्ट परिसर बाहिर एक सय जना क्षमताको सेमिनार हल पनि छ। रेष्टुरेन्टले ग्राहकको इच्छाअनुसार सुरुवाती हजार रुपैयाँदेखिको कस्टमाइज मेनुसहितको सेवा दिँदै आएको उनले जानकारी दिए।

रेष्टुरेन्ट परिसरसँगै जोडिएको किड जोन छेउमै प्राइभेट पार्टीका लागि छुट्टै सेवा सुरु गर्ने तयारी पनि भइरहेको छ। एक पटकमा दुई सय जनालाई सेवा दिने क्षमताको रेष्टुरेन्टले ग्राहकको माग बमोजिम प्राइभेट पार्टीका लागि ब्लकको प्रयोग गर्दै आएको उनले बताए।      

नेपाली रैथानेदेखि कन्टिनेन्टल परिकार

सहरको घना बस्ती क्षेत्रभित्र पनि वन पुगेको आभाष गराउने रेस्टुरेन्टले पस्किने खानेकुरा थरी थरीका छन्। खसीको पक्कुदेखि कन्टिनेन्टलसम्मका परिकार पस्कँदै आएको रेष्टुरेन्टमा सेफसँगको सहकार्यमा नयाँ स्वादको सिग्नेचर डीस बनाउँदै आएको पौडेलले बताए। नयाँ किसिमका परिकार बनाउन उनी बेला बेला आफैं देशभित्र बाहिरका रेस्टुरेन्ट पस्छन्। नयाँ परिकारमा उत्सुकताले रेस्टुरेन्ट चलाउन सघाएको छ।

‘परिकार पकाउनु आफ्नो रुचिअन्तर्गत पर्‍यो। अनि खानेकुराको नयाँ स्वाद लिन पनि मन लाग्छ। काठमाडौंमा नयाँ रेष्टुरेन्ट खुलेसँगै त्यसले सर्भ गर्ने परिकारको स्वाद लिन पुगिहाल्छु। यसबाट पनि मैले केही नयाँ सिक्न पाइरहेको छु,’ उनले भने।

रैथानेसँगको फ्युजनमा सिग्नेचर डीस

रेष्टुरेन्टमा पोलपाल चिकेन, ढुंगे युगको चिकेन, यमलोकको अकबरे चिकेन, कर्न अन द कप, खप्तड आलु, त्रिकोण फापरस लगायत सिग्नेचर डिस राखिएको छ। रैथाने परिकारलाई फ्युजन गरेर नाम दिइएका यी परिकारमा ग्राहकको माग उल्लेख्य रहेको संचालक आकाश पौडेलले जानकारी दिए।      

आगोमा पोलेको कुखुराको परिकारलाई उनले ‘पोलपाल चिकेन’ नाम दिएका छन्। जुसी चिकेनसँग यहाँ ग्राहकले फापरको रोटी र तरकारी लिन सक्छन्।

सिन्धुपाल्चोकको पाँचपोखरी जाने क्रममा खाएको दुधालु मकैको परिकारलाई उनले  ‘कर्न अन द कप’को नाम दिएका छन्। दुधालु मकैलाई दूधमा पकाएर पस्किएको परिकार उनले रेस्टुरेन्टका ग्राहकलाई खुवाउँछन्।

खप्तडमा घुम्न जाँदा उनले एउटा घरमा खाएको आलुको परिकार नौलो लागेको थियो। उही ढंगले पकाएर उनले रेस्टुरेन्टमा ‘खप्तड आलु’ नामले पस्किने गरेका छन्। ‘आलु खप्तडको प्रयोग गरिएको छैन। तर खप्तड घुम्न जाँदा एकजना आमाले प्रयोग गर्नु भएको रेसिपी अनुसार तयार गरिएको छ। यसलाई ओभनमा बेक गरेर जिम्बु र टिमुरमा झानेर दिएका छौं,’ उनले सुनाए।

यसैगरी ‘यमलोकको अकबरे चिकेन’ लाई स्पाइसी परिकारअन्तर्गत राखिएको छ। यसमा अकबरे खुर्सानीको पेस्ट बनाएर भिन्न खालको स्वाद दिइएको छ।

‘त्रिकोण फापरस’ नाम दिइएको परिकार अन्तर्गत फापरको पिठोको त्रिकोण आकारको चिप्स बनाइएको छ। यसमाथि प्‍याज, गाजरको भुजुरीको प्रयोग गरिएको छ। यसमाथि शाकाहारीका लागि पनिर र मांशाहारीका लागि चिकेन टपिङ गरेर आफैंले बनाएको सससँग सर्भ गरिने उनले बताए।

दाल, भात, तरकारीको मागबाट गति दिन सुरु भएको रेष्टुरेन्टले अहिले पनि विहान १० देखि ५ बजेसम्म ह्याप्पी आवर लागू गर्दै आएको छ। यसअन्तर्गत हरेक दिन खानाको थाली सेटमा २५ प्रतिशत छुट छ। खानाकै कारण रेष्टुरेन्टको अरु परिकारको मागले गति लिँदै आएको उनले बताए।

खानामा ग्राहकले यहाँ शाकाहारी र मांसाहारी १० किसिमका परिकार लिन सक्छन्। यसमा डेजर्ट अन्तर्गत ‘वालनट अमृत’को माग उल्लेख्य रहेको उनले बताए। दहीको पानी निकालेर विभिन्न मसलाको प्रयोग गरेर ओभनमा बेक गरिँदै आएको उनले जानकारी दिए।

ह्याप्पी आवरमा भेज, चिकेन र मटन थालीको मूल्य क्रमशः ३७५, ४६५, ५५५ रुपैयाँ छ। शनिबारमात्र २०० भन्दा बढी थालीको माग हुने गरेको उनले बताए। रेष्टुरेण्ट परिसर फराकिलो छ। ४० वटा चारपाङ्ग्रे र ६० वटा दुईपाङ्ग्रे सवारीसाधन पार्किङ क्षमता छ।

फ्री लाइब्रेरीः एउटा किताब लिनुस् अर्को राख्नुस्

रेष्टुरेन्ट परिसर प्रवेश गरे लगत्तै देब्रे पट्टि मिनी लाइब्रेरी पनि छ। जहाँको र्‍याकमा रेस्टुरेन्टका ग्राहकले एउटा किताब राखेर त्यहाँ भएको अर्को निःशुल्क लिन सक्छन्। ज्ञान आदानप्रदान लक्षित सुरु गरिएको अभियानमार्फत ग्राहकले शान्त ठाउँमा आएर अध्ययन गर्न सक्ने व्यवस्था यहाँ छ।

रिलले डोर्‍याएको रेष्टुरेन्ट

स्कुले बेलादेखि नै आकाशलाई सिनेमा खुबै मन पर्थ्यो। यही क्षेत्रमा केही गर्ने रहर जब जाग्यो, उनले फिल्म क्षेत्रलाई आफ्नो अध्ययनको विषय बनाए। काठमाडौंमा पढे, अनि डेढ दशकअघि युके हान्निए।

फिल्म स्टडीका लागि गएका उनलाई त्यहाँको दुई क्षेत्र अनौठो महसुस भयो। मानिसका जीवन शैली ‘रोबोटिक्स’ महसुस भयो, रेस्टुरेन्ट संस्कृति भने प्रभावकारी लाग्यो।

उनी जब नेपाल फर्किए, साथमा थियो त्यहाँको रेष्टुरेन्ट कल्चर र भाइब्सको प्रभाव। ‘युकेको जीवन शैली रोबोटिक्स पाराको भए पनि रेष्टुरेन्ट कल्चर र भाइब्स गज्जबको थियो। रेष्टुरेन्टलाई सुख, दुःख साँट्ने, मित्रता गाँस्ने, जीवनलक्षित भलाकुसारी गर्ने माहोल बनाएको एकदम मन परेको थियो। त्यहीँबाट यो व्यवसाय थाल्ने हुटहुटी चल्यो,’ ३४ वर्षीय आकाश पौडेलले भने।

ओस्कार इन्टरनेशनल कलेजबाट फिल्म स्टडीमा स्नातक उनी आफूले स्थापना गरेको लोक सिनेमा प्रालि र वालनट बिस्ट्रो दुवैलाई बराबर प्राथमिकतासाथ अगाडि बढाइरहेका छन्। कथा ७२, ऐना झ्यालको पुतली लगायत दुईवटा फिचर फिल्म प्रोडक्सन गरिसकेपछि उनले रेष्टुरेन्ट व्यवसाय सुरु गरेका हुन्।

फिल्मले मात्र आम्दानी गरेर टिक्न गाह्रो हुने देखेपछि रेष्टुरेन्ट पनि चलाएको उनी बताउँछन्। ‘कलिनरी (पाककला) पनि आफैंमा विशेष क्षेत्र हो। रेष्टुरेन्ट एउटा यस्तो ठाउँ हो जहाँ जिन्दगी र कला सँगै जोडिएको हुन्छ,’ उनी भन्छन्, ‘विभिन्न क्षेत्र, उमेरका व्यक्तिका जमघट हुन्छ। सञ्जाल विस्तारका लागि यो विशेष ठाउँ हो।  ‘