काठमाडौं। साउन १ गतेबाट लागू हुने निक्षेपको ब्याज दर बैंकपिच्छे फरक हुने भएको छ। अधिकांस बैंकले ब्याज घटाउने छन् भने केहीले स्थिर राख्ने देखिएको छ। तर, कसैले पनि ब्याज दर भने बढाउने छैनन्।
नेपाल बैंकर्स संघले सम्बन्धित बैंकलाई ब्याज दर तोक्ने जिम्मा छाडेको छ। लामो सययदेखिको कार्टेलिङ तोड्दै बैंकरहरुले बिहीबार ‘ब्याज दर छाडिदिने उपयुक्त समय’ रहेको निष्कर्ष निकाल्दै सम्बन्धित बैंकलाई तोक्ने दिने निर्णय गरेका हुन्।
पुँजी कोष कम भएर लगानी गर्न नसक्ने अवस्थामा पुगेका बैंकहरुले निक्षेपको ब्याज दर थप घटाउने पक्षमा छन्। उनीहरुका लागि तरलता बढ्नुको अर्थ हो खर्च बढ्नु। लगानी गर्ने क्षमता भएकाहरुमध्ये केहीले स्थिर राख्ने र बाँकीले घटाउने देखिएको छ।
पुँजी कोष कम भएर लगानी गर्न नसक्ने अवस्थामा पुगेका बैंकहरुले निक्षेपको ब्याज दर थप घटाउने पक्षमा छन्। लगानी गर्ने क्षमता भएकाहरुले मिसृत नीति लिने भएका छन्।
अहिले साधारण मुद्दति निक्षेपको ब्याज दर ९.९९ प्रतिशत छ। बैंकहरुले ९.९९ को ब्याजमा अधिकतम १० प्रतिशत मात्र घटाउन सक्छन्। यसो हुँदा निक्षेपको अधिकतम ब्याज ०.९९ प्रतिशतले घटेर ९ प्रतिशतमा आउने छ। तर सबै बैंकले नियामकले गरेको व्यवस्था अनुसार १० प्रतिशतले नै घटाउने छैनन्।
त्यसैले अब ब्याज दर अवधिपिच्छे पनि फरक हुने छ। नियामकले ३ महिनाभन्दा कमको मुद्दति निक्षेप स्वीकार गर्ने सुविधा दिएको छैन। त्यसैले बैंकहरुले ३ महिनादेखि ६ महिनाको एउटा दर, एक बर्षभन्दा कम अवधिको अर्को दर र एक बर्षदेखि माथिको फरक दर गर्ने छन्।
‘ब्याज दर पक्कै घट्छ। मैले चै घटाउने छु’ एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले भने, ‘ब्याजदर पनि समय अवधि अनुसार फरक-फरक हुने छ। हुन त यो बैंकहरुको आ-आफ्नो रणनीति होला, तर फरक-फरक नगरी हुँदैन।’
ब्याद दर घट्नेमा बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइराला पनि ढुक्क छन्। तर, कसले कुन अनुपातमा घटाउँछ भन्न नसकिने उनी बताउँछन्।
निक्षेपको लागत सस्तिए लगत्तै बैंकहरुले कर्जामा उक्त ब्याजदर समायोजन गर्न पाउँछन्। भदौदेखि कर्जाको ब्याजदर थप घट्दै जानेछ। साउनमै पनि ४.२ प्रतिशतको स्प्रेड दर ४ प्रतिशतमा आइसक्ने भएकाले ब्याज घट्ने छ।
बैंकहरुले आफ्नो लागत महिनैपिच्छे कर्जामा समायोजन गर्न मिल्छ। निक्षेप महिनैपिच्छे १० प्रतिशत तल माथि गर्न मिल्छ। भने पछिल्लो तीन महिनाको औषत बेस रेटका आधारमा कर्जाको ब्याजदर निर्धारण हुन्छ।
राष्ट्र बैंकका अनुसार जेठमा कर्जाको औषत ब्याजदर ११.५४ प्रतिशत छ। अब भदौदेखि एकल अंकमा झर्नेछ। यस अघि बढेर माघमा १३ प्रतिशत पुगेको थियो।
यसबिच बैंकहरुको लागत पनि सस्तिएका कारण आधार दर जेठमा ९.३९ प्रतिशतमा ओर्लिसकेको छ। नभए गत पुसमा १०.९१ प्रतिशत पुगिसकेको थियो।
अर्कोपट्टी राष्ट्र बैंकले कर्जा बिस्तारलाई आगामी मौद्रिक नीतिमा प्राथमिकता नदिने स्पष्ट पारेको छ। चालु वर्ष १२.६ प्रतिशत राख्दा समेत एक तीहाइ मात्रै ऋण लगानी भएको छ।
एकातिर निक्षेप बढ्ने तर अर्कोतिर लगानी नहुने हुँदा बैंकहरुलाई तरलता बढ्दा सँगसँगै लागत पनि थपिरहेको थियो। लागत घटाउन पनि उनीहरु निक्षेपको ब्याज घटाउने पक्षमा छन्।
समष्टीगत माग घटेको र खर्ब हाराहारी भित्रिने रेमिट्यान्सले शोधनान्तरमा पनि सुधार छ। बाह्य क्षेत्र मजबुत देखिएको छ। लक्षितभन्दा धेरै विदेशी विनिमयको सञ्चितिमा बल पुगेको छ। यसले आन्तरिक बजारमा तरलता थपिदिइरहेको छ।
बढ्दो रेमिटेन्सका साथै सरकारी खर्च बढेका कारण निक्षेपमा अत्यधिक सुधार भएको हो। निक्षेप बढेपछि अन्तर-बैंक सापटी एक प्रतिशतभन्दा तल आइसकेको छ। सीडी रेसियो पनि ८२ प्रतिशतभन्दा तल ओर्लिसकेको छ।